काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टीभित्र पछिल्लो समय देखिएका गतिविधिहरूलाई विधानसम्मत र लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।
महरले जारी गरेको वक्तव्यमा पार्टी एकता, विचारको स्पष्टता र आन्तरिक अनुशासन कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले पद, हैसियत वा क्षणिक राजनीतिक लाभका लागि सिद्धान्त र विधानबाट विचलित हुन नहुने स्पष्ट पारेका छन् ।
पार्टीको इतिहास, योगदान र वर्तमान चुनौतीलाई स्मरण गराउँदै महरले सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले असहमति भए पनि त्यसलाई विधानभित्र रहेर, संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टीलाई बलियो, विश्वसनीय र जनउत्तरदायी बनाउने दायित्व सबैको साझा भएको उल्लेख गर्दै महरले लोकतान्त्रिक मूल्य र विधिको रक्षा नै नेपाली कांग्रेसको पहिचान भएको बताएका छन् ।














प्रतिक्रिया