कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा « Khabarhub

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

राजनीतिक सहमतिका लागि सबैसँग संवाद गर्ने रणनीति



काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको छ । सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ भने प्रधानमन्त्री उक्त पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बन्नेछन् ।

रास्वपाको विधानमा पार्टी संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने भन्ने व्यवस्था छ । बालेन चुनावअघि गत पुस १३ गतेमात्रै रास्वपा प्रवेश गरेका हुन् । तर रास्वपाले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा देशभर कार्यक्रममा सहभागी गरायो । रास्वपाले छिट्टै विधान संशोधन गरी बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउँदैछ ।

प्रत्यक्ष र समानुपातिक जोड्दा अहिले पार्टीसँग दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात् कुल सिटको संख्या १८२ छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुईतिहाइका लागि १८४ सिट चाहिन्छ।

स्पष्ट बहुमत हुँदाहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने अवस्था रहन्छ तर पार्टीले अन्य दलहरूसँग पनि सहकार्यको ढोका बन्द नगर्ने रणनीति लिएको छ । केही महत्वपूर्ण विषयहरूमा समयानुकूल परिवर्तन गर्नुपर्ने कारण राजनीति सहमति आवश्यक रहेकाले पार्टीले कुनै दललाई नचिढ्याउने नीति लिएको हो ।

बालेन र रवि दुवैको सचिवालयले कुनै हिसाबले दललाई चिढ्याउने पक्षमा आफ्नो पार्टी नभएको बताउँछन्।

‘संविधानसहित केही कानुन परिमार्जनमा राष्ट्रिय सहमति आवश्यक पर्ने हुँदा कुनै दललाई नचिढ्याउने नीति लिएका छौँ । हामीले प्रतिशोधको राजनीति गरेको होइन। परिवर्तनका लागि हो, ’रास्वपाका एक शीर्ष नेता भन्छन्, ‘संविधान र कानुनको अधीनमा विभिन्न मुद्दाको छानबिन हुन्छ। दोषीमाथि कडा कारबाही हुन्छ, तर जनताको आवश्यकता पूरा गर्न सबै दलबीच समझदारी गर्ने तयारी गरेका छौँ ।’

एमाले, कांग्रेसभन्दा, हर्क, प्रचण्ड र लिङ्गदेनसँग नजिक

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह एमाले र कांग्रेसभन्दा अन्य शक्तिसँग नजिक छन् । सभापति लामिछाने पनि एमाले, कांग्रेसभन्दा श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपाप्रति नरम देखिन्छन् ।

निर्वाचनअगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र लामिछानेबीचको भेटवार्तामा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्ने छलफल भएको थियो ।

त्यसपछाडि झापा ५ लगायत अन्य क्षेत्रमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो उम्मेदवार आफैँ उठायो। निर्वाचनमा प्रतिस्पर्धा गर्ने र आवश्यक परेमा राष्ट्रिय मुद्दामा सहकार्य गर्नेबारे दुई नेताहरूबीच कुनै विवाद नभएको प्रष्टोक्ति लिङ्देनले दिएका थिए।

निर्वाचन परिणामलगत्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र रविबीच फोनमा संवाद भएको विषय प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले खबरहबलाई बताइसकेका छन्।

दुवै नेताबीच निर्वाचन सम्पन्न भएलगत्तै फोनमा कुराकानी भएर एकअर्कालाई बधाई दिएका थिए। ‘निर्वाचन परिणाम आएलगत्तै दुई नेताहरूबीच फोन सम्पर्क भएको थियो। उहाँहरू दुवैले एकअर्कालाई बधाई दिनुभयो,’ आचार्यले भने, ‘राजनीतिमा प्रतिशोध साँध्ने र होच्याउने कुरा रास्वपा र नेकपाबीच भएको छैन। दुवै जनाले एकअर्कालाई बधाई दिनुभएको छ ।’

स्रोतका अनुसार प्रचण्डले नै निर्वाचन परिणाम आइसकेपछि रविसँग फोन संवाद गरेको बुझिन्छ। लामिछानेले पनि फोन संवादमा राम्रो कुरा गरेको जानकारी स्रोतले दिएको छ।

रविका स्वकीय सचिव अविनाश आचार्यले निर्वाचनलगत्तै दुई नेताहरूबीच फोन संवाद भएर एक अर्कालाई बधाई दिएको कुरा पुष्टि गरेका छन्।

यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष रहेका हर्क साम्पाङ सुनसरी १ बाट निर्वाचन लडेका थिए। त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले गोमा तामाङलाई उम्मेदवार बनाएको थियो।

साम्पाङले निर्वाचनको परिणाम घोषणासँगै अब जितेँ भनेर राखेको फेसबुक स्टाटसमा बालेन्द्रले ‘तपाईँलाई मेरो माया सधैं थियोे र छ’ भनेका छन्

बालेन्द्रको सचिवालय पनि हर्क लगायतको टिमसँग तालमेल नभए पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्य गरेर अगाडि जाने बाटो रहेको बताउँछ । हर्कले निर्वाचन परिणाम घोषणा भएपछि प्रधानमन्त्री रवि लामिछाने हुनुपर्छ भन्दै हिँडेका छन् । बालेन नबोल्ने स्वभावका व्यक्ति भएकाले प्रधानमन्त्री बोल्ने चाहिने उनको टिप्पणी थियो ।

सबै पृष्ठभूमि केलाउँदा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेप्रति नरम छैन । भदौ २३ र २४ गते अगाडि काङ्ग्रेस र एमालेको सरकारले लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेको भन्दै दुई पार्टीहरूसँग लामिछानेको केमेस्ट्री मिल्दैन ।

यता प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि काठमाडौँ महानगरको मेयर हुँदादेखि नै सम्बन्ध बिग्रिएको छ।

सम्बन्ध बिग्रेकै कारण बालेन्द्रले झापा ५ बाट उम्मेदवारी दिएर ओलीलाई हराइदिएका छन्। त्यसैले एमाले बालेन्द्रको सरकारलाई जतिसक्दो बिथोल्ने प्रक्रियामा देखिन्छ।

कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति केही नरम देखिए पनि रवि लामिछाने र उनको पनि केमेस्ट्री मिल्दैन । तर, बालेन्द्रको समूह गगनले राष्ट्रिय मुद्दाहरूमा सहयोग गर्नेमा ढुक्क छ ।

‘कुनै दललाई नबिजाइ विभिन्न मुद्दाहरूमा सहमति गरेर संविधान संशोधन र केही कानुन परिवर्तन गर्नुपर्नेछ । जनताले सु-संस्कृत राजनीति अभ्यास गर भनेर म्यान्डेट दिएकाले एकअर्कालाई आरोप र प्रत्यारोप लाउने काम हुँदैन। कानुनविपरीत गतिविधि गर्ने जुनसुकै पार्टीको नेता भए पनि कानुनको दायरामा आउनुपर्छ भन्ने मान्यता छ,’ बालेनको सचिवालय भन्छ, ‘राजनीति सहमतिमा एमाले र कांग्रेसलाई पनि जोड्ने हो। सांसदहरूको काम कानुन बनाउने हो भनेर बुझाउन हामीलाई समय लागेको छ। हामी कसैलाई केही भन्ने पक्षमा छैनौँ।’

रवि र बालेनको अभिव्यक्ति हेर्दा तत्कालै कांग्रेस र एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने बाटो देखिएको छैन। राष्ट्रिय सभामा पनि कम्फर्टेबल होस् भन्ने चाहन्छन् रवि–बालेन ।

प्रतिनिधि सभाबाट पठाइएको विधेयक राष्ट्रियसभामा पनि सहज रुपमा पारित होस् भन्ने चाहना रवि-बालेनको देखिन्छ ।

एमालेसँग सहकार्य नहुँदा पनि नेपाली कांग्रेस, नेकपा र साना दलसँग मिल्दा राष्ट्रियसभामा बहुमत पुर्‍याउन कठिन छैन ।

५८ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि २९ सिट आवश्यक पर्छ। कांग्रेस २४ सिटसहित पहिलो दल हुँदा अहिले नेकपा १७ सांसदसहित दोस्रो दल बनेको छ । यता नेकपा एमाले १० सांसद सहित तेस्रो दलबन्दा साना दल जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चा १ र मनोनीत (राष्ट्रियसभा अध्यक्षसहित) २ जना देखिन्छ्न् ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने एकजना अझै पनि मनोनीत हुन बाँकी रहेकाले रास्वाको तर्फबाट मनोनित गर्नुपर्ने आवाज पनि उठिरहेको छ।

बालेन्द्र र रविको भेट
रास्वपाले समानुपातिकमा ५७ सिट पाएको छ । पार्टी सभापति रवि लामिछाने निर्वाचन लगत्तै सिजनल ज्वरो र रुघाखोकीका कारण घरमै आराम गरिरहेका छन्। पार्टीका शीर्ष नेतादेखि वरिष्ठ नेताले पनि रविलाई घरमै गएर भेटेका छन्। निरन्तर टेलिफोन संवाद भए पनि बालेन्द्र र रविबीच रवि निवासमा भेटवार्ता भएको थियो।

भेटवार्तामा समानुपातिकको सूची आइतबारसम्ममा बुझाइसक्ने र त्यसअगाडि पार्टीको केन्द्रीय कमिटी अथवा सचिवालय बैठक राख्ने कुराकानी भएको बुझिएको छ।

अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको नेताका रूपमा बालेन्द्रलाई अनुमोदन गर्नेछ। विधान संशोधन गरेर बालेन्द्रलाई संसदीय दलको नेता बनाएर आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी छ।

स्रोतले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् र समानुपातिकमा कस्ता व्यक्तिहरूलाई प्राथमिकता दिने भन्नेमा कुराकानी भयो। यस्तै विज्ञ टिमसहितको गैरसांसद बनाउने या निर्वाचित सांसदहरूलाई नै मन्त्रिपरिषदमा समावेश गर्नेबारे पनि सामान्य छलफल भएको बुझिन्छ। बालेन्द्रले आगामी मन्त्रिपरिषद् कस्तो बनाउने भन्ने विषयमा निरन्तर विज्ञदेखि नेताहरूसँग छलफल गरिरहेका छन्।

रविले पनि यसबारे पार्टीको तर्फबाट आवश्यक गृहकार्य गरिरहेको उनको सचिवालय बताउँछ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ८ : ०६ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको