आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत ! « Khabarhub

आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत !


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा होमिने तयारीमा थिए । जसमा समावेश गर्न दुई गीत ‘झझल्को लिएर आएछ श्रावण’ र ‘मिरमिरे साँझ’का लागि गायिकाको खोजीमा थिए । 

तुलसीलाई भारतीय गायिका आशा भोसलेको स्वरमा गीत रेकर्ड गराउने चाहना जाग्यो । 

नेपालमा प्रविधिको अभावले त्यस समय गीत रेकर्ड गर्न मुम्बई जानै पर्ने बाध्यता पनि त थियो ।

आशासँग तुलसीको चिनजान थिएन । त्यहाँ पुग्ने सूत्रका रुपमा उनले सङ्गीतकार रञ्जित गजमेरलाई समाते । जो आशाका नजिकका व्यक्ति थिए । 

गीतबारे इच्छा सुनाएपछि तुलसीलाई रञ्जितले भने, ‘ठीकै छ । आशा दिदी सम्म कुरा पुर्‍याउँछु । मैले नै सबै भन्न मिल्दैन ।  तिमीहरूले पनि विनम्रतापूर्वक प्रस्ताव गरेको अवस्थामा सकारात्मक भइहाल्नुहुन्छ कि !’

उनैले आशा र तुलसीको भेट गराए । 

प्राइममा रहेकी आशालाई दिने पारिश्रमिक बराबरको रकम तुलसीसँग थिएन । कन्भिन्स गराउनुको अर्को विकल्प थिएन । 

तुलसी आशालाई विनम्रतापूर्वक गीत गाउन प्रस्ताव गर्दै भने, ‘दिदी फिल्म बनाउन लागेको ।’

तुलसीले कुरा सक्न नपाउँदै आशाले छोटो जवाफ दिइन्– ‘बनाऊ ।’

छोटो र छिटो तुलसी थप दबाबमा परे । भने, ‘गीतमा हजुरको स्वर चाहियो ।’

आशाले प्रतिप्रश्न गरिन्– ‘नेपाली गीत ?’

यस्तै सवाल जवाफमा रञ्जितको सङ्गीतमा गीत रहने भएपछि आशाले आफ्नो असिस्टेन्टलाई भनिन्, ‘उनीहरूको गीतका लागि समय व्यवस्थापन गरिदेऊ ।’

चार दिनपछिको समय निक्लियो र आशाले गीत रेकर्ड गराइन् । तयार भयो– मिरमिरे साँझमा सिमसिमे पानी ।

तर, तुलसीलाई अर्को गीत ‘झझल्को लिएर आए छ साउन’ पनि आशाकै स्वरमा रेकर्ड गराउन मन लाग्यो । एकै फिल्मका लागि । जबकि पारिश्रमिक दिन बजेट छैन । 

आशालाई नै दोस्रो पनि गीत गाउन लगाउन मन लाग्नुको कारणबारे उनी भन्छन्, ‘गाउन कठिन र साहित्यिक चेत भएको गीत भएकाले मलाई उहाँकै स्वर राख्न मन लाग्यो ।’

तर, पारिश्रमिककै बाधाले आशालाई प्रस्ताव गर्न तुलसी नैतिक दबाबमा परे । 

तथापि दोस्रो गीतको प्रस्ताव लिएर तुलसीले आशालाई भेट्न पुगे । आशाले रञ्जितलाई घरमा बोलाएर गीत सुनाउन लगाइन् । मन परेपछि दोस्रो पनि स्वर दिने वचन दिइन् । 

गीत गाउन लगाएपछि गच्छअनुसारको पारिश्रमिक दिनुपर्छ भन्ने तुलसीालाई लाग्यो ।

तर, दिने कति ? आशाको पारिश्रमिक एक गीतको एक लाख थियो । दिनका लागि तुलसीसँग ११ हजार थियो । 

तुलसीलाई संकट पर्‍यो- यति थोरै पैसा पारिश्रमिक भनेर कसरी दिने ?

फूलको बुके बोकेर उनी खाममा  ११ हजार १११ रुपैयाँ बोकेर आशालाई भेट्न पुगे ।

तुलसीले आशालाई भने, ‘दिदी खाममा पैसा एकदमै थोरै छ । पारिश्रमिक दिन आएको ।’

आशाले भनिन्, ‘कति छ ?’

तुलसीले आशालाई खाममा भएको रकम भन्न सकेनन् । उनले बारम्बार भने, ‘दिदी एकदमै थोरै छ ।’

त्यसपछि आशाले भनिन्, ‘गीत राम्रो बनेको छ । म पैसा लिन्न । मलाई दिन ल्याएको पैसा भिडियोमा खर्च गर्नू ।’

तुलसी खुसी भए । बिदा मागेर हिँड्न उठे । 

आशाले भनिन्, ‘एक छिन् रोक । त्यो खाम देऊ ।’

तुलसीले खाम दिए । आशाले खोलर एक रुपैयाँ झिकिन् र खाम फिर्ता दिइन् । तुलसी फुरुङ्ग भएर फर्किए ।

यो ४६ वर्षअघिको हो । तुलसीका लागि पहिलो फिल्मको गीत रेकर्डिङका क्रममा भएको प्रिय र सम्झनलायक किस्सा हो । 

आइतबार तुलसी लामो विश्रामपछि निर्देशनमा फर्किएर बनाएको फिल्म ‘पहाड’को प्रिमियर थियो । त्यही दिन आशाको मृत्युको खबर आयो । 

तुलसी प्रिमियरमा मलिन देखिन्थे । छोरीको डेब्यू फिल्म भएकाले पनि उनी खुसी हुनुपर्ने थियो तर, अनुहार अँध्यारो थियो । 

उनले पीडा पोखे- ‘फिल्मको प्रिमियरमा व्यस्त हुनुपर्ने मेरो पेसागत बाध्यता भयो । मेरो संघर्षकालमा गुन लगाउने आदरणीय दिदीको शोकसमेत मैले मनाउन पाइनँ । कार्यक्रम तय भइसकेको थियो । अन्तिम घडीमा भएकाले रोक्न पनि सकिनँ ।’

तुलसी भावुक थिए तर, बोल्न गाह्रो हुँदाहुँदै पनि उनले ती दिनबारे केही कुरा खबरहबलाई सेयर गरे । 

आशा र नारायण गोपालको भेट

फिल्म ‘लाहुरे’को गीत रेकर्डिङ गर्दा नेपाली स्वर सम्राट नारायण गोपाल र आशा भोसलेको भेट भएको हो । 

स्टुडियोमा नारायण गोपालले गाउँदै गर्दा आशा आइपुगिन् । बाहिरैबाट उनले गाएको सुनिन् । 

आशाले तुलसीलाई भनिन्, ‘यो गाउने को हो ?’

तुलसीले भने, ‘नारायण गोपाल ।’

आशाले ठट्टा गर्दै भनिन्, ‘नेपालमा सबै नारायण हुन्छन् कि के हो ? उदित नारायण, नारायण गोपाल, अब तिमी पनि तुलसी नारायण नाम राख ।’

ठट्टा सकेर आशाले तुलसीसँग नारायण गोपालको तारिफ गरिन् । 

तुलसी भन्छन्, ‘राम्रो, वजनदार स्वर र खारिएको गायक भन्नुभएको थियो । उहाँको स्वरबाट निकै प्रभावित हुनुभएको थियो ।’

त्यही दिन फिल्म ‘लाहुरे’को ‘पहाडको माथि माथि’ शीर्षकको गीत रेकर्डिङ भयो । पुरुषको स्वर नारायण गोपाल र महिलाको स्वर आशा भोसलेको दिने तय भएको थियो ।

आशा र नारायण गोपाल रेकर्डमा बसे । केही साताको रिहर्सल भए पनि नारायण गोपालले तीन–चार पटक बिगारे ।

त्यसपछि आशाले भनिन्, ‘मेरो अंश गाएर जान्छु । उसको पछि गर्नू ।’

नारायण गोपालले आफ्नो अंश रेकर्ड गराएपछि रञ्जितसँग प्रश्न गरे, ‘कति गीत अभ्यास गरेर आशालाई रेकर्डमा ल्याएको ?’

रञ्जितले भने, ‘१ दिन ।’

त्यसपछि नारायण गोपाल छक्क पर्दै भने, ‘गाउन त राक्षस (ठूलो खुबी) रहेछ ।’

अझ आशा नेपाली भाषा बुझ्दैन थिइन् । नेपाली गीतको अर्थ हिन्दीमा अनुवाद गरेर बुझाउनुपर्थ्यो । उच्चारण सिकाउनुपर्थ्यो ।

तर, उनको गायन क्षमता नारायण गोपालका लागि पनि अस्वाभाविक नै थियो । 

आशालाई नारायण गोपाल पनि निकै मन परेका गायक हुन् । आशाले तुलसीहरूसँग भनेकी पनि थिइन्, ‘नारायणलाई मुम्बईमै गाउनका लागि लिएर आऊ ।’

आशाको योगदान र खुसीको क्षण 

आशाले दुई दर्जन नेपाली फिल्मका गीत गाएकी छन् । सोभन्दा बढी गीतहरूमा उनले स्वर दिएकी छन् । 

उनका प्रायः गीत कालजयी छन् । यहीकारण तुलसी भन्छन्, ‘नेपाली संगीत क्षेत्रको विकास र पाश्र्व गायन आजको स्थानमा आइपुग्न उहाँको ठूलो योगदान छ ।’

तुलसीका लागि नेपाली संगीत विकासका लागि आशा ठूलो खम्बा हुन् । 

अझ पारिश्रमिकको वास्ता नगरी नेपाली संगीतप्रतिको प्रेमले नै उनले तीन दर्जन गीतमा स्वर दिएकी हुन् । 

०७६ सालमा रञ्जितले आशालाई काठमाडौंमा सांगीतिक प्रस्तुतिका लागि बोलाएका थिए । विमानस्थलमा स्वागत गर्न तुलसी पनि पुगेका थिए । 

विभिन्न समुदायका पहिरनका व्यक्तिको उपस्थिति र बाजागाजासहित उनको स्वागत भएको थियो । 

तुलसी भन्छन्, ‘यो फरक खालको स्वागतले उहाँ निकै खुसी हुनुभयो । यो सामान्य स्वागत पनि उहाँलाई निकै ठूलो लागेछ । हाम्रो लागि सामान्य भए पनि उहाँका लागि नौलो भए छ ।’

भारत फर्किएपछि पनि भेटमा उक्त स्वागतबारे आशा खुसी हुँदै कुरा गरेको तुलसी बताउँछन् । 

भन्छन्, ‘उहाँले कति राम्रो स्वागत । कति राम्रो देश भनेर खुसी हुँदै कुरा गर्नुहुन्थ्यो । नेपाल भ्रमणबारे उहाँ निकै सन्तुष्ट भएको पाएँ ।’

नेपाली संगीतप्रतिको योगदानको बदलामा आशाले जीवनको उतारार्धमा एक खुसी हुने बाहना मात्रै पाएको तुलसीको बुझाइ छ । 

उनी भन्छन्, ‘हामीले अरु केही गर्न सकेनौं । तर, स्मरण हुने गरी भ्रमण भयो । एकपटक भने पनि खुसी पार्न सकियो ।’ 

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ८ : ५५ बजे

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको