इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा « Khabarhub

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको असहजताका कारण सुदूरपश्चिमका गौरवका र ठूला विकास आयोजना प्रभावित भएका छन् । निर्माण व्यवसायीले मौज्दात रहेको इन्धन सकिएको र नयाँ खरिद गर्दा लागत धान्न नसक्ने बताएपछि आयोजनाको काम सुस्त भएको हो ।

सेती राजमार्गको दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना) को काम अहिले बन्द हुने अवस्थामा पुगेको छ । आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण व्यवसायीसँग भएको इन्धन सकिएपछि ट्रयाक खोल्न प्रयोग गरिएका भारी उपकरणहरू थन्किएका छन् ।

“निर्माण व्यवसायीसँग भएको मौज्दात सकियो, अब काम रोकिने अवस्था छ,” उनले भने, “महँगो मूल्य तिर्दा पनि इन्धन र बिटुमिन पाउन गाह्रो छ ।” २०७४ बाट सुरु भएको २०४ किलोमिटर लामो यस आयोजनामा ३५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा विनियोजित २५ करोड बजेटबाट सात किलोमिटर कालोपत्रे भए पनि बिटुमिन अभावले थप काम अघि बढ्न सकेको छैन ।

महाकाली सिँचाइमा पनि असर
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण पनि मूल्यवृद्धिको चपेटामा परेको छ । मूल नहर निर्माणका लागि ७ वटा प्याकेजमा ठेक्का भएर काम भइरहे पनि निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिएका छन् ।

आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार इन्धनसँगै तारजालीको मूल्य बढेपछि नदी नियन्त्रणको काम समेत रोकिएको छ । “नदी नियन्त्रणको काम नहुँदा बर्सातमा जोखिम बढ्ने डर छ,” उनले भने ।

महाकाली करिडोरको काम प्रभावित
कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने ४२५ किलोमिटर लामो महाकाली करिडोरको काम पनि प्रभावित भएको छ । १३ वटा प्याकेजमा काम भइरहेको यस करिडोरमा इन्धन र बिटुमिनको मूल्य बढेपछि व्यवसायीहरूले काम अघि बढाउन रुचि देखाएका छैनन् ।

योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला खण्डमा निर्माणको काम सुस्त भएको छ । दार्चुलाको ७९ किलोमिटर खण्डमा भने नेपाली सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ ।

निर्माण ‘होलिडे’को तयारी
निर्माण व्यवसायीहरूले सरकारसँग मूल्य समायोजनको माग गरेका छन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण उद्योगमा ‘आपत्काल’ घोषणा गर्नुपर्ने अवस्था आएको बताए ।

“व्यवसायीले घरखेत बेचेर काम गर्नुपर्ने स्थिति छ,” उनले भने, “बजारमा देखिएको मूल्यवृद्धि र सामग्री अभावका कारण कञ्चनपुरका ६०० बढी व्यवसायीहरू ‘निर्माण होलिडे’ (काम ठप्प पार्ने) को तयारीमा छन् ।” मूल्य समायोजन नभएसम्म काम अघि बढाउन प्राविधिक र आर्थिक रूपमा असम्भव रहेको व्यवसायीहरूको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : १८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि