सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने  « Khabarhub

सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने 


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित रहेर ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको यो मस्यौदामाथि अब दलहरूसँग औपचारिक छलफल गरिने भएको छ । मस्यौदाको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षक अन्तर्गत सरकारले नेपालको विदेश नीतिलाई नयाँ ढंगले व्याख्या गरेको छ ।

प्रतिबद्धतापत्रमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिको उदयलाई विकासको अवसरमा बदल्ने उल्लेख छ । त्यसैगरी, नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ (सक्रिय पुल) को रूपमा रूपान्तरण गर्ने पनि जनाइएको छ ।

त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटी मार्फत राष्ट्रिय हित सुनिश्चित गर्दै नेपाललाई स्वतन्त्र, तटस्थ, असंलग्न र विश्व शान्तिमा आधारित राष्ट्रको रूपमा स्थापित गर्ने र कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धको विरोध गर्दै सबैसँग ‘समदूरी र समनिकटता’को नीति अवलम्बन गर्ने सरकारले जारी गरेको प्रतिबद्धतापत्रको मस्यौदामा उल्लेख गरिएको छ ।

कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथम : नेपाली प्रथम’ को अवधारणामा आधारित रहेर आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै सगरमाथा संवाद जस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि सरकारले प्रतिबद्धतापत्रमा जनाएको छ ।

मस्यौदामा जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठित राष्ट्रका साझा हितमा नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिने उल्लेख छ ।

प्रतिबद्धतापत्रमा सरकारले विदेशमा बसोबास गर्ने नेपाली डायस्पोरालाई केन्द्रमा राखेर केही बुँदाहरु समावेश गरेको छ । जसमा संवैधानिक तथा कानुनी व्यवस्था गरी गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरता, पैतृक सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्ने, ‘एक पटकको नेपाली सधैंको नेपाली’ लाई व्यवहारमा लागू गर्ने जनाइएको छ ।

त्यस्तै, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई ‘ब्रेन गेन’ को रूपमा उपयोग गर्ने, गैरआवासीय नेपालीहरूलाई ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ को विशेष स्थान दिई पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी आकर्षित गर्न वार्षिक एक खर्ब को डायस्पोरा बन्ड जारी गर्ने पनि पत्रको मस्यौदामा उल्लेख गरिएको छ ।

डायस्पोराको पूँजी र ज्ञान प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको खेलकुद शहर, उच्च शिक्षा तथा अनुसन्धान केन्द्र, विशिष्टिकृत स्वास्थ्य सेवा र सांस्कृतिक पर्यटनका आयोजनाहरू फास्ट ट्र्याक मोडेलमा निर्माण गर्ने सरकारो तयारी छ । सरकारले यो मस्यौदालाई अन्तिम रूप दिन दलहरूसँग छलफल गर्ने भएको छ । यो दस्तावेजलाई संसदबाट पारित गरी दीर्घकालीन राष्ट्रिय नीतिको रूपमा अघि बढाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : ३० बजे

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर

कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य

काठमाडौँ – नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

राजविराज (सप्तरी)- हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा

नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ

मुस्ताङ– नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार

काठमाडौंका यी रुटमा आजबाट रात्रि बससेवा

काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको