बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको ठूलो टोलीसँगै गएका छन्।
टेस्लाका सीईओ एलन मस्क र एनभिडियाका सीईओ जेन्सन हुआङ पनि यस टोलीमा छन्। व्यापार, आर्टिफिसियल इन्टेलिजेन्स र इरान युद्धका विषयमा वाशिंगटन र बेइजिङबीच वार्ता चलिरहेका बेला यो भ्रमण अमेरिकी कम्पनीहरूका लागि उच्च महत्वको छ।
यी कार्यकारीहरूको कुल सम्पत्ति १ ट्रिलियन डलर (१००० अर्ब डलर) नजिक रहेको बताइन्छ। उनीहरूले नेतृत्व गरेका कम्पनीहरू चीनमा ठूलो व्यापारिक चासो राख्छन्, जुन दुई ठूला अर्थतन्त्रबीच वर्षौंदेखि व्यापार विवाद चलिरहेको छ।
ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार, मस्कको सम्पत्ति करिब ६८८ बिलियन डलर छ । उनी विश्वकै सबैभन्दा धनी व्यक्ति हुन्। जेन्सन हुआङको सम्पत्ति करिब १८३ बिलियन डलर छ।
ह्वाइट हाउसले सीबीएस न्यूजलाई उपलब्ध गराएको भ्रमण दलको सूचीअनुसार हुआङ पनि अमेरिकी प्रतिनिधिमण्डलमा छन्।
एसोसिएटेड प्रेसका अनुसार मस्क र अन्य व्यापारीहरू बेइजिङमा छन् । मस्क, हुआङ र फिल्ममेकर ब्रेट राटनर एयर फोर्स वानमै ट्रम्पसँगै चीनमा छन् ।
चीनको बेइजिङ पुगेका अन्य प्रमुख अमेरिकी व्यवसायी नेताहरूमा ब्ल्याकस्टोनका सीईओ स्टिफेन स्क्वार्जम्यान छन् । जसको सम्पत्ति ४७.५ बिलियन डलर छ । एप्पलका सीईओ टिम कुक पनि टोलीमा छन् । उनको सम्पत्ति २.९ बिलियन डलर छ ।
एसोसिएटेड प्रेसले बोइङका सीईओ केली ओर्टबर्ग, ब्ल्याकरोकका सीईओ ल्यारी फिङ्क र मेटाका प्रेसिडेन्ट तथा भाइस चेयर डिना पावेल म्याककर्मिक पनि यो भ्रमणमा सहभागी भएको जनाएको छ।
एनभिडियाले एआई क्रान्तिलाई बढावा दिने चिप्स उत्पादन गरिरहेको। हुआङ र अन्य कार्यकारीहरूले यो यात्रालाई चिनियाँ बजारमा सम्बन्ध मजबुत बनाउने अवसरको रूपमा हेरेका छन्।
ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै हुआङ एयर फोर्स वानमा आफूसँगै सामेल भएको पुष्टि गरेका थिए । उनले चीन यात्रामा सहभागी व्यवसायी नेताहरूको उल्लेख गरेका थिए।
ट्रम्पले उक्त पोस्टमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई अमेरिकी व्यापारीका लागि चीन खोलिदिन आग्रह गर्ने बताएका थिए । चीन यदि तयारमा भएमा यी अमेरिकी व्यापारीहरूले आफ्नो जादू देखाउन सक्ने उनको भनाइ छ।

एनभिडिया सीईओ पनि
एनभिडिया अहिले एआईको दुनियाँमा विश्वकै शक्तिशाली कम्पानी हो । यसका सीईओ जेन्सन हुआङ अन्तिम समयमा अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणमा सामेल भए।
रोयटर्सकाा अनुसार ट्रम्पले सञ्चारमाध्यमका समाचार हेरेपछि आफैंले हुआङलाई यो यात्रामा सामेल हुन भनेका थिए।
यसअघि ह्वाइट हाउसको प्रारम्भिक सूचीमा हुआङको नाम थिएन। मङ्गलबार हुआङलाई अलास्कामा एयर फोर्स वानमा चढ्दै गरेको देखिएको थियो, जहाँबाट ट्रम्प बेइजिङका लागि प्रस्थान गरेका थिए।
ह्वाइट हाउसका प्रवक्ताले हुआङको तालिका परिवर्तन भएर उनी यो भ्रमणमा सामेल हुन सकेका जनाएका छन्। हुआङ अन्तिम समयमा सामेल हुनुले एनभिडियाको एच २०० एआई चिप्स पनि ट्रम्प-चिनफिङ शिखर वार्ताको एजेन्डामा हुन सक्ने बताइएको छ।
यी चिप्स अहिलेसम्म चीनलाई बेचिएका छैनन्। ट्रम्पले मङ्गलबार ट्रुथ सोसलमा पोस्ट गर्दै हुआङलाई निमन्त्रणा नभएको रिपोर्टहरूलाई फेक न्यूज भनेका थिए। ट्रम्प यो भ्रमणमा धेरै ठूला अमेरिकी व्यवसायी नेताहरूलाई पनि साथ लिएर बेइजिङ आएका हुन् ।

चीन पुगेका अमेरिकी व्यापारी
क्रिस्टियानो आमोन, क्वालकम सीईओ
टिम कुक, एप्पल सीईओ
ल्यारी कल्प, जीई एयरोस्पेस सीईओ
ल्यारी फिङ्क, ब्ल्याकरोक सीईओ
जेन फ्रेजर, सिटीग्रुप सीईओ
जेन्सन हुआङ, एनभिडिया सीईओ
संजय मेहरोत्रा, माइक्रोन टेक्नोलोजी सीईओ
एलन मस्क, टेस्ला र स्पेसएक्स सीईओ
केली ओर्टबर्ग, बोइङ सीईओ
स्टिफेन स्क्वार्जम्यान, ब्ल्याकस्टोन सीईओ
ब्रायन साइक्स, कार्गिल सीईओ
डेभिड सोलोमन, गोल्डम्यान साक्स सीईओ














प्रतिक्रिया