नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप « Khabarhub

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्तरुपमा पहिलो पटक आयोजना गरेको विश्वकपमा ४८ टिमका १२४८ खेलाडी सहभागी छन् ।

विभिन्न १६ शहरका १६ मैदानमा हुने विश्वकपमा कूल १०४ खेल हुनेछन् ।

विश्व फुटबलको महाकुम्भ सुरु हुँदै गर्दा पूरा विश्व फुटबल ज्वरोले हनहनी तातेको छ । जसबाट नेपाल पनि अक्षुतो छैन । विश्वकप खेल्ने ४८ नेपाल स्थान बनाउन असफल भए पनि नेपालबाट विश्वकप हेर्न उत्तर अमेरिका नै जानेको लाइन लामै छ ।

टेलिभिजनमै हेरेर आफूलाई मन पर्ने विभिन्न देशको समर्थन गर्न लाखौँ नेपाली समर्थक तयार छन् । आम समर्थकभन्दा पनि फुटबलमै जीवन समर्पण गरेकाहरूका लागि यो प्रतियोगिताले झन् विशेष महत्त्व राख्छ । त्यसैले उनीहरूको चासो पनि विश्वकपमा विशेष रहने गर्छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीलाई विभिन्न कालखण्डमा कप्तानको भूमिकामा रहेर नेतृत्व गरेकाहरूले उत्तर अमेरिकामा जारी विश्वकपलाई कसरी हेरिरहेका छन् त ?

पूर्व कप्तान तथा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले यसपाली घरमै बसेर फुटबल हेर्ने योजना बनाएका छन् । नेपाली फुटबल टिमको अन्तर्राष्ट्रिय खेलबाहेक अन्य प्रतियोगिता खास नहेर्ने थापाको लागि हरेक चार वर्षमा हुने विश्वकप चाहिँ अपवादमा पर्ने गर्छ ।  

सन् १९८२ देखि नै अर्जेन्टिनालाई समर्थन गरेका थापा यस पटक पनि अर्जेन्टिनालाई समर्थन गर्ने र त्यही टिमले विश्वकप जित्नेमा ढुक्क छन् । ‘सन् १९८२ बाट नै म अर्जेन्टिनाको समर्थन गर्दै आएको छु । त्यसैले यस पटक पनि अर्जेन्टिनाले जित्नेमा ढुक्क छु,’ थापा भन्छन् ।

थापा अर्जेन्टिनाले उपाधि नजिकेको अवस्थामा पोर्चुगलले जितोस् भन्ने कामना गर्छन् । कप्तान क्रिष्टियानो रोनाल्डोको अन्तिम विश्वकप भएकाले पनि थापा पोर्चुगलतर्फ ढल्केका हुन् । ‘उपाधि जित्ने फ्रान्स, जर्मनी, इङ्ल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना जस्ता टिम नै हुन् । तर, यस पटक अर्जेन्टिनाले नजितेको अवस्थामा रोनाल्डोको अन्तिम विश्वकप भएका कारण पनि पोर्चुगल जितोस् भन्ने कामना गर्छु,’ थापा भन्छन् ।

उपेन्द्रमान सिंह नेपाली टिमको एक दशकभन्दा लामो समय गोलपोष्ट सम्हालेका गोलकिपर हुन् । एसियाका महारथी देशहरूसँग खेलेको अनुभव उनीसँग छ ।

सन् १९९० देखि नै उनी जर्मनी टिमको समर्थन गर्दै आएका छन् । पछिल्लो दशकमा जर्मनीले कमजोर प्रदर्शन गरे पनि यस पटक उपाधि जित्नेमा उनी आशावादी छन् । ‘सानै देखि जर्मनकै समर्थक हो । अहिले पनि यही टिमलाई समर्थन गर्छु,’ नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान उपेन्द्रमान घरमै बसेर फुटबल हेर्ने तयारीमा छन्, ‘यस पटक मध्यरातमा खेल छ । बाहिर जाने योजना छैन । घरमै बसेर खेल हेर्छु ।’

नेपाली टिमका सर्वाधिक सफल स्ट्राइकर मध्ये एक हुन् हरि खड्का । उनी यसपटकको विश्वकप नेपालमै साथीहरूसँग बसेर हेर्ने योजनामा छन् । उनको लागि यो विश्वकप विशेष पनि छ । एन्फाको टेक्निकल डाइरेक्टर भएकाले विश्वकपबाट केही सिक्न सकिने उनको बुझाइ छ ।

‘पहिला खेलाडीको हिसाबमा विश्वकप हेरिन्थ्यो । यस पटक एक प्रशिक्षकको रुपमा हेर्दैछु र आफूले यस्ता प्रतियोगिताबाट धेरै सिक्न पाउने हुँदा पनि उत्साहित छु,’ थापा भन्छन् ।

नेपालका लागि कीर्तिमानी सर्वाधिक १३ गोल गरेका थापाले पछिल्लो पटक अर्जेन्टिनाको समर्थक भएर विश्वकप हेरेका थिए । मेसीले जितोस् भन्ने चाहन्थे र भयो पनि त्यस्तै । यस पटक रोनाल्डोको अन्तिम विश्वकप भएकाले रोनाल्डोले जितेको हेर्ने चाहना राख्छन् ।

‘पछिल्लो पटक आफूले सोचेको जस्तै लियोनल मेसीले उपाधि जिते । यस पटक रोनाल्डोको अन्तिम विश्वकप हो । त्यसैले रोनाल्डो र पोर्चुगल सफल भएको हेर्ने चाहना छ । पोर्चुगललाई शुभकामना,’ थापाले भने ।

राजुकाजी शाक्यपछि नेपाली फुटबलले कप्तानको जिम्मेवारीमा पाएका दोस्रो रक्षक हुन्, राकेश श्रेष्ठ । सन् १९९९ बाट नै विश्वकप हेर्न थालेका राकेश उनी विशेषगरी दक्षिण अमेरिकी फुटबलको प्रशंसक हुन् । त्यसैले अर्जेन्टिना र ब्राजिली फुटबलबाट धेरै प्रभावित छन् ।

राकेश युरोपेली फुटबल कमैमात्र फलो गर्छन् । यस पटक उनी अर्जेन्टिनालाई नै समर्थन गर्दैछन् । तर, स्पेन र फ्रान्स मध्ये एकले जित्ने उनको अनुमान छ । ‘अर्जेन्टिनाले फेरी पनि विश्वकप जितोस् भनेर कामना गर्छु । तर, यस पटक फ्रान्स र स्पेन धेरै बलिया छन्,’ राकेशले भने ।

नेपाल यु–१६ महिला टिमको प्रशिक्षक समेत रहेका राकेश यस पटक मध्यरातमा खेल हुने हुँदा भने दुखी छन् । त्यसैले घरमै बसेर प्रतियोगिता हेर्ने योजना बनाएका छन् । ‘मध्यरात देखि विहानैसम्म खेल हुँदा समस्या भएको छ । लिग चरण त पूरै घरमै हेरिन्छ । नकआउटपछिका राम्रा खेल चाही साथीहरूसँग बसेर हेर्नुपर्छ,’ उनको योजना छ ।

अर्का पूर्व कप्तान अनिल गुरुङले भने यस पटक अमेरिकामै गएर विश्वकप हेर्ने योजना बनाएका थिए । तर, एकेडेमीको व्यस्तताका कारण उनले अमेरिका जाने योजना स्थगित गरेका छन् ।

आफ्नै नाममा सञ्चालित एजी १० फुटबल एकेडेमीका खेलाडीलाई डेनमार्क लिएर जाने निश्चित भइसकेको छ । ‘अमेरिका जानै पर्ने काम पनि थियो, गएको बेला विश्वकप हेर्ने योजना थियो । तर, आफ्नै एकेडेमीका कारण जान पाइन । एकेडेमीका खेलाडी लिएर डेनमार्कमा हुने एक प्रतियोगिता खेल्न जाँदै छौँ,’ उनले सुनाए ।

अनिल यसपटकको विश्वकपमा टिम संख्या बढाएर ४८ पुर्‍याएको कारण सुरुमै उपाधि कसले जित्ने भनेर दाबी गर्न नसक्ने बताउँछन् । तर, पनि उनी इङ्ल्यान्डले प्रतियोगिता जितोस् भनेर कामना गर्छन् ।

‘सानै देखि इङ्ल्यान्डको समर्थक हो । तर, त्यति राम्रो प्रिमियर लिग हुँदा पनि इङ्ल्यान्डले जित्न सकेको छैन । यस पटक धेरै टिम छन् । नकआउट पछि मात्रै अनुमान गर्न सजिलो हुन्छ । जित्ने भनेकै अर्जेन्टिना, फ्रान्स, नेदल्यान्ड्स, जर्मनी जस्ता टिम हुन्,’ अनिलको बुझाई छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ११ : ३६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।