नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो « Khabarhub

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म) मा मुलुकको बाह्य क्षेत्र बलियो स्थितिमा देखिए पनि आन्तरिक बजारमा उपभोक्ता महँगी र वैदेशिक व्यापार घाटामा निरन्तर वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा शोधनान्तर स्थिति र चालु खाता उच्च बचतमा रहनुका साथै विदेशी विनिमय सञ्चितिले नयाँ कीर्तिमान कायम गरेको देखाएको छ ।

महँगी (मुद्रास्फीति) मा चाप

समीक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्र रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ ।

खाद्य उप-समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मलमसलाको ६.७१ प्रतिशतले बढेको छ । गैर-खाद्य उप-समूहमा यातायात क्षेत्रको मूल्य सूचकाङ्क १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा क्षेत्रगत आधारमा ग्रामीण क्षेत्रको मुद्रास्फीति ६.७८ प्रतिशत र सहरी क्षेत्रको ६.१९ प्रतिशत रहेको छ। प्रदेशगत आधारमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत दर्ता भएको छ । काठमाडौँ उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.८९ प्रतिशत, पहाडमा ६.४१ प्रतिशत र हिमालमा ५.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । समीक्षा महिनामा भारतको उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै, वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ ।

वैदेशिक व्यापार र व्यापार घाटा

चालु आर्थिक वर्षको दुई महिनामा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब ५९ करोड पुगेको छ । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा भटमासको तेल, पोलिस पोलिएस्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज र जडीबुटीको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४०१ अर्ब ५२ करोड पुगेको छ । भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २७.४ प्रतिशत, १७.२ प्रतिशत र ५६.६ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल र सवारी साधन तथा पार्टपुर्जाको आयात बढेको छ भने सुन, धान/चामल, हवाइजहाजका पार्टपुर्जा, पोलिथिन ग्रान्युअल्स र मेडिकल सामानको आयात घटेको छ ।

आयातमा भएको उच्च वृद्धिका कारण कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले वृद्धि भई ३२४ अर्ब ९३ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १९.१ प्रतिशत पुगेको छ । कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको अंश ७१.१ प्रतिशत, मध्यवर्तीको २८.८ प्रतिशत र पुँजीगत वस्तुको ०.१ प्रतिशत रहेको छ भने कुल आयातमा यी अंशहरू क्रमशः ३९.४ प्रतिशत, ५१.९ प्रतिशत र ८.७ प्रतिशत रहेका छन् । भन्सार तथ्याङ्कमा आधारित व्यापारको सर्त ७.९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

विप्रेषण बढ्यो, वैदेशिक रोजगारी घट्यो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको छ । भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ। खुद द्वितीय आय ४६९ अर्ब ४४ करोड पुगेको छ । 

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या ७८,३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२,१६३ रहेको छ ।

सेवा खातातर्फ खुद सेवा आय २२ अर्ब ४ करोडले घाटामा रहेको छ । सेवा खाताअन्तर्गत भ्रमण आय २८.६ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड पुगेको छ भने भ्रमण व्यय १३.१ प्रतिशतले घटेर ४१ अर्ब १० करोड कायम भएको छ, जसमध्ये शिक्षातर्फको व्यय २९ अर्ब ५५ करोड रहेको छ ।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, विदेशी विनिमय सञ्चिति बढ्यो

समीक्षा अवधिमा चालु खाता १६९ अर्ब ४ करोड बचतमा रहेको छ, जुन अमेरिकी डलरमा १ अर्ब ११ करोड बचत हो । खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड र प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १३४ प्रतिशतले बढेर २ अर्ब ९८ करोड भित्रिएको छ । शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड (अमेरिकी डलरमा १ अर्ब २३ करोड) ले उच्च बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तको ३८७९ अर्ब ६७ करोडबाट ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा ४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६१० अर्ब ७६ करोड र बैंक तथा वित्तीय संस्थासँग ४५५ अर्ब १ करोड रहेको छ । सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत छ ।

विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय बजार, विनिमय दर र सरकारी वित्त स्थिति

समीक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम तेलको मूल्य ८३.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल १२७.४३ अमेरिकी डलर र सुनको मूल्य १५.४ प्रतिशतले बढेर प्रति आउन्स ४२६३.५५ अमेरिकी डलर पुगेको थियो । २०८३ असार मसान्तको तुलनामा भदौ मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ०.३ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद दर १५३.२४ कायम भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारी बित्ततर्फ नेपाल सरकारको कुल खर्च १९९ अर्ब ४ करोड रहेको छ, जसमध्ये चालु खर्च १२२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड भएको छ । कुल राजस्व परिचालन १८३ अर्ब २१ करोड भएको छ, जसमा कर राजस्व १७२ अर्ब ४३ करोड र गैर-कर राजस्व १० अर्ब ७८ करोड छ । कुल राजस्वमा अप्रत्यक्ष करको अंश ७५.३ प्रतिशत र प्रत्यक्ष करको अंश १८.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकमा सरकारको नगद मौज्दात ३८४ अर्ब ६९ करोड छ । प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड र स्रोत परिचालन २४ अर्ब ५४ करोड रहेको छ ।

मौद्रिक स्थिति, निक्षेप, कर्जा र ब्याजदर

समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १४.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ०.९ प्रतिशत अर्थात् ७२ अर्ब ८० करोडले बढेर ८३४९ अर्ब ७२ करोड पुगेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोडले बढेर ५९५० अर्ब ५८ करोड पुगेको छ । 

निक्षेपमा चल्तीको अंश ७.५ प्रतिशत, बचतको ४८.० प्रतिशत र मुद्दतीको ३४.७ प्रतिशत छ।

ब्याजदरतर्फ ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशत र अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशत, विकास बैंकहरूको ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ७८२ अर्ब ७० करोड र स्थायी निक्षेप सुविधामार्फत २९८१ अर्ब ८० करोड गरी कुल ३७६४ अर्ब ५० करोड तरलता प्रशोधन गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ५ : ३३ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत