एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी हुन् : मेगास्पिड « Khabarhub

एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेकी हुन् : मेगास्पिड


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर- एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ । मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ ।

कम्पनीकी पूर्वनिर्देशक एलिस हुआङलाई अमेरिकी सञ्चारमाध्यमले कथित चिनियाँ गुप्तचर सम्पत्तिका रूपमा पहिचान गरेका छन् । उहाँको एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङसँग सम्बन्ध रहेको दाबीसमेत सार्वजनिक भएको छ । “सुश्री एलिस हुआङले सन् २०२५ अगस्ट ३० देखि मेगास्पिड छाडिसक्नुभएको र हाल कम्पनीमा उहाँको कुनै भूमिका छैन,” एएफपीको प्रश्नको जवाफमा कम्पनीले आइतबार भनेको छ । कम्पनीले एलिस हुआङका व्यक्तिगत तथा निजी मामिलाबारे टिप्पणी नगर्ने पनि जनाएको छ ।

एलिस हुआङ र जेन्सेन हुआङबीच कुनै पारिवारिक सम्बन्ध छैन । बेइजिङले जासुसीसम्बन्धी आरोप अस्वीकार गर्दै आएको छ । जेन्सेन हुआङले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई पठाएको पत्रमा विवाहेत्तर सम्बन्ध स्वीकार गरेका थिए । यद्यपि, उहाँले उक्त सम्बन्धमा संलग्न महिलाको नाम खुलाएका थिएनन् । त्यसको केही दिनपछि हुआङ्ले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए ।

एनभिडियाको सञ्चालक समितिले यस विषयमा अनुसन्धान गर्ने जनाएको छ । अमेरिकी काङ्ग्रेसका तीन समितिका अध्यक्षले पनि जेन्सेन हुआङलाई नोभेम्बर १८ मा हुने बन्द बैठकमा उपस्थित भई जानकारी दिन आग्रह गरेका छन् । मेगास्पिडले आफूले कानुनसम्मत व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र विश्वव्यापी सञ्चालनबारे सञ्चारमाध्यममा आएका दाबीहरू प्रमाणित तथ्यमा आधारित नभएको बताएको छ ।

कम्पनीले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी कानुनअन्तर्गतका आफ्ना दायित्व पालना भए–नभएकोबारे विस्तृत आन्तरिक अनुसन्धान गर्न बाह्य कानुनी परामर्शदाता नियुक्त गरेको पनि जनाएको छ । अमेरिकी कानुनले केही उन्नत चिप चीनमा पठाउन प्रतिबन्ध लगाएको छ ।

सिङ्गापुरका अधिकारीहरूका अनुसार, उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) चिप जडित सर्भर मलेसियामा निर्यात गरिएको र सिङ्गापुरमा गरिएको घोषणाभन्दा फरक गन्तव्यमा पठाइएको आशङ्का छ । मेगास्पिडमाथिको अनुसन्धान जारी रहेको सिङ्गापुर प्रहरी बलले जनाएको छ । अधिकारीहरूले अनुसन्धानका क्रममा गलत जानकारी दिएको आरोपमा एलिस हुआङलाई गत फेब्रुअरीमा सिङ्गापुर पुनः प्रवेश गर्न रोक लगाइएको पनि बताएका छन् । यद्यपि, उहाँमाथि जासुसी गरेको आरोपमा अनुसन्धान भने गरिएको थिएन ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : ५३ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ