सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु « Khabarhub

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन् । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका बर्तालु अब सोमबार बिहानको सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका हुन् ।

सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र छठ पर्व पूर्ण हुने मैथिल परम्पराले बर्तालुलाई सोमबारको सूर्योदयको पर्खाइ भएको हो ।

“अब सूर्यदेवको भक्तिगान गर्दै रात यहीँ कटाउँछौँ, सप्तमी तिथिको सूर्योदय भएपछि अर्घ दिएर पर्व सम्पन्न गर्छौँ”, महोत्तरीको भङ्गाहा–४ रामनगरको बिर्ता पोखरी छठघाटमा जाग्राम बस्नुभएकी बर्तालु शान्तिदेवी साह भन्छिन्, “अब हामी सबैको प्रार्थना सूर्यदेव चाँडै उदाइ दिनु भन्ने छ ।”

परिवारसहित छठघाटमा रहेका बर्तालु अहिले मौसम सफा रहेर सप्तमी तिथिको बिहानै ठिक समयमा उदाउन सूर्यसँग गीत गाएर प्रार्थना गर्दैछन् । जाग्राम बसेका बर्तालु र आफन्तजन रातभरि छठीमैया (षष्ठीदेवी) र सूर्यदेवको महिमा आफ्नो स्थानीय लोकलयमा गाउँदैछन् । यस्ता गीतमा छठीमैया दयालु र सूर्यदेव संसारको शोक नास गर्ने र अन्धकार भगाउने इष्टदेव रहेका भाव रहन्छन् ।

“मैले व्रत गर्न थालेको १५ वर्ष नाघ्यो, छठ व्रतले मलाई आत्मशान्ति र संयम भएर काममा जुट्न उर्जा दिन्छ”, बर्दिबास–१४ हटियास्थित कामेश्वरनाथ महादेव पोखरी छठघाटमा जाग्राम रहेकी आशा महतो भन्छिन्, “हेर्नोस् न, यहाँ कति रमाइलो छ, सूर्यदेव र छठीमाताको स्मरणले मनका सारा क्लेश हराएका छन् , अब सप्तमी तिथिको सूर्योदयले वर्षभरि ताजा रहने उर्जा हामीले पाउने छौं, अब हामीलाई सूर्योदयको पर्खाइ छ ।”

मधेसका महोत्तरीसहितका सम्पूर्ण मिथिला क्षेत्र आजको रात जगमग छ । “दुःखसुख कसका घरमा छैन, तर अहिले सबै दुःख बिर्सेर सूर्यदेव र छठीमाताको शरणमा छौँ”, बर्दिबास–२ ओमशान्तिचोकमा आफ्नै घरआँगनमा छठघाट बनाएर सबै विधि गर्दै आएकी पवि रेग्मी भन्छिन्, “चारैतिरको जगमगले रात बितेको पत्तै पाइने छैन ।” पर्वते समुदायकी रेग्मीले छठ व्रत लिन थालेको १५ वर्ष नाघेको बताइन् ।

मिथिला क्षेत्रका सबैजसो छठघाटमा ‘सझुका अरख’ को रात धार्मिक र पौराणिक कथाबस्तुका नाटक, नाच र भजनसहितका साँस्कृतिक कार्यक्रम आयोजित छन् । यी कार्यक्रममा प्रस्तुत गरिने गीत पनि बर्तालुको भावमै सप्तमीका दिन बिहान चाँडै उदाइ दिन सूर्यदेवको पुकारा गरिएका हुन्छन् । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने पर्व बनेको छ । आफ्नो घरमा छठ नहुने मैथिल पनि यस पर्वमा छिमेकीसँगै सरिक हुन्छन् ।

हिन्दु मैथिलमात्र नभएर अब यहाँ छठ मनाउने पर्वते हिन्दु बाक्लै बढेका छन् । यतातिर हिन्दुमात्र नभएर इस्लाम धर्मावलम्बीहरु प्नि छठको भाकल गरेर छिमेकको हिन्दुलाई सौगात सूर्यलाई अर्पण गरीदिन अराउने गरेका भेटिन्छन् । सबैको सरिकताले छठ पर्व मिथिलामा सबैको साझा बनेको हुँदा नै यसलाई लोकआस्थाको महापर्व भन्ने गरिएको मैथिल संस्कृतिविद् जलेश्वर–५ पतैलीका ध्रुव रायको धारणा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ९ : २१ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ