संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर « Khabarhub

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

कोइराला परिवारको लिगेसीमै प्रश्न



काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापनबीच करिब ४ महिना लामो रस्साकस्सी चल्यो । तर दुई पक्षबीच सहमति हुन सकेन ।

अन्ततः बिहीबार देशकै ठूलो पार्टी नेपाली कांग्रेस औपचारिक रुपमै विभाजित भयो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित २ हजार ६ सय ६२ (५६.१२ प्रतिशत) महाधिवेशन प्रतिनिधिले बिहीबार सबेरै बिहान नयाँ कार्यसमिति गठन गरिसकेका छन् ।

चौधौँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग गर्दै बनाइएको १३७ सदस्यीय केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट वैधानिकता पाउने नपाउने टुंगो भएको छैन । यद्यपि बिहीबार दिउँसो गगन नेतृत्वको कार्यसमिति आयोगमा पुगेर निवेदन दर्ता गराइसकेको छ ।

उता संस्थापन पक्षले बुधबार नै आयोग पुगेर गगनसहितमाथि भएको कारबाहीको जानकारी गराइसकेको छ । यो धुव्रीकरणले कांग्रेसको संगठनमा तलैसम्म विभाजन आउने निश्चित छ । जसकारण फागुन २१ गतेको निर्वाचनमा अरू शक्तिलाई फाइदा पुग्ने दृश्य देखिँदैछ ।

कांग्रेसको यो फुट रोक्ने कोसिस पनि नभएको होइन । मध्यमार्गी मानिएका डा. शेखर कोइरला सानेपा बैठककको केही मिनेट अघिसम्म पार्टी कुनै हालतमा नफुट्ने बताइरहेका थिए ।

तर उनीसमेत उपस्थित भएर गगन, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरमाथि कारबाहीको निर्णय गराए । शेखरले मध्यमार्गी धार समात्ने नाममा कसैको हुन सकेनन् । न उनी सभापति शेरबहादुर देउवाको भए न त गगनको विश्वास नै बचाउन सके ।

चौधौँ महाधिवेशनमा सभापति पदमा हारेका उनी पन्ध्रौँबाट कांग्रेृका नेतृत्वमा पुग्ने तयारीमा थिए । तर उनको त्यो योजनालाई गगनले बीच बाटैबाट हडपेर आफैंले कांग्रेसको बागडोर सम्हाले । पार्टी जोगाउने नाममा बीचमा बस्न खोज्दा उनले कांग्रेसभित्रको पकड पूरै गुमाउन पुगेका छन् ।

कांग्रेसलाई विभाजनतर्फ लैजान पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बस्नुअघि सानेपामै उनी भन्दै थिए, ‘फुट्दैन, फुट्दैन। मिलाउन सक्छौँ । पार्टी कहाँ यसै फुट्छ ।’

उनको यो दोधार बिहीबार पनि गएको देखिएन। पार्टी फुटेपछि उनले निकालेको वक्तव्यमा नेता कार्यकर्तालाई घर फर्किन भनेका छन्। तर कांग्रेसका दुईवटा घर बनिसकेको अवस्थामा कुन घर फर्किने ? उनले पक्रिएको मध्यमार्गी धार असफल भइसक्दा अब कार्यकर्ता कता जाने ? गगन थापासँग विशेष महाधिवेशनको बहुमत छ भने देउवासँग केन्द्रीय कार्यसमितिको ।

उनले ती दुईमध्ये कुन घर फर्किन भनेका हुन् वक्तव्यमा खुलाएका छैनन् । कांग्रेस एकता अहिले अपरिहार्य भएको उल्लेख गर्दै कोइरालाले पार्टी कार्यकर्तालाई ‘घर फर्कन’ आह्वान गरेका छन् । ‘यहाँ जीत–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौं,’ उनले भनेका छन् ।

उता बुधबार सानेपामै उनीसहित संस्थापन नेताहरूले केन्द्रीय कार्यसमिति बैठकबाट महामन्त्रीद्धय थापा र शर्मासहित सहमहामन्त्री अन्सारीलाई ५ वर्षका लागि साधारण सदस्यबाटै निकाले । अर्थात्, उनले अहिले समातेको देउवा नेतृत्वको घरबाट गगनहरू निष्कासित भएका छन् । तर बिहीबारबाट सुरू भएको कानुनी लडाइँ टुंगो नलागुञ्जेलसम्म कांग्रेस कार्यकर्तालाई खास मूल घर पहिचान गर्न पनि संकट परेको छ।

शेखरले उक्त कुरा भनिरहँदा कार्यकर्तामा केही आशा जागेको थियो । तर उनी सानेपा कार्यालयामा छिरेको केही बेरमै कांग्रेसमा औपचारिक विभाजनको रेखा कोरियो । उनले सानेपामा दिएको त्यो अभिव्यक्ति संस्थापनको आन्तरिक तयारी र निर्णयमा उनी कुनै जानकार थिएनन् भन्ने पुष्टि गर्न पर्याप्त थियो ।

१४ औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएका उनलाई विभाजन रोक्न सक्ने नेता मानिएको थियो । कोइराला परिवारको लिगेसी बोकेका भनिएका उनले आफूलाई सावित गर्न सकेनन् ।

देउवा र थापा दुवैतिर उनले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा विभाजनको निर्णयमा सही गर्न पुगे । उनले पार्टीमा देउवाविरुद्ध फरक मत राखिरहन्थे । अल्पमतमै भए पनि आफ्ना कुरा मुखर गरिरहने उनी पार्टी विभाजन रोक्ने कुरामा देउवालाई तयार गर्न सकेनन् ।

अन्ततः देउवाले दुई पटक कांग्रेस फुटाउँदाका साक्षीका रुपमा उभिए कोइराला परिवारका एक सदस्य । कांग्रेसको भावी नेतृत्व मानिएका उनी अन्ततः न यता न उताका हुन पुगेका छन् ।

उनले गगनले जस्तै कांग्रेसले चुनावी गठबन्धन गर्न नहुने ठूला दल मिल्न नहुने अडान राख्थे । पार्टीमा आन्तरिक लोकतन्त्रको बहस गर्न उनी अग्रपंक्तिमा थिए । तर त्यही आन्तरिक लोकतन्त्रको मुद्दामा उनी गगनसँग उभिन नसक्दा अहिले समस्यामा परेका छन् ।

शेखर चुनावअघि नै १५औँ महाधिवेशन गर्नुपर्छ त भन्थे तर ५४ प्रतिशतले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन अहिले आवश्यक नरहेको तर्क पनि गरिरहन्थे । उनी पनि देउवाले जस्तै विशेष महाधिवेशन प्रतिनिधिको मागअनुसार बाध्यात्मक हो भन्ने कुरालाई नकार्दा राजनीतिक जीवनकै संकटपूर्ण अवस्थामा पुगेका छन् ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि पार्टीमा जबर्जस्त सुधारको माग गर्नेमा शेखर अगाडि थिए । अब पम्परागत नेतृत्वलाई लिएर चुनावमा गए सर्मनाक हार हुने कुरा उनैले बताउँथे । पार्टीमा बहस चलाए । विशेष महाधिवेशन माग्दै असोजबाट सुरु भएको हस्ताक्षर अभियानलाई ‘ग्रीन सिग्नल’ पनि दिए ।

तर, महामन्त्रीद्वयले पार्टीलाई विशेष महाधिवेशन लैजाँदा भने उनी चुके । उनले विधानले नै दिएको विशेष महाधिवेशनको मञ्चमा उक्लिने हिम्मत नगर्दा कांग्रेस दोस्रो पटक डरलाग्दो क्षति हुने गरी विभाजित भयो ।

यदि उनले विशेष महाधिवेशनको मञ्चमा उक्लिने हिम्मत गरेको भए देउवा पनि लत्रिएर आउन सक्थे, महाधिवेश प्रतिनिधिलाई भन्थे, ‘तपाईंहरूको भावनालाई सम्मान गर्दै मैले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै सक्रिय राजनीतिबाट बिदा लिएँ ।’

तर कोइराला परिवारका अन्तिम आशा मानिएका उनी अन्तिममा देउवाकै कार्यकर्ताका रुपमा सानेपामा मिसिए । तर उनको यो निर्णयले कोइराला परिवारको विरासतको पोल्टामा कांग्रेस फर्किने सम्भावना पनि करिब समाप्त भएको छ ।

२०७९ को संसदीय निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा उनी असन्तुष्ट थिए। निर्वाचनपपछि उनले एमालेसँग मिलेर सरकार बनाउने प्रस्ता गरे । सुरुमा देउवाले त्यसलाई अस्वीकार गरे । तर २०८१ असारमा उनकै लाइनमा दुई दल पुगे ।

तर, समीकरण बनेपछि उनले विरोध थाले । सुरुमा दुई ठूला दल मिल्ने पक्षमा वकालत गरेका उनकै निकट केदार कार्कीले कोशीमा एमालेसँग मिलेर सरकार पनि चलाए ।

तर आफैंले सुरुमा गरेको वकालतविरुद्ध उभिएका उनीनिकट कार्की पनि अहिले गगनतिर लागिसकेका छन् । कोइरालाको यो दोधार र अलमलले उनले आफूलाई मध्यमार्गीका नेताका रुपमा उभ्याउन सकेनन्।

उनीसँग कांग्रेस केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत शक्ति थियो । जसको आडमा उनले पार्टी सुधारको बहसलाई नयाँ मोड दिन सक्थे । तर, उनको प्रयास सुधारभन्दा स्वार्थतिर मोडियो । विशेष महाधिवेशनको मुद्दा उठाएका उनी राष्ट्रियसभामा कांग्रेसका ९ मध्ये तीनजनाको भागबन्डाका लागि देउवाकहाँ पुगे ।

त्यहीकारण उनले मध्यमार्गी नेताको छवि गुमाउँदा न देउवाले पत्याए न गगन थापाकै विश्वास नै बचाउन सके । देउवासँग भाग माग्न पुगेका उनले त्यहीकारण विशेष महाधिवेशनको मञ्चमा उक्लेर कांग्रेसलाई बचाउने नैतिक बल पनि देखाउन सकेनन् ।

१४ औँमा शेखर–गगन

१४ औँ महाधिवेशनमा कोइराला सभापति पदमा देउवासँग दोस्रो चरण्मा पराजित भए । त्यसबेला एउटै टिमबाट सभापतिमा शेखर र गगन महामन्त्रीमा उठेका थिए । शेखर टिमबाटै गगनले संसदीय दलमा देउवासँग प्रतिस्पर्धा पनि गरे ।

काांग्रेसका ८९ सांसदमध्ये शेखर–गगन समूहमा ३३ मात्रै थिए । यी दुवै नेताले बल गर्दा सांसद ४० हाराहारी पुग्न सक्थ्यो । जुन देउवालाई हराउन सक्ने गणितनजिकको संख्या थियो । तर, यो समूहबाट २५ भोट मात्रै गगनले पाए ।

त्यसपछि दुवैबीच दरार देखियो । यद्यपि पूरै सम्बन्ध बिग्रेको भने थिएन। एजेन्डाहरूमा बेला बेला सहकार्य चलिरहेको थियो । पार्टीमा बहुमतसहित पकड बनाएका देउवाविरुद्ध लड्न धेरैले गगन र शेखरलाई मिलाउने प्रत्यन गरे । तर, सम्भव भएन ।

२३ र २४ भदौको जेन–जी विद्रोहपछि कांग्रेसलाई रुपान्तरण गर्नैपर्ने परिस्थिति आयो । यस्तोमा महामन्त्रीद्वयले सके नियमित, नसके विशेष महाधिवेशनमा जानुपर्ने अडान लिए ।

२०८३ होइन २०८२ मै १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने शेखरलाई यसले ठूलो फाइदा हुने थियो । तर, नियमित महाधिवेशन गर्ने गरी महामन्त्रीहरू तयारीमा लाग्दा शेखर उल्टो दिशामा हिँडे ।

महामन्त्रीहरूले सदस्यताको टुंगो नलगाउँदा नियमित महाधिवेशन हुन नसकेको भाष्य बनाउँदै उनले सार्वजनिक रुपमा बोल्दै हिँडे । उनी देउवालालाई चिढ्याउने पक्षमा थिएनन् । पन्ध्रौँमा देउवाकै सहयोगमा सभापति पदमा पुग्ने रणनीति सम्भवतः उनी बुनिरहेका थिए ।

जेन–जी विद्रोहपछि महामन्त्रीद्धयले विशेष महाधिवेशनबाट शेखरलाई अन्तरिम सभापति बनाउने प्रस्ताव पनि गरे । तर उनी तयार भएनन् ।

बरू विशेष महाधिवेशन गरे पार्टी फुट्ने संस्थापनको भाष्य बोकेर हिँडे । उनले विशेष महाधिवेशन ६ माघपछि गर्न सुझाए । जबकि पार्टी विधानको धारा १७ (२) ले ४० प्रतिशत बढी प्रतिनिधिले माग गरेको तीन महिनाभित्रै विशेष महाधिवेशन गर्नैपर्ने भनेको छ ।

२८ पुसपछि विशेष महाधिवेशनको औचित्य सकिने बुझेका उनले महामन्त्रीहरू यति आक्रमक रुपमा विद्रोहमा उत्रेलान् भन्ने हेक्का राख्न चुकेको देखिन्छ ।

गुमाए विश्वास पात्र

निर्णायक समयमा चुक्दा विश्वासपात्र कोशीका केदार कार्की र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनसहित डेढ दर्जन जिल्ला सभापति पनि विशेषतिर गए ।

शेखर अनिर्णयको बन्दी हुँदा कोइराला परिवारको लिगेसीलाई साथ दिएकाहरू पनि अब गगन–विश्वसँग सहयात्रामा जोडिएका छन्। लुम्बिनी सभापति पुनले शेखर अनिर्णयको बन्दी भएकाले कुरेर बस्न नसकिएको बताए ।

‘उहाँ नीतिगत प्रकृयामा नेतृत्वको भूमिकामा अडिग रहन नसक्ने देखेँ । उहाँले कांग्रेसको सभापति भएर जिम्मेवारी निर्वाह गर्न सक्नुहुँदैन भन्ने लागेर मैले बाटो फेरेँ’, उनले भने, ‘उहाँसँग मेरो व्यक्तिगत अहसमति छैन तर, राजनीतिक उहाँ चुकेपछि म पार्टीको बहुमत र हितको पक्षमा समर्थन उभिएको हुँ ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : २० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम