संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू ! « Khabarhub

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !



किस्पाङ, नुवाकोट–

दृश्य-एक

बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार मिटर उचाइको गोङ्गा भञ्ज्याङ तुसारोले सेताम्य थियो । उत्तरमा रसुवातिर लाङटाङ हिमालमा घामको किरण नपर्दै किस्पाङ गाउँपालिका कार्यालयबाट खटिएका डा. प्रेम जीएमसहितका पशु स्वास्थ्यकर्मी एक जना कृषकसँग परामर्शमा व्यस्त थिए ।

खासमा भेडा पालन व्यवसायलाई युवा पुस्तासम्म धानेका २४ वर्षीय बयान घले तनावमा थिए । उनका करिब ६५० भेडामध्ये केही दर्जन सिकिस्त बिरामी थिए । तिनको उपचारमा जीएमसहित पशु स्वास्थ्यकर्मी श्रीकृष्ण बजगाईं र सुरेश न्यौपानेसमेत खटिएका थिए ।

बिहीबार पनि केही बिरामी भेडा बगालबाट छुट्याएर उपचारका लागि गोङ्गो भञ्ज्याङमै राखिएको थियो । तिनलाई सबेरै बिहान बाहिर निकालेर बगालसँग लैजान कृषक घले तयार थिए ।

किस्पाङको उच्च पहाडी र हिमाली क्षेत्रमा अहिले पनि सयौँको संख्यामा भेडासहितका पशुपालन हुने गरेको छ । तर, बेला-बेला आइरहने विभिन्न रोगका कारण कृषकहरूले हैरानी पाइरहन्छन् । कहिलेकाहीँ त बगाल नै मासिने जोखिम पनि हुन्छ ।

कृषकको त्यही समस्या बुझेर गाउँपालिकाको केन्द्रबाट डाक्टरसहितका पशु स्वास्थ्यकर्मी गोङ्गो भञ्ज्याङमै खटिएका थिए ।

किस्पाङको केन्द्रबाट गोङ्गो भञ्ज्याङसम्म पुग्न सजिलो छैन । उच्च पहाडी जङ्गल छिचोल्दै डोजरले ट्रयाक मात्रै खोलेको कामचलाउ सडक छ ।

त्यही सडक आधा गाडीमा र आधा पैदलै हिउँ किच्दै गोङ्गो भञ्ज्याङ पुगेका उनीहरू एक सातादेखि त्यहीँ खटिएका थिए । तुसारोले सेताम्य चौरमै बसेर डाक्टर जीएमले कृषक युवा बयानलाई अब सबै भेडा निको भइसकेकाले बथानमा लैजान भनिरहेका थिए ।

‘हामी एक सातादेखि यहाँ छौँ । हामी आउँदा बाक्लो हिउँ थियो । अहिले त्यो पग्लिसकेको छ । तर, चिसो सहन मुश्किल पर्छ’, जीएमले भने, ‘एक साता यहाँ बसेर गरिएको उपचारले अब बिरामी भेडा निको भइसकेका छन् । बाँकी केही पनि अब निको भएर बगालमा जाँदैछन्’, उनले भने, ‘कृषकले बिरामी भेडा गाउँपालिकासम्म लिएर आउन सक्दैनन् । तर, हामी हिँड्दै यहाँसम्म आउन त सक्छौँ । समयमै उपचार गराउँदा कृषकको लगानी जोगियो, पेशाप्रति उनीहरू ढुक्क पनि भए ।’

देशका अन्य पालिकामा विभिन्न रोग र महामारीले बगालका बगाल भेडा मरिरहँदा किस्पाङले भने कृषकले गुनासो गर्नेबित्तिकै उपचार र जाँचका लागि टोली खटाउने गरेको छ । भेडीगोठ रहेका जङ्गली क्षेत्रमै पालिकाको पशु सेवा शाखाका चिकित्सकले भ्याक्सिन लगाउने, औषधि दिनेसहितका उपचारका सबै विधि प्रयोग गर्छ ।

‘यहाँका कृषकलाई परम्परागत पेशाबाट पलायन हुन नदिन गोठ सुधारदेखि घुम्ती शिविरसमेत चलाउने गरेका छौँ । पालिकाको साथ मिल्दा युवा पुस्ताले भेडा पालनलाई निरन्तरता दिएका छन् । कुनै रोग र महामारी लाग्नुअघि नै उपचारको व्यवस्था गरिदिएका छौँ’, किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले भने, ‘पशुपालक कृषकलाई गाउँमा मात्रै होइन, गोठसम्मै सरकार आएको प्रत्याभूति दिने काम गरिरहेका छौँ । पालिकाको यो कोसिसले बयान घलेजस्ता युवाले पशुपालनलाई नयाँ पुस्तासम्म धानेर अघि बढाउन थालेका छन् ।’

पालिकाले यससँगै भेडीगोठका लागि आवश्यक लगानीसमेत गरिदिने गरेको छ । भेडीगोठ क्षेत्रसम्मको पदमार्ग सुधार, खानेपानीको व्यवस्था, पशुको आवश्यक आधारभूत उपचार र विरामी पहिचानसहितका सामान्य सीप पनि दिइने गरिएको छ ।

‘भेडीगोठ क्षेत्रमा पानीको अभाव हुने गरेकोले आवश्यक स्रोत पहिचान गरेर निश्चित स्थानसम्म पाइपबाट पुर्‍याउने काम पनि भइरहेको छ । अर्कातिर खर्क क्षेत्रको बाटो सुधारको प्रयास पनि गरिरहेका छौँ । सकेसम्म कृषकले भोगिरहेका समस्या समाधान गर्न खोजिरहेका छौँ’, उनले भने, ‘कृषकका मागअनुसारका अनुदान, सहुलियत जस्ता कुरामा पनि पालिकाले काम गरिरहेको छ ।’

किस्पाङका पशुचिकित्सकहरू भेडासहित पशुचौपायाको उपचारमा गोठमा मात्रै होइन, ओढारमासमेत पुग्छन् । ओढारमै पुगेर उनीहरू मानिसलाई जस्तै भेडालाई सुईसँगै स्लाइन पानी पनि चढाउँछन् ।

‘सकेसम्म कृषकले एउटा पनि क्षति व्यहोर्नुनपरोस् भनेर लागेका हुन्छौँ’, नायव पशुसेवा प्राविधिक बजगाईंले भने, ‘हिउँद वर्षा जुनसुकै बेला बिरामी पर्न सक्छन् । बिरामी पशुचौपाया पालिकामा ल्याउनु भन्न मिल्दैन। त्यसैले सकेसम्म चाँडो उपाय लगाएर गोठदेखि ओढारसम्मै पुगेर उपचार गर्छौँ।’

पालिकाले जंगल क्षेत्रमै पशु चिकित्सक पठाएर आफ्ना भेडाबाख्रा बचाइदिँदा युवा कृषक बयान घले पनि खुसी देखिए । सोझो मिजासका उनी कम बोल्थे । तर, बिरामी भएका आफ्ना भेडाबाख्रा पालिकाबाट आएका पशु चिकित्सकको पहलमा बचेकामा उनी पुलकित देखिन्थे । ‘मसँग धन्यवाद दिने शब्द नै छैन । रोगले बगालै सकिने डर थियो । खबर गरेपछि पालिकाको टोली नै यहाँ बसेर उपचार गरिदियो’, उनले भने, ‘बाँकी बिरामी भेडा पनि अब तंग्रिए, यिनलाई बगालतिर लिएर जाँदैछु ।’

उनलाई पशु स्वास्थ्यकर्मीको टोलीले आवश्यक औषधि पनि दिएर पठायो । पशु स्वास्थ्यकर्मीले औषधि खुवाउने तरिका पनि उनलाई सिकाइदिए । निको हुँदै गरेको आधा दर्जन भेडा धपाउँदै उनी हँसिलो मुहार बनाएर गोठतिर सोझिए ।

यससँगै पालिकाले घुम्ती गोठमा पालिएका भेडा–बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध गोठ–गोठमै पुगेर निःशुल्क खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसका लागि साल्मे र गोङ्गो भञ्ज्याङसहितका स्थानमा पशु स्वास्थ्यकर्मी खटिएका छन् ।

दृश्य २

किस्पाङ नुवाकोटकै दुर्गममध्ये एक पालिका हो । यहाँको पालिकाको केन्द्र काहुलेमा अवस्थित छ । यहाँको भूगोल सजिलो छैन ।

ठाडो भूबनोटका कारण एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि सजिलो छैन । डोजरले सडकको ट्रयाक त खोलेको छ तर सबै ठाउँमा पुग्न सहज भने छैन ।

तामाङ समुदायको बाहुल्य रहेको यहाँका मानिस अझै पनि आफ्नो स्वास्थ्यप्रति पूर्ण चनाखो छैनन् । सरसफाइमा अझै पनि राम्रो ख्याल नगर्दा आइपर्ने अनेक समस्या यहाँका बासिन्दाले भोगिरहेका छन् ।

तर, पालिकाले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आफूलाई नागरिकका घर घरमा पुर्‍याइरहेको छ । शुक्रबार बिहान गोङ्गो भञ्ज्याङबाट फिर्दै गर्दा पालिकाका स्वास्थ्यकर्मी काहुलेस्थित घर घरमै पुगेर परामर्श गरिरहेका थिए । कोही बिरामी जाँचिरहेका थिए, कोही आवश्यक स्वास्थ्य सुझाव दिइरहेका थिए ।

‘यहाँ हामीले घरघरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँचसहितका पालिकाले दिने आधारभूत सेवा दिइरहेका छौँ’, किस्पाङका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले भने, ‘पालिकाको केन्द्रसम्म आउन नसक्नेका लागि यो प्रयासले राहत दिएको छ । यहाँका सबै ५ वटै वडामा पालिकाले यो सेवा दिइरहेको छ ।’

दृश्य ३

गाउँपालिकाको कार्यालयसँगैको एउटा भवनमा छ नागरिक आरोग्य सेवा केन्द्र । यो केन्द्रका लागि खटिएका छन्- वैद्य रोशन बस्याल । बझाङ घर भएका उनी बागमती प्रदेश सरकारको तर्फबाट पालिकामा खटिएका हुन् । उनी त्यहाँ पालिकाभरका सर्वसाधारणको उपचार आयुर्वेदिक विधिबाट गर्छन् ।

आयुर्वेदिक उपचारको प्रभाव ढिला देखिने भएकाले यसप्रति मानिसहरू कम विश्वास गर्छन् । तर यसको औषधोपचार भने प्रभावकारी हुने चिकित्सकहरू बताउँछन् ।

प्रदेश सरकारले वैद्य उपलब्ध गराएपछि किस्पाङ गाउँपालिकाले आयुर्वेदिक औषधिसहित सुविधा आफैं उपलब्ध गराउने गरेको छ । यो आरोग्य केन्द्रले अहिले पालिकाबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको छ । ‘यहाँ दैनिक उपचार गर्न आउने बिरामी बढिरहेका छन्’, वैद्य बस्याल भन्छन्, ‘खासगरी पाको उमेरकाहरू सेवा लिन यहाँ धेरै आउने गरेका छन् ।’

पालिकाले स्थानीय आयुर्वेदिक औषधिसहितको सुविधा यहाँ उपलब्ध गराइदिएको छ । ‘पालिकाको केन्द्रमै आयुर्वेदिक स्टिम बाथ लिने सुविधा पनि छ । स्थानीय जडीबुटीसहितको यो सुविधा दैनिक १५ देखि २० जनाले लिइरहनु भएको छ’, बस्यालले सुनाए, ‘खासगरी ज्येष्ठ नागरिकहरूलाई यसले राम्रो लाभ गरेको छ ।’

बस्याल पालिकाको केन्द्रसम्म आएका बिरामीको राम्रोसँग जाँच गर्छन् । सकेसम्म राम्रो परामर्श दिएर औषधि पनि सिफारिस गर्छन् । ‘सकेसम्म रोग र समस्या पहिचान गरेर ओखती पनि सिफारिस गर्छौ । हड्डी र नशासम्बन्धी सानातिना समस्याको उपचार यहीँ हुन्छ’, उनी भन्छन्, ‘यो सानो प्रयासले पालिकाप्रति आमजनताको विश्वास बढाउन मद्दत गरेको छ । जाँच प्रक्रियादेखि ओखतीसमेत पालिकाले निशुल्क दिइरहेको छ ।’

दृश्य ४

किस्पाङ–३ काहुलेमा छ किस्पाङ बहुप्राविधिक शिक्षालय । जहाँ पूर्वको संखुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थीहरू प्राविधिक शिक्षा अध्ययन गर्छन् ।

यो पालिकाले बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका विभिन्न प्राविधिक शिक्षा करिब १ लाख ९५ हजारमा पढाउने गरेको छ ।

बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी होस्टेलमै बसेर पढ्छन् । केहीले शिक्षालय वरपरको बजारमा डेरा लिएर पढिरहेका छन् ।

यो प्राविधिक शिक्षालयमा एचए अध्ययनरत संखुवासभाकी संगीता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियंका यादव, सर्लाहीकी अर्पितकुमार दास र रौतहटकी आकृति चौधरीसमेत भेटिए ।

उता बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी पनि यही कलेजमा पढिरहेका छन् । डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ पनि भेटिइन् ।

डिप्लोमा इन फार्मेसी पढिरहेका अछामका नवीन बयक पनि यहाँ भेटिए । सुर्खेतका पवन बराल पनि यहाँ एचए दोस्रो वर्ष अध्ययन गरिरहेका छन् ।

यो शिक्षालयका प्रधानाध्यापक विनोद न्यौपाने सिंगै देशको उपस्थिति यहाँ रहेको बताउँछन् । ‘यहाँ डिप्लोमा शिक्षा कार्यक्रम पालिकाले नै चलाएको छ । पालिकाका अध्यक्ष नै सञ्चालक समिति अध्यक्ष रहन्छन्’, उनले भने, ‘सीटीईभीटीको मान्यता मात्रै मिलेको हो । अरु सबै लगानी पालिकाको हो ।’

उनका अनुसार यो शिक्षालयमा ५२ वर्षका पनि विद्यार्थी छन् । ‘किस्पाङ बहुप्राविधिक शिक्षालय, एचए र फार्मेसी पढाउने पहिलो विद्यालय हो । यहाँ बाबुछोरी पनि विद्यार्थी छन् । हामी कहाँ सातै प्रदेशका विद्यार्थी पढिरहेका छन् । अहिले बागमती ७४, गण्डकी २, कर्णाली ३०, कोशी २, लुम्बनी २, मधेश ४६ र सुदूरपश्चिमका ११ विद्यार्थी पढिरहेका छन् ।’

अर्कातिर ‘पढ्दै कमाउँदै’ नारा नै दिएर पढ्दै कमाउँदै ऐसेलु भूमे नमुना माध्यमिक विद्यालय पनि यहाँ सञ्चालित छ । जसका प्रधानाध्यापक पवनकुमार पौडेलले विद्यार्थीलाई सानैबाट रोजगारमुलक सीप दिलाउने योजना आफूहरूले राखेको बताए ।

दृश्य ४

किस्पाङ भौगोलिक रुपमा जटिल छ । तर यही जटिल भूगोललाई सरल बनाउने प्रयासमा तीनै तहका सरकार लागेका छन् ।किस्पाङकै कांग्रेस नेता बहादुरसिंह लामा मुख्यमन्त्री हुँदा छुट्याएको बजेटले अहिले यहाँ धमाधम सडक निर्माण भइरहेको छ । जटिल भिरालो भूगोलमा पनि सडकले तीब्र गति लिएको छ ।

ठूला ठूला पर्खाला उठाएर भइरहेको सडक निर्माणले संघीयता आएयताको विकासको रफ्तार देखाउँछ । किस्पाङको काहुलेदेखि भाल्चे हुँदै साल्मे जोड्ने सडकले गति लिएको छ । तर विकासको गति भनेजस्तो सहज छैन । तराई–मधेशमा दुई करोडमा हुने विकासको कामका लागि पहाडमा २० करोड चाहिने अवस्था छ ।

‘विकासले गति पक्रिएको छ । धमाधम सडक निर्माण भइरहेको छ । तर हाम्रो भूगोल सजिलो छैन । तराई–मधेशमा केही करोडमा हुने कामका लागि यहाँ बीसौँ करोड खर्च गर्नुपर्ने बाध्यता छ’, प्रमुख प्रशासकीय अधिकृत खतिवडा भन्छन्, ‘यो सबै काम संघीयताकै उपलब्धि हो । हामीले प्रदेश र संघीय सरकासँगको समन्वयमा भौतिक पूर्वाधारका कामलाई तीव्रता दिइरहेका छौँ । हाम्रा इन्जिनियरहरू अहिले प्रायः फिल्डमै हुनुहुन्छ । यसको अर्थ के हो भने सबै पाँचै वडामा भौतिक पूर्वाधार विस्तारको काम तीब्र भएको छ ।’

तर, यहाँसम्म सामान ढुवानी, मानवीय जनशक्ति अभावजस्ता चुनौती पालिकालाई छन् । राजमार्गसरहको सडक निर्माणमा दर्जनको सङ्ख्यामा पनि कामदार लागेका भेटिँदैनन् । सयौँ कामदार लगाएर गरिनुपर्ने पूर्वाधार विकासको काममा केही दर्जन मात्रै खटिँदा चाहेजस्तो परिणाम आउन सकेको छैन ।

किस्पाङले रसुवा र धादिङको रुवी भ्याली जोड्ने गरी सडक मार्ग विस्तारलाई पनि गति दिइरहेको छ । रुवी भ्याली जति चर्चित छ, किस्पाङको भूगोल अझै भर्जिन छ । यहाँका उच्च पहाडी क्षेत्रमा पर्यटक ल्याउन सडकसहितका भौतिक पूर्वाधार सुधारमा पनि पालिकाले काम गरिरहेको छ ।

गाउँ गाउँमा विकास पुगे पनि युवाहरूको विदेश पलायनले चुनौती बढाएको छ । यसको असर कृषि खेतीपाती, पशुपालनदेखि गाउँको विकास निर्माणमा पनि देखिएको छ ।

गाउँपालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने फरक विचार र मान्यता भए पनि विकास निर्माणको सवालमा सबैबीच ठूलो मतभेद नरहेको बताउँछन् ।

‘अध्यक्षदेखि वडाध्यक्षसम्म हामीबीच ठूलो मतभेद छैन । त्यहीकारण पाँचै वडामा विकासलाई गति दिन सम्भव भएको छ’, उनले भने, ‘दल फरक हुँदा देखिने सानातिना समस्या जनप्रतिनिधि बसेर समाधान हुन्छन् । संघीयताको सफल कार्यान्वयनको साझा अभ्यास हामीले गरिरहेका छौँ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ७ : ०० बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको