काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने ‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ ।
‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो शनिबार समापन भएको हो । यसअघि चितवनमा भएको यो प्रदर्शनी यस पटक भने काठमाडौँमा आयोजना गरिएको हो।
एक्स्पोमा स्वदेशी औषधि उद्योगका प्रगति र उत्पादनका साथै विश्वबजारमा आएका नवीनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरू प्रदर्शन गरिएको थियो ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
उनले भने, ‘विश्व परिवेशमा औषधि उत्पादनका लागि विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गरेर नै नेपाली औषधि बनाइरहेका छौँ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो।’ उनले नेपालमा उत्पादित औषधिको गुणस्तरमा कुनै शङ्का नगर्न समेत आग्रह गरे ।

त्यस्तै, एपोनका महासचिव सन्तोष बरालले नेपाली औषधि उद्योगहरूले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गरिरहेको कुरा सर्वसाधारणलाई प्रत्यक्ष देखाउन यो आयोजना प्रभावकारी भएको बताए ।
तीन दिनसम्म चलेको यस एक्स्पोमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागको सहकार्यमा भएको प्रदर्शनीमा २०० भन्दा बढी कक्षहरू (स्टल) रहेका थिए, जसमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको आयोजकले जनाएको छ ।













प्रतिक्रिया