काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनमा हार्छन् भन्ने आफूले कल्पनासमेत नगरेको बताएकी छन् ।
राष्ट्रिय समाचार समितिलाई आइतबार दिएको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो खुलाएकी हुन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएर अबको एकसातामा बिदा हुन लागेकी उनले राससँगको अन्तर्वार्तामा ओलीबारे यस्तो बताएकी हुन् ।
विभिन्न चरणमा ओलीसँग वार्ता गरेर निर्वाचनमा लगेकी कार्कीले कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन् ।
फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरू भएका बेला प्रधानमन्त्री कार्की अहिले ढुक्क छिन् ।
उनले निर्वाचन परिणामले देशमा युवाको प्रभाव र परिवर्तनको चाहना स्पष्ट देखिएको टिप्पणी गरेकी छन्। अहिले देखिएको मतपरिणाम युवाको लहर र जेन–जी आन्दोलनको असरको रूपमा उनले व्याख्या गरिन् ।
प्रधानमन्त्री कार्कीले चुनावी परिणाम आफूले सोचेभन्दा फरक आएको बताइन्। विशेषगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित होलान् भन्ने कल्पना नगरेको उनले बताएकी छन् ।
‘ओलीजीको ३०-४० वर्ष राजनीति गरेको ठाउँ, उहाँका इष्टमित्र र आधार क्षेत्र भएकाले उहाँ हार्नुहोला भन्ने मैले सोचेको पनि थिइनँ,’ उनले भनेकी छन् ।
अन्तिम भेटमा आफूले ओलीलाई राजनीति कस्तो हुन्छ भन्ने उदाहरण दिँदै परिवारकै सदस्यहरू कांग्रेस भए पनि अन्ततः भोट आफ्नै पार्टीलाई दिने गरेको अनुभव सुनाएको पनि उनले उल्लेख गरिन्
‘त्यस्तो होला भन्ने मलाई पनि लागेको थियो,’ उनले भनिन्। प्रधानमन्त्री कार्कीले जनताको मतलाई सबै दलले सम्मान गर्नुपर्नेमा जोड दिइन् । अन्य दलले पाएको मतलाई पनि नयाँ दलले सम्मान गर्नुपर्ने धारणा उनले राखिन्।
‘राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ। तर निर्वाचनपछि जित्नेले अल्पमतलाई पनि बेवास्ता गर्नु हुँदैन,’ उनले भनिन्।
भारतमा इन्दिरा गान्धी पराजित भएर पनि पछि पुनः जितेको प्रसंग स्मरण गर्दै उनले भनिन्, ‘नेपालका परिपक्व नेताहरूलाई पनि जनताले सजिलै बिर्सिँदैनन्।’
कार्कीले अहिले एउटा राजनीतिक लहर देखिए पनि भविष्यमा अर्को लहर आउन सक्ने सम्भावनातर्फ पनि इंगित गरेकी छन् ।













प्रतिक्रिया