काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो गिरावट आयो । वाणिज्य बैंकहरूले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपवापत निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजमा गएको वर्ष २४ प्रतिशत बढीले कटौती भएको देखिएको हो ।
२०८२ सालको बैशाखमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.९८ प्रतिशत रहेकोमा चैत महिनासम्म आउँदा सो ब्याजदरमा गिरावट आएर ४.४९ प्रतिशतमा झर्यो । जुन औसतमा १ दशमलब ४९ अंक र २४ दशमलब ९ अंकको गिरावट हो ।
त्यस्तै, वाणिज्य बैंकहरूको गत बैशाखमा संस्थागत मुद्दतीतर्फको औसत ब्याजदर ४.४१ प्रतिशत रहेकोमा चैत महिनासम्म आउँदा सो ब्याजदर ३.२९ प्रतिशतमा झर्यो । जुन औसतमा १ दशमलब १२ अंक र ३४.०४ प्रतिशतको गिरावट हो ।
सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये अघिल्लो बैशाखमा एनएमबि र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै अर्थात् ६ दशमलब ६ प्रतिशत ब्याजदर प्रदान गरेका थिए । चैत महिनासम्म आइपुग्दा ती दुवै बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, गत बैशाखमा हिमालयन, नेपाल एसबिआई र नेपाल बैंकले व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा थोरै ५ दशमलब ५ प्रतिशत ब्याजदर कायम गरेका थिए । चैतसम्म आइपुग्दा ती बैंकको ब्याजदर क्रमशः ५, ४ दशमलब २५ र ४ दशमलब ५ प्रतिशत ब्याजदर कायम भएको छ ।
संस्थागत मुद्दतीतर्फ गत बैशाखमा सबैभन्दा धेरै अर्थात् ५ दशमलब ६ प्रतिशत ब्याजदर कायम गरेका एनएमबि र एनआईसी एसियाले चैत महिनासम्म आउँदा सो ब्याजदरमा कटौती गरेर ४ प्रतिशत कायम गरेका छन् ।
साथै, संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदरमा गत बैशाखमा सबैभन्दा थोरै अर्थात् ३ दशमलब २५ प्रतिशत ब्याजदर कायम गरेका नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैतसम्म आउँदा ब्याजदरमा कटौती गरेर क्रमशः ३ र २ दशमलब ७५ प्रतिशत कायम गरेका छन् ।
बैंकहरूको २०८२ बैशाख र चैत महिनामा देखिएको मुद्दति ब्याजदरको अन्तर
| बैंक | बैशाख | चैत | ||
| व्यक्तिगत | संस्थागत | व्यक्तिगत | संस्थागत | |
| कृषि विकास | ५.५१ | ३.२५ | ४.११ | २.७५ |
| एभरेष्ट | ६ | ५ | ४.२५ | ३.५ |
| नेपाल बैंक | ५.५ | ४.१५ | ४.५ | ३ |
| कुमारी | ६.०१ | ५.०१ | ४.१२ | ३.५ |
| नेपाल एसबिआई | ५.५ | ४.५ | ४.२५ | २.७५ |
| लक्ष्मी सनराइज | ५.७५ | ४.५ | ४.५ | ३.२५ |
| ग्लोबल आइएमई | ६ | ४.५ | ४.५ | ३ |
| प्राइम | ६.२५ | ४ | ४.१५ | २.७५ |
| सिटिजन्स | ५.६५ | ४ | ४.५ | ३ |
| प्रभु | ६.१ | ५.१ | ४.५५ | २.७५ |
| माछापुच्छ्रे | ६ | ४ | ४.५ | ३ |
| एनएमबि | ६.६ | ५.६ | ५ | ४ |
| स्ट्यान्डर्ड चार्टर्ड | ६.२५ | ३.२५ | ४.११ | २.७५ |
| हिमालयन | ५.५ | ४ | ५ | ४ |
| एनआईएमबि | ६.५ | ५.१ | ४.५ | ३.५० |
| सिद्धार्थ | ६ | ५ | ४.२५ | ३.५ |
| एनआईसी एसिया | ६.६ | ५.६ | ५ | ४ |
| नबिल | ५.७५ | ४.२५ | ४.५५ | ३.५५ |
| सानिमा | ६.०५ | ४.३ | ४.५० | ३.३० |
| राष्ट्रिय वाणिज्य | ६ | ३.५ | ५ | ४ |
| औसत | ५.९८ | ४.४१ | ४.४९ | ३.२९ |













प्रतिक्रिया