परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’ « Khabarhub

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

'परराष्ट्र सम्बन्धमा 'समनिकटता' र 'समदूरी' को अर्थ छैन'


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को दस्ताबेजमा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेको भन्दै उनले यसले नेपालको भूराजनीतिक गरिमामा आँच पुर्‍याउने बताएका हुन् ।

सरकारको प्रतिबद्धता पत्रको बुँदा नं. १४ मा रहेको ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षक अन्तर्गत नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने र ‘समनिकटता’ को नीति अवलम्बन गर्ने उल्लेख छ । सोही विषयलाई लिएर ज्ञवालीले सरकारी दस्ताबेजमा भाषिक प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउन सरकारलाई सचेत गराएका छन् ।

ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने उल्लेख गर्दै नेपालले आफ्नो अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको प्रस्ट पारे । “नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्,” ज्ञवालीले भने, “हाम्रा छिमेकीहरूबीच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।”

उनले सरकारले प्रयोग गरेको ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि असहमति जनाएका छन् । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हुनुपर्नेमा जोड दिँदै उनले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार सम्बन्धका आयाम फरक हुन सक्ने बताए ।

ज्ञवालीका अनुसार सम्बन्धहरूमा सधैँभरि उही मापन र आयतन नरहन सक्ने भएकाले अमूर्त र विवादास्पद शब्दको साटो राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक भाषा चयन गर्नुपर्छ । “सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ,” उनले भने ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : १९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र