सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा « Khabarhub

सरकारी अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन, कवाडी हुने अवस्थामा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी स्वास्थ्य संस्थाहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण दक्ष जनशक्ति अभाव, सञ्चालन व्यवस्थापन कमजोरी र प्रभावकारी अनुगमन नहुँदा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कवाडी बन्ने अवस्थामा पुगेका छन् ।

प्रतिवेदनमा राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै प्रयोगविहीन रहेको उल्लेख छ । त्यस्तै २४ करोड ७७ लाख ९ हजार रुपैयाँ मूल्यका सीटी स्क्यान प्रणाली, १४ थान भेन्टिलेटर, पाँच थान सी–आर्म मेसिनलगायत उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा ७२ लाख ६० हजार रुपैयाँ मूल्यका पाँच थान १२ लिड ईसीजी तथा ३०० सेट उपकरण प्रयोगबाहिर रहेका छन् ।

गजेन्द्र नारायण सिंह अस्पताल मा ४ करोड ९० लाख ९५ हजार रुपैयाँ बराबरका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी प्रणाली, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोग्राफी उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।

त्यसैगरी सिंहदरबार वैद्यखाना विकास समिति मा सिङ्गल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, डबल कोन ब्लेन्डर, अटोमेटिक क्याप्सुल फिल मेसिन, पाउडर फिलिङ मेसिनलगायत ६० प्रकारका औषधि उत्पादनसम्बन्धी उपकरण प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल प्रहरी अस्पताल मा १६ स्लाइस सीटी स्क्यान र १.५ टेस्लाको एमआरआई उपकरणसमेत प्रयोगमा नरहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षमा ९६५ हाइट बोर्ड र ९६५ थान इलेक्ट्रोनिक तौल मेसिन खरिदमा ६ करोड ७३ लाख २१ हजार रुपैयाँ खर्च गरेको भए पनि यसअघि खरिद गरिएका ६ करोड ५३ लाख ९९ हजार रुपैयाँ मूल्यका १ हजार ३३६ इलेक्ट्रोनिक तौल मेसिन तथा २ करोड ४२ लाख ५४ हजार रुपैयाँ बराबरका १३३ थान विभिन्न उपकरणसमेत प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

उता बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल मा क्यान्सर उपचारमा प्रयोग हुने टेलिथेरापी मेसिन चार वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा बंकरमा राखिएको छ । प्रतिवेदनअनुसार मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गए पनि विकिरणको जोखिम भने कायम रहेको छ ।

महालेखा परीक्षकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको सञ्चालन अवस्था अनुगमन गरी विस्तृत लगत तयार गर्न तथा प्रभावकारी उपयोग सुनिश्चित गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ४ : ५४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद