ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड « Khabarhub

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल-जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटमा दुवै नेताले आर्थिक सम्बन्धलाई सुदृढ बनाउने र इराकको तेल उत्पादन बढाउने प्रतिबद्धता जनाएका छन् ।

यसअघि राजनीतिमा कुनै पृष्ठभूमि नभएका व्यवसायी अल-जैदीलाई राष्ट्रपति ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले इराकका पूर्वप्रधानमन्त्री नूरी अल-मालिकीको खुला विरोध गरेपछि गत अप्रिलमा इरानसँग निकट मानिने विवादास्पद नेता अल-मालिकी प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए । त्यसलगत्तै अल-जैदी प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री अल-जैदीको अमेरिका भ्रमणका क्रममा तेल र ग्याससम्बन्धी धेरै सम्झौता हुने इराकी सरकारले अपेक्षा गरेको छ । ओभल अफिसमा भएको भेटमा राष्ट्रपति ट्रम्पले पनि धेरै सम्झौता गर्ने वाचा गरेका छन् । ट्रम्पले अल-जैदीलाई “एक उत्कृष्ट र नयाँ च्याम्पियन” को संज्ञा दिए ।

“इराकको तेल र अन्य स्रोतका कारण त्यहाँ ठूलो सम्भावना छ,” ट्रम्पले भने, “हामी दुवै देशका लागि रोजगारी सिर्जना गर्नेछौँ र ठूलो मात्रामा तेल निकाल्नेछौँ ।”

यसैगरी, प्रधानमन्त्री अल-जैदीले आफ्नो यो भ्रमण विगतका भ्रमणभन्दा फरक रहेको र यसले दुई देशबीचको “आर्थिक साझेदारी” को सुरुवात गर्ने बताए । उनले अमेरिका-इराक सम्बन्ध सैन्य साझेदारीबाट आर्थिक साझेदारीतर्फ रूपान्तरण भइरहेको उल्लेख गरे ।

दुवै नेताका अनुसार इराकमा बाँकी रहेका झन्डै २ हजार अमेरिकी सैनिक आगामी सेप्टेम्बर ३० सम्ममा पूर्ण रूपमा फिर्ता हुनेछन् । सोही मितिसम्म इराकमा सक्रिय रहेका सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्ने प्रतिबद्धता पनि जैदीले जनाएका छन् ।

पछिल्लो समय इराकमा अमेरिकी सैनिकको उपस्थिति र इरान समर्थित सशस्त्र समूहहरूको प्रभावका कारण वासिङ्टन र तेहरानबीच शक्ति संघर्ष चल्दै आएको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै संसदमा सम्बोधन गर्दै अल-जैदीले सन् २००३ को युद्धयता सक्रिय रहेका अर्धसैन्य बलहरूलाई निःशस्त्रीकरण गर्ने घोषणा गरेका थिए । यद्यपि, उनले यो महत्त्वाकांक्षी लक्ष्य कसरी पूरा गर्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनको अमेरिका प्रस्थान हुनुअघि इरान समर्थित सशस्त्र समूहहरूको सञ्जाल ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले जैदीको भ्रमणबाट आउने जुनसुकै परिणामलाई अस्वीकार गर्ने चेतावनी दिएको थियो ।

इराकको अर्थतन्त्र इरानद्वारा हर्मुज मार्ग बन्द गरिएका कारण निकै प्रभावित भएको छ । इराकको दैनिक ३४ लाख ब्यारेल इन्धन निर्यातको ९० प्रतिशत हिस्सा यही जलमार्ग भएर जाने गर्छ । गत जुनमा भएको एक समझदारी पत्र मार्फत अस्थायी रूपमा युद्ध अन्त्य गर्ने, हर्मुज जलमार्ग खोल्ने र इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने प्रयास गरिए पनि हालैका द्वन्द्वले त्यसको भविष्यलाई अन्योलमा पारेको छ ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री अल-जैदीले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) मा इराकले “न्यायोचित हिस्सा” पाउनुपर्ने माग गरे । सन् २०१७ मा पराजित भएको आइएसआइएल (आइएस) सँगको युद्धका कारण देशमा भएको ठूलो विनाशलाई सम्बोधन गर्न इराकले तेल उत्पादनको कोटा बढाउन माग गरिरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ४५ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६