बागलुङमा सिँचाइ सुविधा विस्तार « Khabarhub

बागलुङमा सिँचाइ सुविधा विस्तार


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् । सिँचाइ कुलो र नदी नियन्त्रणका लागि १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए ।

आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् । प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठूलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन् ।

निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उनले बताए । केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन ।

जाउलेपानी–मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा–झिङ्गलबारी–रातामाटा–घम्सिन–सोरबोट–खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उनको भनाइ छ ।

यस्तै, बागपानी–कटुवाल डेरा सिँचाइ योजना, निसीखोला–५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उनले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठूलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो । एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उनको भनाइ छ ।

उनका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ । काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उनले जानकारी दिए ।

‘हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,’ प्रमुख खड्काले भने, ‘सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ ।’

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : ४२ बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा