विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ? « Khabarhub

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

विवादास्पद निर्णयले पाँच टोलीको सपना चकनाचुर



फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको उत्कृष्ट प्रदर्शनले जति चर्चा बटुलिरहेको छ, त्यति नै बहस भिडियो सहायक रेफ्री (भिएआर) र नयाँ प्रविधिबाट गरिएका निर्णयले पनि सिर्जना गरिरहेको छ। प्रतियोगिताका केही निर्णायक खेलमा भएका निर्णयले नतिजाको दिशा नै बदलिएको भन्दै सहभागी टोली, प्रशिक्षक र समर्थकले प्रश्न उठाएका छन्।

सबैभन्दा धेरै विवाद स्विट्जरल्यान्ड र अर्जेन्टिनाबीचको क्वार्टरफाइनलपछि भयो। खेल १–१ को बराबरीमा रहेका बेला स्विस फरवार्ड ब्रिल एम्बोलोलाई भिएआरको सुझावपछि दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाइयो। रेफ्रीले सुरुमा अर्जेन्टिनाका लिएन्ड्रो परेडेसलाई कार्ड देखाएका थिए। तर पुनरावलोकनपछि एम्बोलोले फाउलको अभिनय गरेको निष्कर्ष निकाल्दै निर्णय उल्टाइयो।

१० खेलाडीमा सीमित भएको स्विट्जरल्यान्ड त्यसपछि दबाबमा पर्‍यो र अतिरिक्त समयमा दुई गोल खाँदै ३–१ ले पराजित भयो। स्विस प्रशिक्षक मुराट याकिनले यही निर्णयले खेलको मोड बदलेको दाबी गर्दै यसरी विश्वकपबाट बाहिरिनु निकै पीडादायी भएको प्रतिक्रिया दिएका छन्।

विवाद यतिमै सीमित रहेन। अन्तिम ३२ मा जर्मनीको महत्वपूर्ण गोल पनि भिएआरमार्फत रद्द भयो। गोल हुनुअघि जर्मन खेलाडीले विपक्षी गोलकिपरलाई अवरोध गरेको ठहर गर्दै रेफ्रीले गोल अस्वीकार गरे। खेल पेनाल्टी सुटआउटसम्म पुग्यो, जहाँ जर्मनी पराजित भयो। त्यसको प्रभाव टोलीभित्र पनि देखियो। मुख्य प्रशिक्षक जुलियन नागेल्समानले पद छाडे भने उनको स्थानमा योर्गन क्लोप आउने चर्चा सुरु भएको छ।

क्रोएसियाको विश्वकप यात्रा भने नयाँ ‘कनेक्टेड बल टेक्नोलोजी’ का कारण टुंगियो। पोर्चुगलविरुद्ध इन्जुरी समयमा गरेको बराबरी गोल बलभित्र जडान गरिएको सेन्सरले अत्यन्तै सानो स्पर्श देखाएपछि अफसाइड ठहर गर्दै रद्द गरियो। फिफाका अनुसार बलभित्रको सेन्सरले प्रतिसेकेन्ड ५०० पटक डेटा संकलन गरेर यस्तो सूक्ष्म स्पर्शसमेत पत्ता लगाउन सक्छ। तर क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचले यस्तो प्रविधिले फुटबलको प्राकृतिक रोमाञ्च घटाएको टिप्पणी गरेका छन्।

इजिप्ट पनि विवादबाट बच्न सकेन। अर्जेन्टिनाविरुद्ध गरेको महत्वपूर्ण गोल भिएआरले त्यसअघि फाउल भएको निष्कर्ष निकाल्दै रद्द गरिदियो। त्यसपछि अर्जेन्टिनाले खेलमा शानदार पुनरागमन गर्दै जित निकाल्यो। इजिप्ट फुटबल संघले यस निर्णयविरुद्ध फिफामा औपचारिक उजुरीसमेत दर्ता गरिसकेको छ।

यस्तै, इङ्ग्ल्याण्डसँगको क्वार्टरफाइनलमा नर्वेले पनि दुई विवादास्पद निर्णयको सामना गर्‍यो। स्पाइडरक्यामको तारमा बल लागेको दाबी अस्वीकार गरियो भने अर्को गोल पनि कर्नरअघि भएको फाउल देखाउँदै भिएआरमार्फत रद्द गरियो।

फिफाले भने नयाँ नियम र अत्याधुनिक प्रविधिले निर्णयलाई अझ सही, छिटो र निष्पक्ष बनाएको दाबी गर्दै आएको छ। तर प्रतियोगितामा सहभागी टोली, प्रशिक्षक र समर्थकको धारणा फरक छ। उनीहरूका अनुसार अत्यधिक प्राविधिक हस्तक्षेपले खेलको स्वाभाविक प्रवाह मात्र होइन, भावनात्मक पक्ष र रोमाञ्च पनि कमजोर बनाइरहेको छ।

विश्वकपको उपाधि दौड अब अन्तिम चरणमा पुगेको छ। तर मैदानभित्रको खेलभन्दा बाहिर ‘भिएआर सही कि गलत?’ भन्ने बहस अझै रोकिएको छैन। प्रविधिले न्याय दिएको हो कि नयाँ विवाद जन्माएको हो भन्ने प्रश्नको उत्तर भने फुटबल समर्थकले अझै खोजिरहेका छन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ४० बजे

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने

काठमाडौं– नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन