‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक « Khabarhub

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस’ विधाका लागि पाँच खेलाडीको नाम सार्वजनिक भएको छ।

यस विधामा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्टका रवीन्द्र ढाँट मनोनयनमा परेका छन्।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीका अनुसार विसं २०८२ भरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्येबाट पाँच जनालाई छनोट गरिएको हो। वर्षभरि सफलता हासिल गरेर चर्चामा रहेका तथा सफलताका बाबजुद ओझेलमा परेका खेलाडीलाई मनोनयनमा समेटिएको उनले बताए।

‘पिपल्स च्वाइस’का विजेता जनताको मतदानबाट चयन हुनेछन्। यसका लागि खेल पत्रकार, राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक तथा खल्तीमार्फत प्राप्त मतलाई आधार बनाइनेछ।

यसपटक मतदान प्रक्रियामा नयाँ व्यवस्था गरिएको छ। विगतमा समर्थकले आफूले चाहेको रकम बराबरको मत एकैपटक दिन सक्ने व्यवस्था रहे पनि यसपटक एक समर्थकले एक दिनमा एकपटक मात्रै मतदान गर्न पाउनेछन्। एउटा प्रयोगकर्ता अकाउन्टबाट दिनमा एक भोट गर्न सकिनेछ र त्यसका लागि १० रुपैयाँ शुल्क तोकिएको छ। समर्थकले भने प्रत्येक दिन मतदान गर्न पाउनेछन्।

मतभारमा खल्तीको हिस्सा ५० प्रतिशत हुनेछ। बाँकी ५० प्रतिशत मत सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त हुनेछ।

एनएसजेएफले यस वर्षको मतदानका लागि खल्ती बाई आइएमईसँग सम्झौता गरेको छ। सम्झौतामा खल्ती बाई आइएमईकी प्रमुख पूजा धामी र एनएसजेएफ अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे।

‘पिपल्स च्वाइस’को विजेताले एक थान पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। गत वर्षको अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका थिए।

मनोनयनमा परेका खेलाडीमध्ये मीना सुनारले काभा महिला भलिबल प्रतियोगितालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेकी छन्। उनी एभरेष्ट महिला भलिबल क्लब, बुटवलकी कप्तानसमेत हुन्।

फुटबलकी पूजा रानाले नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्नुका साथै भुटानको ट्रान्सफर युनाइटेड क्लब, बङ्गलादेशको फरासगन्ज एफसी र नासरिक स्पोर्टस् एकेडेमीबाट समेत खेलेकी छन्।

करातेकी सानुमाया थिङले इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातातर्फ छनोट चरण पार गरेकी थिइन्। दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उनले टिम कातातर्फ स्वर्ण तथा एकल कातातर्फ रजत पदक जितेकी छन्। उनी एसियाली खेलकुदको एकल काता र टिम काताका लागि समेत छनोट भएकी छन्।

क्रिकेटका शेर मल्लले आईसीसी टी–२० विश्वकपमा डेब्यु खेलको पहिलो बलमै विकेट लिएर चर्चा कमाएका थिए। मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा हङकङविरुद्ध चार विकेट तथा मलेसियाविरुद्ध तीन विकेट लिएका उनले नेपाल प्रिमियर लिगका दुवै संस्करणमा च्याम्पियन टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जित्दा उनी दुवै टोलीका सदस्य थिए।

मिक्स मार्सल आर्टका रवीन्द्र ढाँटले गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ को बेन्टमवेट उपाधि जितेका थिए। एसिया प्यासिफिक क्षेत्रमा २०५औँ वरियतामा रहेका रवीन्द्र रोड टु यूएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन्।

पल्सर स्पोर्टस् अवार्ड आगामी भदौ १८ गते आयोजना हुँदैछ। कार्यक्रममा ‘पिपल्स च्वाइस’सँगै वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी विभिन्न नौ विधामा सम्मान प्रदान गरिनेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ८ : ४१ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार