एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा गति सुस्त बनाउनुपर्ने आवाजको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानुनी दायित्वले प्रविधि कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जुकरबर्गले एआई प्रणालीले प्रयोगकर्ताको निर्देशनअनुसार काम गर्न नसके वा गलत व्यवहार गरेमा मानिसले त्यस्ता प्रणाली प्रयोग गर्न छाड्ने बताए। त्यसैले आफ्ना एआई प्रणालीलाई मानिसको चाहना र निर्देशनअनुसार सही ढङ्गले काम गर्ने बनाउन कम्पनीहरूमाथि बलियो व्यावसायिक दबाब रहेको उनको भनाइ छ।
जुकरबर्गका अनुसार एआई प्रणालीलाई मानवको निर्देशन र चाहनाअनुसार विश्वसनीय रूपमा काम गर्न सक्ने बनाउनु सुरक्षित र भरपर्दो एआई विकासको महत्वपूर्ण पक्ष हो। उनले एआईको विकासमा सुरक्षा र जिम्मेवारीलाई बेवास्ता गर्नुपर्ने धारणा भने नरहेको स्पष्ट पार्दै विकासको गति रोक्नु नै जोखिम न्यूनीकरणको एकमात्र उपाय नभएको संकेत गरे ।
एआईको तीव्र विकाससँगै यसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे विश्वभर बहस चलिरहेका बेला जुकरबर्गको यस्तो धारणा आएको हो। विशेषगरी अत्याधुनिक एआई एजेन्टलाई इन्टरनेटमा स्वतन्त्र रूपमा काम गर्न दिने विषयले सुरक्षा चिन्ता बढाएको छ।
गत जुलाईमा च्याटजीपीटी निर्माता ओपनएआईले परीक्षणका क्रममा आफ्ना सयौँ एआई एजेन्ट परीक्षण वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा जोडिएको र वेबसाइटमा अनधिकृत प्रवेश गरेको घटना सार्वजनिक गरेको थियो। उक्त घटनाले एआई प्रणालीलाई वास्तविक इन्टरनेट वातावरणमा प्रयोग गर्दा आवश्यक सुरक्षा नियन्त्रण र परीक्षण कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न पुनः उठाएको थियो।
एआईको सुरक्षा र विकाससम्बन्धी बहसकै क्रममा ओपनएआई, एन्थ्रोपिक र गुगललगायत प्रमुख प्रविधि कम्पनीहरू एआईका लागि साझा सुरक्षा मापदण्ड निर्माण गर्ने विषयमा छलफल गरिरहेका छन्। एआई प्रणालीको क्षमता तीव्र रूपमा बढिरहेका कारण विकाससँगै जोखिम मूल्याङ्कन र सुरक्षा परीक्षणलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा उद्योगभित्र बहस हुँदै आएको छ।
एन्थ्रोपिकका सीईओ डारियो अमोदेईसहित प्रविधि क्षेत्रका केही नेतृत्वकर्ताले भने एआई विकासको गति केही समय घटाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। उनीहरूको तर्क एआई प्रणाली थप शक्तिशाली हुँदै जाँदा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र विकासमा पर्याप्त समय दिनुपर्ने भन्नेमा केन्द्रित छ।
तर जुकरबर्गले एआई विकासमा बाह्य दबाब वा नियामकीय हस्तक्षेपको प्रतीक्षा गर्नुभन्दा कम्पनीहरूले आफ्नै उत्पादनको सुरक्षा परीक्षण र सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
उनले मेटाले आफ्ना एआई प्रणालीमध्ये ‘म्युज’ सार्वजनिक गर्नुअघि सुरक्षा परीक्षणका लागि केही महिना ढिलाइ गरेको उदाहरणसमेत प्रस्तुत गरे। यसबाट कम्पनीहरूले उत्पादन सार्वजनिक गर्नुअघि आवश्यक सुरक्षा परीक्षण गर्न सक्ने र त्यसका लागि बाह्य दबाब आवश्यक नपर्ने उनको तर्क छ।
जुकरबर्गले एआई प्रणालीको सुरक्षा र क्षमता परीक्षणमा स्वतन्त्र मूल्याङ्कनकर्ताको भूमिका महत्वपूर्ण हुने बताए। उनका अनुसार एउटै संस्था वा सीमित समूहमा निर्भर हुनुको सट्टा एआई उद्योगभरि ठूलो, स्वतन्त्र र विविध मूल्याङ्कनकर्ता समूह आवश्यक छ।












प्रतिक्रिया