नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै « Khabarhub

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका अवतारका रूपमा लिइन्छ । 

उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

त्यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ६ : ०१ बजे

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र