रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ ।
लगत कट्टा गरिएकामध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् । उद्योग तथा व्यावसायिक फर्म बन्द हुने क्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसले नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य भए पनि पुराना उद्योग तथा व्यवसाय बन्द भइरहनुले जिल्लाको व्यावसायिक वातावरणबारे चासो बढाएको छ ।
आर्थिक वर्ष २०८२/८३ सम्म रूपन्देहीमा २० हजार पाँचवटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन र बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।
सूचना अधिकारी परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ६० लाख तीन हजार ४८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्नसमेत सूचना आह्वान गरिएको उनले जानकारी दिए ।
व्यवसायीका अनुसार कारोबारमा कमी आउनु, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रति असन्तुष्टि बढ्नु उद्योग तथा व्यवसाय बन्द हुनुका प्रमुख कारण हुन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेपछि लगत कट्टा गर्ने गरेका छन् भने कतिपयले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ ।
भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ ।
नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहे पनि पुराना फर्म बन्द हुने क्रमले व्यवसायलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ । उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीमैत्री वातावरण बनाउन सके स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया