चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने ई–टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् ।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले ई–टिकटिङ प्रणालीको उद्‌घाटन गरेका हुन् । 

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले ई–टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताए। शिवपुरी राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनको भनाइ छ ।

उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट संकलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ ई–टिकटिङ अति आवश्यक देखिएको हो ।’

 उनले नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्ने बताए। प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उनले जानकारी दिए ।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा ई–टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए। दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे।

उनले भने, ‘प्रविधि प्रयोग गर्दा सुरुमा केही अन्योल हुन सक्छ । तर, मोबाइलमा विभिन्न एप चलाउने हामीले मोबाइल बैंकिङ प्रयोग गर्न पनि हिचकिचाउनु हुँदैन । यो सुरुआती चरण हो । प्राविधिक रूपमा देखिने समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्छ ।’

उनले इ-टिकटिङ प्रणालीलाई थप प्रभावकारी बनाउन पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेट्नुपर्नेमा जोड दिए । टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो। 

सांसद ढकालले निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको पनि जानकारी दिए ।

निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन् । पर्यटक यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आउने गरेका छन् । 

निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन रु १५०, सार्क मुलुकका पर्यटकले एक हजार र अन्य विदेशी पर्यटकले रु दुई हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा रु पाँच हजार शुल्क बुझाउनुपर्छ ।

अब पर्यटकको आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड तयार हुने र सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । गत आवमा निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १० : १२ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ