दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले यस वर्ष तिहारमा सयपत्री फूल बिक्री गरेर नौ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेका छन् ।
तिहारका लागि स्थानीय किसानले उत्पादन गरेको दुई हजार ७६० किलोग्राम सयपत्री फूल बिक्री भएको हो । स्थानीय उत्पादनले बजार पाएपछि किसान उत्साहित भएका छन् ।
किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजार र आफ्नै बारीबाट फूल बिक्री गरेका थिए । स्थानीयस्तरमै उत्पादन भएको फूल उपभोक्तासम्म पुग्दा किसानले आम्दानीको अवसर पाउनुका साथै तिहारमा बाहिरबाट फूल आयात गर्नुपर्ने निर्भरता पनि घटेको छ ।
यस वर्ष सबैभन्दा बढी फूल बिक्री गर्ने किसान मुक्ति सिग्देलले ६८५ किलोग्राम सयपत्री बिक्री गर्नुभएको छ । त्यस्तै, सुदीप रेग्मीले ३८५, शान्ति भण्डारीले २००, सुरज वाग्लेले १७० तथा ओमप्रकाश पौडेल, विनोद विश्वकर्मा र चन्द्रकला राईले जनही १५० किलोग्राम फूल बिक्री गरेका छन् ।
त्यसैगरी, महेन्द्रकुमार श्रेष्ठले १२०, मञ्जु श्रेष्ठले १०५ र सन्तोष भट्टराईले १०० किलोग्राम फूल बिक्री गरे ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थानीय किसानले उत्पादन गरेको फूलले बजार पाउनु सकारात्मक भएको बताए। स्थानीय उत्पादनको प्रवर्द्धन र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न बजारको पहुँच महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
किसान सुरज वाग्लेले उत्पादन गरेको सयपत्री फूलले बजार पाएपछि आफू उत्साहित भएको बताए। स्थानीय उत्पादनले उपभोक्ताको माग पूरा गर्न सके फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न किसानलाई प्रोत्साहन मिल्ने उनले बताए।
तिहारमा घर, मठमन्दिर तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा सयपत्री फूलको प्रयोग बढी हुने गर्छ । चाडपर्वमा बढ्ने मागलाई लक्षित गरी स्थानीय किसान फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।














प्रतिक्रिया