काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक विपद्बाट नागरिकको ज्यान र जीविकोपार्जन जोगाउन पूर्वसूचना प्रणालीलाई समयमै प्रभावकारी पूर्वतयारीसँग जोड्न आह्वान गरेका छन् ।
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत ‘सबैका लागि पूर्वसूचना’ विषयक विशेष सत्रलाई सम्बोधन गर्दै उनले पूर्वसूचना प्राप्त भएपछि त्यसअनुसार सुरक्षित कदम चाल्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
महासचिव चापागाईंका अनुसार सन् २०२५ मा पूर्वसूचनामा आधारित पूर्वतयारीले ५४ देशका ९६ लाख नागरिकलाई विपद्को असर पर्नुअघि नै आफ्नो ज्यान र जीविकोपार्जन सुरक्षित गर्न सहयोग गरेको थियो । उनले विपद् आउनुअघि गरिने तयारी मानवीय दायित्व मात्र नभई आर्थिक र सामाजिक क्षति न्यूनीकरण गर्ने दूरदर्शी निर्णयसमेत भएको बताए।
उनले सन् २०२२ मा ‘सबैका लागि पूर्वसूचना’ अभियान सुरु भएयता पूर्वतयारीका लागि नीतिगत संरचना बनाउने देशको सङ्ख्या ३५ बाट बढेर ७५ पुगेको जानकारी दिए । पछिल्लो समय विश्वका झन्डै ४० प्रतिशत देशमा विपद् आउनुअघि नै आवश्यक तयारी सुरु गर्न सकिने पूर्वसूचना प्रणालीको स्पष्ट संयन्त्र क्रियाशील रहेको उनले बताए।
पूर्वसूचना प्राप्त हुने र त्यसअनुसार सुरक्षित कदम चाल्ने अवस्थाबीच अझै ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले विपद् प्रभावित क्षेत्रका पाँचमध्ये चार जनाले पूर्वसूचना पाए पनि तीनमध्ये एक जनाले त्यसअनुसार सुरक्षित कदम चाल्न नसकेको तथ्य प्रस्तुत गरे।
‘सूचना पाएर पनि आवश्यक प्रतिकार्य गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘विपद् आउनुअघि गरिने पूर्वतयारीमा लगानी गर्नु भनेको नागरिकको ज्यान, जीविकोपार्जन र आत्मसम्मान जोगाउनु हो । यसले विपद्पछिको ठूलो आर्थिक तथा मानवीय क्षति रोक्न सहयोग गर्छ ।’
मानवीय सहायताका स्रोत सीमित हुँदै गएको अवस्थामा विपद् आएपछि गरिने उद्धार र राहतमा मात्र निर्भर भएर नपुग्ने उनको भनाइ थियो । सङ्कट आउनुअघि नै आवश्यक कदम चालेर विपद्पछिको क्षति र उद्धारको आवश्यकता घटाउनुपर्ने उनले बताए।
महासचिव चापागाईंले सन् २०२७ पछि पनि ‘सबैका लागि पूर्वसूचना’ अभियानलाई निरन्तरता दिन राजनीतिक इच्छाशक्ति, दिगो आर्थिक स्रोत र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । उनले सन् २०२७ लाई अभियानको अन्तिम गन्तव्य नभई महत्वपूर्ण कोसेढुङ्गाका रूपमा लिनुपर्ने बताए।
उनले पूर्वसूचना प्रणाली समुदायको अपनत्वमा आधारित हुनुपर्नेमा जोड दिँदै स्थानीय बासिन्दालाई प्रणालीको अन्तिम उपभोक्ताका रूपमा नभई यसको महत्वपूर्ण साझेदारका रूपमा लिनुपर्ने बताए। जोखिमसँग दैनिक जुधिरहेका स्थानीय समुदायलाई आफ्ना आवश्यकता, कमजोरी र सम्भावित समाधानबारे सबैभन्दा बढी जानकारी हुने उनको भनाइ थियो ।
आधुनिक प्रविधिले स्थानीय अनुभव र ज्ञानलाई वैज्ञानिक पूर्वानुमान तथा जोखिम विश्लेषणसँग जोड्न सहयोग गरे पनि प्रविधि र मौसम पूर्वानुमानले मात्र नागरिकको ज्यान जोगाउन नसक्ने उनले स्पष्ट पारे। त्यसका लागि राजनीतिक प्रतिबद्धता, पर्याप्त लगानी, साझेदारी र समयमै गरिने ठोस कदम आवश्यक रहेको उनले बताए ।
सरकारहरूले स्थानीय समुदाय, राष्ट्रिय रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय संस्था तथा विकास साझेदारसँगको सहकार्यमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको आग्रह थियो ।
पूर्वसूचनाको सफलता जारी गरिएका सूचनाको सङ्ख्याले नभई सम्भावित विपद्लाई ठूलो मानवीय सङ्कट बन्नबाट रोक्न सकिएको आधारमा मापन हुनुपर्ने महासचिव चापागाईंले बताए।














प्रतिक्रिया