नोम पेन्ह- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्ताबाट आफ्नो देशको अटोमोबाइल उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने सङ्केत गरेका छन् ।
कम्बोडियामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकतामा रहे पनि त्यसबाट अपेक्षित परिणाम नआए युरोपेली, चिनियाँ र जापानी अटोमोबाइल कम्पनीसँग सहकार्य गर्ने विकल्प खुला रहेको बताए।
अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीच विकसित एकीकृत अटोमोबाइल उद्योग प्रभावित भइरहेको उनको भनाइ थियो ।
कार्नीका अनुसार क्यानाडामा चिनियाँ लगानी भित्रिए पनि त्यो आयातित पार्टपुर्जा जोडेर सवारीसाधन उत्पादन गर्नेमा मात्र सीमित हुनुहुँदैन । क्यानाडामै उत्पादन केन्द्र स्थापना, रोजगारी सिर्जना, श्रम मापदण्डको पालना र स्वदेशी आपूर्ति शृङ्खलाको विकास हुनुपर्छ । विद्युतीय सवारीसाधन उत्पादनमा क्यानाडाका महत्त्वपूर्ण खनिज स्रोतको उपयोगसमेत गरिनुपर्ने उनले बताए।
क्यानाडाले गत जनवरीमा चिनियाँ विद्युतीय सवारीसाधनमाथिको भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो । त्यसअनुसार सुरुमा वार्षिक ४९ हजार चिनियाँ सवारीसाधन आयात गर्न दिने सहमति भएको थियो । यसको बदलामा चीनले क्यानाडाको क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो ।
उक्त सम्झौताबाट चिनियाँ लगानी आकर्षित गर्नुका साथै क्यानाडामा रोजगारीका अवसर सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ ।
यद्यपि, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई क्यानाडाको बजारमा प्रवेश दिँदा स्वदेशी रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरे।
अमेरिकी अटोमोबाइल कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका उत्पादन केन्द्र क्यानाडा, अमेरिका र मेक्सिको तीनवटै मुलुकमा छन् । ती कम्पनीको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल कम्पनीहरूलाई क्यानाडाबाट उत्पादन अमेरिका सार्न दबाब दिँदै आएका छन् । यसैबीच, स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएको छ ।
यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटोमोबाइल उद्योगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । कार्नीले शनिबार अमेरिकी राष्ट्रपति ट्रम्प र उच्च अधिकारीहरूसँगको व्यापार वार्तामा प्रगति भए पनि केही मतभेद अझै बाँकी रहेको बताएका थिए।














प्रतिक्रिया