काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रमलाई मंसिरमा पनि निरन्तरता दिएका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ३.९०६ प्रतिशतमा झरेको छ । कात्तिकमा यस्तो दर ४.०१३ प्रतिशत थियो ।
ब्याजदर घटाउने क्रम पछिल्ला महिनामा पनि निरन्तर देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर साउनमा ४.१६७५ प्रतिशत, भदौमा ४.१३६० प्रतिशत र असोजमा ४.०८९६ प्रतिशत थियो ।
मंसिरमा ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन् ।
मंसिर महिनाका लागि सानिमा बैंकले सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर उपलब्ध गराउने जनाएको छ । सामान्यतः बैंकहरूले छोटो अवधिको तुलनामा लामो अवधिको मुद्दती निक्षेपमा बढी ब्याजदर दिने गरेका छन् ।
बैंकमा नयाँ मुद्दती खाता खोल्ने तथा मंसिरमा अवधि समाप्त भएर नवीकरण गर्ने निक्षेपकर्ताका लागि मात्रै नयाँ ब्याजदर लागू हुनेछ । यसअघि नै मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने खाता खोल्दाको सम्झौताअनुसार नै ब्याज पाउनेछन् ।
बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु र कर्जा प्रवाहको वृद्धि सुस्त रहनुले निक्षेपको ब्याजदर घटाउन बैंकहरूलाई सहज भएको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्ने अपेक्षा गरिन्छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्दै आएको छ ।














प्रतिक्रिया