बेइजिङ- चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । विश्वका तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई अन्तर्राष्ट्रिय कूटनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीले नोभेम्बर १९ मा शेन्जेनमा अमेरिकी र रुसी समकक्षीसँग भेटवार्ता गर्ने उल्लेख गरेको छ । यद्यपि बैठकको कार्यसूची र छलफलका विषयबारे मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
उक्त भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा नोभेम्बर १७ र १८ मा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिखर सम्मेलनको सन्दर्भमा हुन लागेको हो । चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (सीसीपीआईटी) का अनुसार सम्मेलनमा राष्ट्रपति सीसहित एपेकका १२ सदस्य अर्थतन्त्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
सिन्ह्वाका अनुसार परिषद्का उपाध्यक्ष ली छिङ्सुआङले सम्मेलनमा अस्ट्रेलिया, क्यानाडा, चिली, हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड, भियतनाम र चीनका प्रतिनिधिहरूले विभिन्न सत्रमा सहभागिता जनाउने जानकारी दिए ।
सम्मेलनमा राजनीतिक नेतृत्वका साथै विश्वका ठूला व्यावसायिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ । फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका ११५ कम्पनीका कार्यकारी सम्मेलनमा सहभागी हुनेछन् । सहभागी विदेशी प्रतिनिधिमण्डलमध्ये अमेरिकी उद्यमहरूको सङ्ख्या सबैभन्दा बढी रहने र सम्मेलनमा सहभागी कम्पनीमध्ये करिब २० प्रतिशत अमेरिकी हुने लीले जानकारी दिएका छन् ।
सम्मेलनमा अमेरिका, रुस र जापानका व्यापारिक सङ्घका नेताहरू तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू पनि सहभागी हुनेछन् ।
‘सँगै समृद्धि हासिल गर्ने र भविष्य जित्ने’ नारासहित आयोजना हुने सम्मेलनमा आपूर्ति शृङ्खलालाई थप भरपर्दो बनाउने, क्षेत्रीय व्यापारलाई सहज तुल्याउने तथा डिजिटल र हरित अर्थतन्त्रमा लगानी र सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
यसैबीच, एपेक नेताहरूको आगामी शिखर सम्मेलनका लागि निजी क्षेत्रका नीतिगत सुझाव तयार पार्न एपेक व्यापार सल्लाहकार परिषद्को चौथो बैठक नोभेम्बर १४ देखि शेन्जेनमा सुरु भएको छ । परिषद्ले निजी क्षेत्रका सुझाव समेटेर आगामी नेताहरूको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।














प्रतिक्रिया