काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका २८ वटा रोमाञ्चक खेल सकिएका छन् । लिग चरणको खेल समापनसँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएका छन्।
शीर्ष चारमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले स्थान बनाउँदा यी चार टोलीको लिग यात्रामा नै पूर्णविराम लागेको छ। लिग चरणबाटै घर फर्किन बाध्य भएका चार टोलीको यसपटकको प्रदर्शन भने रोमाञ्चक बन्यो । पोखराले अन्तिम खेलमा तीन सिजनकै सर्वाधिक २२४ रन बनायो । जुन खेलाम कुशल भुर्तेल ९९ रनमा आउट भए ।
- विराटनगर किंग्स: लिग चरणको अन्तिम खेलमा लुम्बिनी लायन्सविरुद्ध सनसनीपूर्ण हार बेहोरेसँगै विराटनगरको प्लेअफ पुग्ने समिकरण बिग्रियो। सुरुवाती खेलहरूमा केही राम्रो प्रदर्शन गरे पनि महत्त्वपूर्ण खेलमा निरन्तरता दिन नसक्दा विराटनगर लिग चरणबाटै बाहिरिन पुग्यो।

- कर्णाली याक्स: अघिल्ला सिजनमा समेत संघर्ष गरेको कर्णालीले यसपटक पनि आफ्नो प्रदर्शनलाई उकास्न सकेन। लिगका अन्तिम चरणका केही खेलमा जित निकालेर पुनरागमनको प्रयास गरे पनि पर्याप्त अंक बटुल्न नसक्दा कर्णालीको यात्रा लिग चरणमै सीमित बन्यो।

- जनकपुर बोल्ट्स: प्रतियोगितामा उच्च जितको दाबेदार मानिएको जनकपुरको यसपटकको प्रदर्शन निकै खस्कियो। ब्याटिङ र बलिङ दुवै विभागमा तालमेल मिलाउन नसक्दा जनकपुरले अपेक्षित नतिजा निकाल्न असफल भयो र प्रतियोगिताबाट बाहिरियो।

- पोखरा एभेन्जर्स: काठमाडौँविरुद्धको अन्तिम खेलमा जित निकालेर अन्तिमसम्म संघर्ष गरे पनि अंक तालिकाको फेदतिरै सीमित रहन पुग्यो। लिगका मध्यवर्ती चरणमा निरन्तर अंक गुमाउनु पोखराको बाहिरीने मुख्य कारण बन्यो।

अब शीर्ष चारमा स्थान बनाउने लुम्बिनी, सुदूरपश्चिम, काठमान्डु र चितवनबीच उपाधिका लागि प्लेअफका रोमाञ्चक भिडन्तहरू हुनेछन्।














प्रतिक्रिया