काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । ओएसआर डिजिटलमार्फत आइतबार सार्वजनिक गरिएको टिजरसँगै निर्माण टिमले फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।
सार्वजनिक टिजरले आधुनिक प्रेम सम्बन्धको आकर्षण, रोमान्स र त्यसमा आउने दरारको कथा संकेत गर्छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो एक प्रेमिल जोडीका रूपमा देखिएका छन् । काठमाडौंका विभिन्न सुन्दर स्थानदेखि तालसम्म सँगै घुम्ने उनीहरूबीचको आकर्षण, निकटता र प्रेमका कुराकानीले सुरुआतमा रोमान्टिक माहोल सिर्जना गर्छ ।
तर, उनीहरूको सम्बन्ध केवल प्रेम र आकर्षणमा मात्र सीमित रहँदैन। एकान्तमा रोमान्स गर्ने र शारीरिक रूपमा नजिकिने जोडीबीच पछि विवादसमेत सुरु हुन्छ । यसले सम्बन्धमा आउने उतारचढाव र आधुनिक प्रेमको अस्थिरतालाई संकेत गरेको छ ।
निर्देशक थापाले नयाँ पुस्ताको प्रेम र सम्बन्धलाई फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । फिल्ममा अर्पण र थिन्लेसँगै रेखा थापा तथा गौरी मल्ललगायत कलाकारको अभिनय छ। फिल्मको कथा पनि अर्पण स्वयंले लेखेका हुन् ।
ए.टी.एफ. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्पण थापा र सौगात बस्नेत हुन्। सुदीप बरालको छायांकन रहेको फिल्ममा दीपक बज्राचार्यको संगीत र मिलन श्रेष्ठको सम्पादन छ ।
माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘फ्रेन्च किस’ले नयाँ पुस्ताको प्रेमकथालाई कस्तो रूपमा प्रस्तुत गर्छ भन्ने चासो यसको टिजर सार्वजनिक भएसँगै बढेको छ ।














प्रतिक्रिया