‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र « Khabarhub

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरूको चहलपहल देखिन्छ । 

हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन् । त्यसैले पछिल्लो समय चुनपहरा चट्टान प्रशिक्षण केन्द्र बनेको छ । 

पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण प्रशिक्षण दिने स्थल बनेको छ । चुनपहरा पथ प्रदर्शक मात्रै नभई नेपाल प्रहरीका जोखिम उद्धार टोली उत्पादनका लागि प्रशिक्षण लिने स्थल बनेको छ । 

नेपाल पर्वतीय पदयात्राका निम्ति उपयुक्त स्थान मानिन्छ । यहाँ आउने विदेशी पर्यटकलाई आकर्षित गर्न तथा दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्य रहेको सिद्ध गुफा संरक्षण समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए । 
    
‘यहाँ विदेशी तथा स्वदेशी साहसिक खेलाडी समय समयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । कम्पनीले दक्ष तथा अनुभवी पथ प्रदर्शक उत्पादन गरिरहेका छन् भने नेपाल प्रहरीको जोखिम उद्धारका लागि  तालिम केन्द्र बनेको छ’, श्रेष्ठले भने, ‘विगतमा सडक विस्तारको क्रममा पहरा कटान गर्ने योजना थियो, पछि हामीले साहसिक खेलको प्रशिक्षण केन्द्र बनायौँ ।’ 

साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै यसलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ । 
    
यहाँ आउने विदेशी पर्यटकलाई राष्ट्रियस्तरको प्रमाण प्राप्त दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्यका साथ पर्वतीय पथ प्रदर्शक प्रशिक्षण भइरहेको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घ गैरीधारा काठमाडौँले जनाएको छ। 

यो एक हप्ताका लागि सञ्चालन हुनेछ । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका महासचिव पासाङ टेण्डी शेर्पाले १७औँ चरणको तालिम यहाँ सञ्चालन भइरहेको जानकारी दिए । 

‘यो साहसिक खेल नेपालको मात्रै नभएर विश्वमा नै प्रसिद्ध छ । यो प्रशिक्षण र सिकाई फिजियोथेरापीसँग पनि सम्बन्धित छ’, उनले भने, “चट्टानको प्राकृतिक जडान सुरक्षित र सजिलो छ ।’
    
महासचिव शेर्पाले नेपालमा चट्टान आरोहण विकासका क्रममा रहेको र चट्टान आरोहणले मानसिक रुपमा पनि तन्दुरुस्त बनाउन सहयोग गर्ने बताउनुभयो । यस स्थानको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ छ । 

नेपाल साहसिक पदयात्रा गर्ने क्षेत्रको रुपमा मानिएको छ भने पर्वतारोहणमा सहज बनाउन प्रशिक्षकको मागअनुसार उपलब्ध गराउन पथ प्रदर्शक उत्पादन गरिरहेको सङ्घले जनाएको छ । 
    
सङ्घका सिनियर प्रशिक्षक लाक्पा राङ्कु शेर्पाले प्रशिक्षणका लागि सीमित क्षेत्र भएकाले सीमित प्रशिक्षार्थीलाई मात्रै प्रशिक्षण दिइरहेको बताए। साहसिक खेलमध्येको चट्टान आरोहणपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शक भएको प्रमाणपत्र दिने गरिन्छ । 

सङ्घले यस पटक एक महिला र ४३ पुरुष गरी ४४ जनालाई प्रशिक्षण दिइरहेको महासचिव शेर्पाले बताए। 

उनले भने, ‘शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि आइस क्लाम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शकको प्रमाणपत्र दिने गरिन्छ ।’
    
‘पथ प्रदर्शकले मौसमको आभास गर्नुपर्ने हुन्छ, त्यसका लागि सिद्धगुफाको चट्टान उपयुक्त छ”, प्रशिक्षक शेर्पाले भने, ‘दक्ष पथ प्रदर्शक उत्पादनका लागि उनीहरुले मौसमको अनुभव गर्नुपर्ने हुन्छ । कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम दिन्छौँ यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ ।’
    
विदेशबाट नेपालका हिमाल आरोहण गर्न आउने गर्छन् । उनीहरुलाई सहज र सुरक्षित रुपमा हिमाल आरोहण गराउने गरी कम्पनीले दक्ष पथ प्रदर्शक उत्पादन गरिरहेको छ । माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षण भएको र यसका साथै आइस क्लाइम्बिङ ९पहिलो चरण० को तालिम प्रदान गरिसकिएको छ । 
    
प्रशिक्षण केन्द्र बनेको विमलनगर चुनपहरा ओझेलमा परेको छ । चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा अभ्यास सकिएपछि दक्ष पथ प्रदर्शकको प्रमाणपत्र प्रदान गरी काम गर्नसक्ने हुन्छ । प्रशिक्षक लाक्मी शेर्पा चट्टान आरोहणको प्रशिक्षणतर्फ महिला पनि आकर्षित भइरहेका बताउनुभयो । जोखिम तथा साहसिक खेलमा महिलाको आकर्षण बढ्दो छ ।  देशैभर दक्ष तथा अनुभवी महिला पथ प्रदर्शक सङ्ख्यात्मक रुपमा कम रहेकाले म पनि गर्न सक्छु भनेर यस क्षेत्रमा लागिरहेका प्रशिक्षक शेर्पाले बताउनुभयो । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाइ छ । 
     
सिद्धगुफाको संरक्षण गर्नुका साथै आरोहण गर्न चट्टान पनि सुरक्षित तवरबाट जोडिएका छन् । प्रचारप्रसार तथा प्रवद्र्धनमा भने उल्लेख्य काम हुन नसकेको स्थानीयको गुनासो छ । पृथ्वी राजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढ्दै गएको छ । 

पथ प्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाको रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् । केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् । यहाँ चट्टान आरोहणको गतिविधि विस्तारै बढ्दै गएको छ । यस क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्नका निम्ति तीनै तहका सरकारका साथै पर्यटन बोर्ड र खेलकुदसँग सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनसकेमा अझ राम्रो हुने देखिन्छ । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : ४८ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने