किसानलाई पतिङर सोहोर्ने चटारो « Khabarhub

किसानलाई पतिङर सोहोर्ने चटारो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी भेगका किसानलाई चटारो छ । वनमा अहिले पतझर (रुखका पात झर्ने) मौसमले गर्दा यसैबेला किसानलाई पतिङर सोहोर्ने चटारो परेको हो ।

महोत्तरी जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका सुदूर उत्तरवर्ती बस्तीमा परवल (मधेसको लहरेविशेष प्रसिद्ध तरकारी) रोपिएसँगै माटोको चिस्यान बचाइ राख्न पतिङरले छोप्ने आम चलन छ । बर्दिबासका खयरमारा, टुटेश्वर, आरनडाँडा, ढुङ्ग्रे, गणन्ता, चेरु, वरडाँडा, सोनापेटी, भब्सी, राइमण्डल र माईस्थानभित्रका २० भन्दा बढी बस्तीमा परवल मुख्य खेती रहँदै आएको छ । परवलबाहेक बेसार, अदुवा र पिँडालुसहितका बाली पनि रोपेपछि पतिङरले छोपिन्छ ।

वनमा अहिले पतझरका बेलालगत्तै पतिङर नसोहोरे केही समयपछि डढेलो लगाइने भएकाले किसानलाई अहिले पतिङर सोहोर्ने चटारो परेको हो । “परवल त अब एकझर पानी परेपछि रोपिन्छ, तर पतिङरचाहिँ सोहोरेर लगी हाल्नुपर्छ,” बर्दिबास–३ राइमण्डलकी कर्णमायाँ गुर्मछाने भन्छिन्, “यसबेला सोहोर्न ढिलो गरे केही पछि वनमा डढेलो सुरु हुन्छ, त्यसैले अरू काम थाती राखेर पतिङर बटुल्छौँ ।” समयले गर्दा अहिले यहाँ वनभरि पतिङर सोहोर्ने भेटिन्छन् ।

यसैगरी, गौशाला नगरक्षेत्रका बेलगाछी, ढल्केवर, भाण्टाबारी, डुमरवाना, बटुवा, इमलीबजार, कालीपुर, कान्तिबजार, पडरिया, डावरी, कुष्माढी र रामनगर ओरपरका २० भन्दा बढी बस्तीका किसान पनि अहिले वनक्षेत्रमा पतिङर सोहोरी रहेका पाइन्छन् । “परवल, अदुवा, बेसार, पिँडालु र अलि पछि आलु छोप्न पनि यही पतिङर चाहिन्छ, अहिले सबै छरछिमेकका यसै कामले आउने हुँदा वन क्षेत्रमा एक्लो पर्ने डर पनि हुँदैन,” पूर्वपश्चिम राजमार्गमुनि गौशाला–८ ढल्केवर नजिकको सागरनाथ वन विकास परियोजनाको प्लटमा पतिङर सोहोर्दै भेटिएकी गौशाला–८ डावरीकी रामरती महतो भन्छिन्, “अहिले सोहोरिएको पतिङर घर लगेर थन्क्याएपछि जतिखेर काम पर्छ ओछ्याउन पाइन्छ ।”

आफै पतिङर सोहोर्न नभ्याएका किसानले पतिङर किन्ने गरेका छन् । पतिङर बेचेर आर्जन गर्ने मनले पनि गरिब बस्तीका बासिन्दा अहिले वनमा छन् । सोहोरेर जम्मा पारिएको पतिङर ठूलठूला बोरामा खाँदेर बयलगाडा र ट्याक्टरबाट घर पुर्‍याएपछि किन्ने ग्राहक धेरै आउने गरेका गौशाला–४ मल्हनियापोखरीको दलित बस्तीका मनका सदा मुसहर बताउँछन् ।

पतिङर बेचेरै हुने आर्जनले घरव्यवहारका कैयौँ खाँचो टार्दै आइएको बर्दिबास–१० खयरमाराको मुसहरीटोलकी अइती सदाको भनाइ छ । यसका अतिरिक्त खाना पकाउने इनधनका लागि पतिङर सोहोर्ने पनि अहिले वन क्षेत्रमा भेटिन्छन् । आफ्नो जग्गाजमिन केही नभएका गरिब बस्तीका बासिन्दा अहिले इन्धनको जोहोमा पतिङर सोहोर्दै छन् ।

नभिज्नेगरी थन्क्याउन पाए बर्खामा खाना पकाउन यही पतिङर बाल्ने गरिएको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरले बताइन् । यसबेला वन क्षेत्रमा झरेका पातपतिङर सोहोरिँदा वन सुरक्षामा पनि सहयोग पुग्ने वन सुरक्षा अधिकारीको ठम्याइ छ । वन क्षेत्रका पतिङर राम्ररी सोहोरिए त्यस्तो ठाउँमा डढेलो नफैलने विगतमा जिल्ला वन कार्यालय महोत्तरीमा लामो कार्य अनुभव सँगालेका अवकाश प्राप्त सहायक वन अधिकृत चन्देश्वर यादव बताउँछन् ।

“पतिङर सोहोरिँदा डढेलो फैलन नदिन सहयोग नै पुग्छ, तर पतिङर सोहोर्न आउनेले असावधानीवस बिडीचुरोटको ननिभाइएको ठुटा त्यतिकै मिल्काउँदा डढेलो लाग्ने गरेको विगत अनुभव छ,” जिल्लाकै औरही–१ का बासिन्दा यादव भन्छन्, “वन सुरक्षामा खटिएका कर्मचारीले पतिङर सोहोर्नेहरूको निगरानी गर्नुपर्छ ।”

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : १८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह