काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।
काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा आज प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरिन् ।
उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताइन् । उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखिन् ।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताइन् ।













प्रतिक्रिया