रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित « Khabarhub

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र सुरु गरिएको छ। धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति गर्ने योजनाअन्तर्गत धवलागिरि गाउँपालिकामै पहिलोपटक कालोपत्र गर्न लागिएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँका अनुसार ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एक लेनमा ‘प्राइमकोड’ (बिटुमिन) बिछ्याउन थालिएको छ। “ग्राभेलमाथि राखेको प्राइमकोड सुकेपछि अर्को चरणमा फेरि बिटुमिन बिछ्याउँछौँ र तेस्रो चरणमा बिटुमिनसँग चिप्स मिसाएर सडकमा बिछ्याइनेछ,” उहाँले भन्नुभयो, “६ किलोमिटर दूरीको यो आयोजना अहिले सम्पन्न हुने चरणमा पुगेको छ।”

पूर्वाधार विकास कार्यालयका अनुसार यस योजनामार्फत हाल ९०० मिटर दूरीमा दुई लेनको कालोपत्र गरिँदै छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम भइरहेको छ। यस आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले जानकारी दिनुभयो।

२०८१ जेठ २० गते रामसागर बीके एसकेबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले हाल संरचना निर्माण, बेस र सब–बेस बिछ्याउने काम सकेको छ। गौथली भीरलगायतका अप्ठ्यारो स्थानमा ढलान गरिएको छ भने सडकलाई ८ मिटर फराकिलो बनाउँदै नाली र पर्खाल निर्माण गरिएको छ।

विसं २०६६ मा सडक पुगेको धारापानी खण्ड धवलागिरि गाउँपालिकाका ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने मुख्य मार्ग हो। गाउँमै पहिलोपटक कालोपत्र सुरु भएपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो। निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्रै काम सक्ने प्रतिबद्धता जनाएको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीका अनुसार यसै सडकअन्तर्गत दरवाङ–धारापानी (७ किमि) र मच्छिम–मुना (४ किमि) खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलानका लागि ५८ करोड ८० लाख ५३ हजार रुपैयाँको अर्को ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। गत असारमा भएको २७ महिने उक्त सम्झौताले म्याग्दीका मंगला र धवलागिरि गाउँपालिकासहित बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ५० किलोमिटर छोटो पर्ने उहाँले बताउनुभयो।

धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी र ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरासम्म गत फागुनमै सडक सञ्जाल जोडिएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ६ : ४० बजे

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले अभिव्यक्ति स्वतन्त्रता,