काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म ‘काजी’ जेठ ८ बाट बल्ल प्रदर्शनमा आउँदैछ । विपिनका अनुसार यो फिल्मको कथा नै फेरिएको हो ।
त्यहीकारण साइन गरिसकेको फिल्म छाड्ने निर्णयमा उनी पुगेका थिए । तर, स्क्रिप्टले उनलाई अडान परिवर्तन गर्न बाध्य बनायो ।
विपिन भन्छन्, ‘टाइटल उही राखेर स्क्रिप्ट परिवर्तन गरिएको थियो । स्क्रिप्ट परिवर्तन भएपछि मैले फिल्म गर्दिनँ भनेको थिएँ । आकाश–पतालकै परिवर्तन भएको थियो । तर, पछिल्लो स्क्रिप्ट पढेपछि म मोहित भएँ ।’
क्लासिक लभस्टोरीको तागतमा आफ्नो अडानले हारेको विपिनको बुझाइ छ । यो फिल्म केही दशकअगाडिको कालखण्डमा बनेको छ ।
फिल्म प्रदर्शनको संघारमा विपिन झन् ‘काजी’प्रति कन्फिडेन्ट देखिन्छन् । भन्छन्, ‘यस्तै कथाहरूले नेपाली फिल्म बजारको स्तरमाथि लैजान्छ भन्ने मेरो बुझाइ छ ।’
त्यो प्रेम देखाउने ‘काजी’
क्लासिक लभस्टोरी जनराको यो फिल्म एक कालखण्डभित्र रहेर बनेको छ । अर्थात्, प्रेम कथा देखाउन विगतका दशकमा फर्किएका छन् । ट्रेलरले पनि यो कुरा पुष्टि गर्छ ।
विपिनको बुझाइमा यो फिल्ममा प्रेमलाई यति गहन रुपमा देखाइएको छ कि दर्शकलाई विश्वास दिलाउन दशक पुरानो कालखण्डमा फर्किन आवश्यक छ ।
भन्छन्, ‘यो दशकौंअघिको समयमा एउटा प्रेम यस्तो पनि थियो है भन्न यो फिल्म बनाइएको हो । अहिलेको परिवेशमा त्यो गहिराइएको प्रेम देखाउँदा दर्शकलाई विश्वास नलाग्न सक्छ । तर, दाबी यति हो कि– यो फिल्ममा दर्शकले नयाँ स्वादको क्लासिक लभस्टोरी दर्शकले हेर्न पाउनुहुनेछ ।’
बक्स अफिसको डर
यस फिल्मकी नायिका केकी अधिकारी हुन् । जो वितिनकी श्रीमतीको भूमिकामा फिल्ममा छन् । प्रचार सामाग्रीमा यी दुवै कलाकारलाई स्थान दिइएको छ ।
यस फिल्मको ट्रेलर, टिजर र गीतले सामाजिक सञ्जालमा मध्यम भ्युज पाएको छ ।
‘मास अपिलिङ’ प्रचार सामाग्री बनेको विपिनको बुझाइ छ । यसकारण फिल्मले बक्स अफिसमा राम्रो गर्नेमा उनी डरभन्दा बढी ढुक्क मानिरहेका छन् ।
भन्छन्, ‘तत्काल मनोरञ्जनका इलिमेन्टहरू नभएका फिल्मलाई मात्रै कमर्सियलन नमान्न मिल्दैन । एउटा राम्रो कथा छ भने त्यो कमर्सियल फिल्म हो । यो मासलाई अपिल गर्न सक्ने फिल्म हो ।’
अब फिल्मको प्रचार सामाग्रीले ‘मास अपिलिङ’ भयो वा भएन त्यो टिकट बुकिङ र सुरुवाती दिनमा हलमा दर्शकको उपस्थितिले निर्धारण गर्छ । व्यापारको हिसाबले भने ‘काजी’ विपिनमा बढी कन्फिडेन्ट भएको फिल्म हो ।
थप्छन्, ‘कुन फिल्महरू आइडिया मन परेर आफ्ना लागि गरिएको हुन्छ । ती फिल्महरूको व्यापार राम्रो हुँदैन भन्ने पहिल्यै थाहा हुन्छ । यो फिल्मचाहिँ मैले बक्स अफिसमा आशा राखेर गरेकोभित्र पर्छ ।’
तर, भदौ २३– २४ को जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले फिल्मको व्यापार कम भएको विश्लेषण सही भएको अवस्थामा ‘काजी’ पनि उक्त कारकको शिकार हुन सक्ने उनलाई डर छ ।

रुवाउने फिल्म हो ?
विपिन आफैँले भनेका छन्, ‘यो फिल्म एउटा गहिरो प्रेमको कथा बनेको छ ।’
ट्रेलरले नै यो फिल्ममा दर्शकलाई भावुक बनाउने परिस्थिति र दृश्यहरू बढी भएको संकेत गर्छ । विपिन पनि यो तत्व फिल्ममा रहेको दाबी गर्छन् ।
अर्कातर्फ अहिले दर्शकलाई रुवाउने फिल्म बनाउने ट्रेन्ड बढ्दो छ ।
दर्शकलाई रुवाउने फिल्म बनाउन कलाकारलाई नै अस्वभाविक रोएको अभिनय गर्न लगाउने प्रवृत्तिको त खुलेआम आलोचना भइरहेको छ ।
‘काजी’ यसबाट कत्तिको टाढा छ त ? यस प्रश्नमा विपिनको जवाफ छ, ‘रोनाधोना गरेर दर्शकको मानसिकतामा खेल्ने हाम्रो प्रयास होइन ।
दर्शकलाई रूवाएर हलमा चाप बढाउने हाम्रो नियत होइन । मेरो चरित्रको कुरा गर्नुहुन्छ भने फिल्ममा एक पटक मात्रै रोएको छु । त्योचाहिँ चाहिने नै भयो । मैले संवादमा पनि कम बोल्ने प्रयास गरेको छु । मेलो ड्रामालाई नियन्त्रण गर्ने प्रयास गरेको छु । मेलोड्रामा (अतिनाटकीयता)लाई विवेकले भ्याएसम्म नियन्त्रण गरेको छु ।’
पात्र निर्माण अल्छी ?
पात्र निर्माणमा दख्खल राख्ने क्षमता पनि विपिन फिल्म क्षेत्रमा स्थापित हुनुको प्रमुख कारण हो । हुन पनि उनका आधा दर्जनभन्दा बढी पात्र दर्शकको प्रिय छन् ।
इन्दु, फडिन्द्र, भस्मे डन र पित्तले डनजस्ता उनले निर्वाह गरेका चरित्र नै विपिनलाई व्यस्त बनाउने कारक हुन् ।
तर, पछिल्लो समय विपिनले निर्माण र निर्वाह गर्ने चरित्रले त्यसरी चर्चा पाएका छैनन्, जुन विगतमा हुने गर्थ्यो ।
अर्थात्, पछिल्ला ६ वटा फिल्ममा उनको क्यारेक्टरको चर्चा नै भएन । ती फिल्म बक्स अफिसमा कमजोर पनि भए ।
पात्र निर्माणमा अल्छी लागेर नभएर अभिनयप्रतिको बुझाइले आफूमा यो परिर्वन आएको विपिनले खुलाए ।
उनी भन्छन्, ‘म अल्छी त भएको होइन । दर्शकलाई राम्रो अभिनय र राम्रो फिल्म दिने मेरो जहिल्यै उद्देश्य र चाहना हो । अभिनयप्रतिको बुझाइले ममा केही परिवर्तन आएको हो ।’
हुलिया परिवर्तन गरेरभन्दा आत्माबाट अभिनय गरेर दर्शकको मन जित्नुपर्छ भन्ने बुझाइ आफूमा हाबी भएको उनले सुनाए ।
‘समयसँगै मेरो अनुभव पनि बढ्यो । अध्यनन र बुझाइको दायरा थप ठूलो भयो । यसले मलाई दर्शकप्रति लोयल हुन सिकायो,’ उनी भन्छन्, ‘पहिला म बढी हुलियामा ध्यान दिन्थेँ । त्यसैले गर्दा दर्शकको मन पनि जितेँ । अब मैले धेरै त्यही विचारमा हिँड्न आवश्यक छैन । आत्माले अभिनय गरेपछि दर्शकले फरक हुलिया खोज्नु हुन्न भन्ने बुझेको छु । त्यसैमा अभ्यासरत छु । आत्माबाट अभिनय गरेर चरित्रलाई वास्तविक बनाउन मेरो ध्यान छ ।’














प्रतिक्रिया