लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु « Khabarhub

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये अझै चार हजार २०१ विपन्न दलित तथा मुसहर परिवारको आफ्नै शौचालय छैन । यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन नगरपालिकाले विशेष रणनीतिसहित अभियान सुरु गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाले गैरसरकारी संस्था दलित जनकल्याण युवा क्लबसँग सहकार्य गर्दै मुसहर बस्तीहरूमा आधुनिक सामुदायिक शौचालय निर्माण कार्यलाई तीव्रता दिएको बताए । उनले हालसम्म नगरका विभिन्न सुकुमवासी बस्तीमा छ वटा सुविधा सम्पन्न सामुदायिक शौचालयहरू निर्माण भई सञ्चालनमा आइसकेको जानकारी दिँदै अन्य क्षेत्रमा क्रमशः विस्तार गरिँदै लगिने बताए ।

लहानलाई शतप्रतिशत शौचालययुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख चौधरीले भने, ‘जग्गा नभएर शौचालय बनाउन नसकेका विपन्न मुसहर परिवारका लागि हामीले छ वटा आधुनिक सामुदायिक शौचालय बनाइसकेका छौँ र अन्य ठाउँमा बनाउने क्रम जारी छ । लहानलाई खुला दिशामुक्त बनाउने यो अभियानलाई सम्पूर्ण नगरवासीले आफ्नो साझा अभियानको रूपमा आत्मसात गरेर सहयोग गर्न म अपिल गर्दछु ।’

अभियानलाई थप प्रभावकारी बनाउन नगरका विभिन्न वडामा ८१ वटा टोलस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समिति गठन गरी तल्लो तहदेखि नै काम सुरु गरिएको त्यस अवसरमा जानकारी दिइयो । यी समितिहरूमा स्थानीय युवा र क्लबहरूलाई सक्रिय बनाउँदै टोलटोलमा घरायसी तथा वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन र पानीजन्य रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।

खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गरिरहेको विकन परियोजनाका प्रबन्धक राजेश लोहनीले अभियानबारे जानकारी दिँदै भने, ‘हामीले टोलस्तरमै समितिहरू गठन गरेर युवाहरूलाई जिम्मेवारी सुम्पिएका छौँ । टोलटोलमा सुरु भएको यो अभियानले घरायसी सरसफाइ र स्वच्छताका सवालमा नागरिकको बानीव्यवहारमा ठूलो परिवर्तन ल्याउने विश्वास लिएका छौँ ।’

नगरप्रमुख चौधरीका अनुसार यही जेठ महिनाभित्र लहान नगरपालिका— ७ लाई औपचारिक रूपमा ‘खुला दिशामुक्त वडा’ घोषणा गर्ने तयारी पूरा भएको छ । वडा नं ७ लाई घोषणालगत्तै नगरका अन्य वडाहरूलाई पनि क्रमिक रूपमा खुला दिशामुक्त र पूर्ण सरसफाइयुक्त वडा बनाउँदै लगिने उनले बताए ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १० : ०२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,