क्यालिफोर्निया- इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई सम्भवतः ‘सम्पूर्ण विश्वकपकै सबैभन्दा बढी दबाबमा रहेको टोली’को संज्ञा दिएका छन्।
उनले टोलीलाई उद्घाटन खेलपछि तत्कालै अमेरिका छाडेर मेक्सिकोको टिजुआना प्रशिक्षण शिविर फर्किन बाध्य पारिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
इरानले सोमबार सोफी स्टेडियममा भएको राजनीतिक रूपमा निकै संवेदनशील मानिएको खेलमा न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको थियो।
तर खेलपछि आयोजित पत्रकार सम्मेलनमा घालेनोईले टोलीको यात्रा व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाए।
विश्वकप सुरु हुनुअघि इरानको आधार शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखिएको थियो ।
जबकि समूह चरणका तीनवटै खेल अमेरिकामै हुँदैछन्। टोलीले प्रत्येक खेलअघि दुई दिन अमेरिका आउने र खेलको भोलिपल्ट फर्किने योजना बनाइएको थियो।
इरानी टोली विश्वकपका लागि आइतबार लस एन्जलस पुगेको थियो। खेल सकिएलगत्तै इरानी टोलीलाई मेक्सिको फर्किन निर्देशन दिइयो।
‘हामीले हवाई यात्रामै धेरै समय बितायौं। आराम गर्ने समयसमेत दिइएन,’ उनले भने, ‘आजको खेलपछि हामीलाई तुरुन्तै फर्किन भनियो। खेलाडीहरू फिट हुन समय आवश्यक हुन्छ, तर हामीलाई टिजुआना फर्किन भनिएको छ, जसले हामीलाई निकै समस्यामा पारेको छ।’
उनले थपे, ‘सायद हाम्रो टोली नै यो विश्वकपको सबैभन्दा बढी दबाब र नियन्त्रणमा रहेको टोली हो।’
घालेनोईले टोलीलाई फर्किन निर्देशन कसले दिएको भन्ने खुलाएनन्। तर इरानका कप्तान मेहदी तारेमीले खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो टोलीको ड्रेसिङ रुममा पुगेको जानकारी दिए।
‘उहाँले सहयोग गर्ने प्रयास गरिरहनुभएको छ, तर कुरा यतिमै सीमित छैन। सबैलाई अवस्था थाहा छ,’ तारेमीले भने, ‘फिफाले हामीलाई अझ बढी सहयोग गर्नुपर्छ। आगामी दिनमा के हुन्छ, हेर्न बाँकी छ।’

तारेमी र घालेनोई दुवैले इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजसहित टोलीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न नदिइएको विषयमा पनि असन्तुष्टि व्यक्त गरे।
‘हाम्रो लागि सबै कुरा अव्यवस्थित र कठिन बनेको छ,’ तारेमीले भने।
महिनौं लामो तनाव र सहभागितामाथिको अनिश्चिततापछि इरान विश्वकपमा सहभागी भएको हो। यसका साथै इरानको पहिलो खेल लस एन्जलसमै राखियो । इरान बाहिरको सबैभन्दा ठूलो इरानी समुदाय बसोबास गर्ने भएकाले अवस्था थप संवेदनशील विषय बनेको थियो।
खेलअघि इरानी राष्ट्रिय गान बज्दा केही दर्शकबाट हुटिङ सुनिए पनि ठूलो संख्यामा उपस्थित इरानी समर्थकले टोलीलाई उत्साहजनक समर्थन दिएका थिए।
घालेनोईले भने, ‘यहाँ धेरै इरानी थिए। उनीहरूका राजनीतिक विचार फरक–फरक हुन सक्छन्, तर सबैले हामीलाई मनदेखि समर्थन गरे। त्यो हामी सबैका लागि विजयजस्तै हो।’
इरानका लागि रामिन रेजाइयान र मोहम्मद मोहेब्बीले गोल गरेपछि समर्थकहरूले पूर्व–क्रान्तिकालीन ‘सिंह र सूर्य’ अंकित झण्डासहित उत्सव मनाएका थिए। यद्यपि फिफाले उक्त झण्डा विश्वकप रंगशालाभित्र प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ।
मोहेब्बीले लस एन्जलसका इरानी समुदायलाई धन्यवाद दिँदै भने, ‘उहाँहरूले खेलमा उत्कृष्ट वातावरण सिर्जना गर्नुभयो।’
इरानले अब आइतबार इन्गलवुडमै युरोपेली शक्तिशाली टोली बेल्जियमसँग खेल्नेछ। त्यसपछि जुन २६ मा सिएटलमा इजिप्ट तथा स्टार खेलाडी मोहम्मद सलाहको टोलीसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।
समूह ‘जी’ का चारै टोलीले पहिलो खेल बराबरी खेलेका कारण सबै टोली समान एक–एक अंकसहित दोस्रो चरणका खेलमा प्रवेश गरेका छन्।















प्रतिक्रिया