ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने « Khabarhub

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘एक्सियोस’को रिपोर्टअनुसार सम्झौताअन्तर्गत हुथीहरूले लाल सागरमा अमेरिकी तथा अन्तर्राष्ट्रिय पानीजहाजलाई निशाना नबनाउने आश्वासन दिएका छन्।

यसको बदलामा अमेरिकाले यमनमा हुथीविरुद्ध साउदी अरबलाई सैन्य सहयोग नगर्ने सहमति भएको बताइएको छ।

अमेरिकी अधिकारीहरू र हुथी नेताबीच गत साता ओमानको राजधानी मस्कटस्थित अमेरिकी दूतावासमा वार्ता भएको रिपोर्टमा उल्लेख छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सोमबार अमेरिकाले हुथीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको पुष्टि गरेका थिए।

साउदीका जहाजलाई निशाना बनाइरहने

हुथीहरूले लाल सागरमा साउदी अरबका जहाज तथा साउदीको तेल बोकेर जाने पानीजहाजलाई भने अझै पनि निशाना बनाउने बताएका छन्।

हुथीहरूको तर्कमा यमनमाथि साउदी अरबले लगाएको नाकाबन्दी र गरेको सैन्य कारबाहीका कारण साउदी जहाजलाई निशाना बनाउनु उनीहरूको अधिकार हो। घटनासँग सम्बन्धित अधिकारीहरूका अनुसार सन् २०२५ मा अमेरिका र हुथीबीच भएको युद्धविराम अझै कायम छ।

हुथीसँग साउदीले एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने

गत साता हुथीहरूले यमनको पश्चिमी क्षेत्रमा लाल सागरसँग जोडिएको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए।

साउदी अरबले हुथीविरुद्ध अमेरिका आफ्नो साथमा उभिने अपेक्षा गरेको थियो। तर अमेरिकाले अहिलेसम्म हुथीविरुद्ध साउदीको समर्थनमा प्रत्यक्ष सैन्य कारबाही गरेको छैन।

अमेरिकाले भने हुथीहरूको गतिविधिले बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुने पानीजहाजको आवागमनमा खतरा उत्पन्न गरेको बताउँदै आएको छ।

अमेरिका यसअघि नै इरानसँगको संघर्षमा अल्झिएको छ। इरानले हुथीहरूलाई समर्थन गर्दै आएको छ। यस्तो अवस्थामा अमेरिका यमनमा प्रत्यक्ष रूपमा प्रवेश गरे उसमाथि अर्को सैन्य मोर्चाको दबाब बढ्न सक्ने आकलन गरिएको छ।

साउदीको आरोप– हुथीले मक्कातर्फ ड्रोन पठाए

साउदी अरबले हुथीहरूले मक्कातर्फ ड्रोन पठाएर आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ। साउदीले यस्तो गतिविधिलाई स्वीकार नगर्ने र यो आफ्नो ‘रेड लाइन’ भएको जनाएको छ।

साउदी रक्षा बलले ड्रोन नष्ट गरेको दाबी गरेको छ। साउदी गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्किये अल–मलिकीका अनुसार स्थानीय समयअनुसार मंगलबार साँझ करिब ६ः५० बजे मक्काको प्रतिबन्धित हवाई क्षेत्रनजिकै ड्रोनलाई रोकिएको थियो।

यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार तथा ५७ देशको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले पनि कथित आक्रमणको निन्दा गरेका छन्।

हुथीले साउदीको आरोपलाई ‘शताब्दीकै ठूलो झूट’ भने

हुथीहरूले मक्कामाथि ड्रोन आक्रमणको आरोप अस्वीकार गरेका छन्। हुथी नेतृत्वले यसलाई ‘शताब्दीकै ठूलो झूट’ भन्दै साउदी अरबले यसअघि पनि यस्ता दाबी गर्दै आएको आरोप लगाएको छ।

हुथीका उपविदेशमन्त्री अब्दुल वहीद अबु रासले उल्टै साउदी अरबमाथि मक्का र मदिनाजस्ता पवित्र स्थलको गरिमामा आँच पुर्‍याउने प्रयास गरेको आरोप लगाएका छन्।

हुथीले साउदीको एफ–१५ विमान खसालेको दाबी

हुथीहरूले मारिबनजिकै साउदी अरबको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेका छन्। साथै लाल सागरको बन्दरगाह सहर यान्बुमा साउदी तेल कम्पनी अराम्कोको एउटा संयन्त्रमा समेत आक्रमण गरेको दाबी गरेका छन्।

हुथी वार्ता टोलीका प्रमुख मोहम्मद अब्दुल सलामले एफ–१५ खसालेको दाबी सार्वजनिक गर्नुको उद्देश्य पश्चिमी देशहरूलाई साउदीको भनाइमा विश्वास नगर्न सचेत गराउनु रहेको बताएका छन्।

हुथी नेता भन्छन्– साउदीले पाकिस्तान र टर्कीसँग सहयोग माग्दैछ

हुथी राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–फराहले यमनमा साउदी अरब कठिन परिस्थितिमा फसेको दाबी गरेका छन्। उनका अनुसार युद्ध र नाकाबन्दीका बाबजुद साउदीले आफ्नो लक्ष्य हासिल गर्न सकेको छैन।

अल–फराहले साउदी अरबले पाकिस्तान, टर्किये, अमेरिका, इजरायल र इजिप्टसँग सहयोग मागिरहेको आरोप लगाए। उनले मक्कामाथि भएको भनिएको आक्रमणको विषय उठाएर साउदीले मुस्लिम देशहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको आरोपसमेत लगाए।

अमेरिका, इजरायल र अरब राष्ट्रका सैन्य अधिकारीबीच बैठक

इजरायली अधिकारीहरूका अनुसार अमेरिका, इजरायल र केही अरब देशका सैन्य प्रमुखहरूले गत साता जर्मनीमा गोप्य बैठक गरेका थिए। अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले बैठक बोलाएको बताइएको छ।

एक्सियोसका पत्रकार बराक राभिडका अनुसार बैठकमा इजरायल, साउदी अरब, यूएई, बहराइन, कुवेत, कतार, जोर्डन र इजिप्टका सैन्य प्रमुख सहभागी थिए।

रिपोर्टअनुसार अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि यस प्रकारको यो पहिलो बैठक थियो।

इजरायल यसअघि हुथी आक्रमणको निशानामा पर्दै आएको छ। अहिले उसले साउदी अरबलाई सहयोग गर्न यमनमा हुथीविरुद्ध कारबाही गर्ने प्रस्ताव गरेको बताइएको छ।

यमनमा ५०० भन्दा बढी सरकारी समर्थक लडाकु मारिएको दाबी

यमनमा हुथीविरुद्धको लडाइँमा पछिल्ला चार सातामा सरकार समर्थित ५०० भन्दा बढी लडाकु मारिएको दाबी गरिएको छ। सरकारको समर्थनमा लडिरहेको नेसनल रेसिस्टेन्स फोर्सले यस्तो दाबी गरेको हो।

संगठनका अनुसार यही अवधिमा होदेदा र ताइज प्रान्तमा १ हजारभन्दा बढी हुथी लडाकु पनि मारिएका छन्। हुथीहरूले भने यस दाबीबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

यसैबीच, यमन सरकारले लाल सागरको तटीय क्षेत्रमा थप सैनिक पठाउने निर्णय गरेको छ। सरकारका एक अधिकारीले गत साताको पराजय स्वीकार गर्दै सरकारी सेना पुनः उक्त क्षेत्रमा फर्कने बताएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ४ : १९ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले