लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् । राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसक्दा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँका बासिन्दा लघुजलविद्युत्मा निर्भर हुन बाध्य भएका हुन् ।
लघुजलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्दा ती बस्तीमा नियमित आपूर्ति प्रभावित हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ ।
हालसम्म जिल्लाका ४४ हजार घरधुरीमा विद्युत् सेवा पुगेको छ । तर, राष्ट्रिय प्रसारण लाइन नपुगेका बस्तीमा भने स्थानीय लघुजलविद्युत् आयोजनाकै उत्पादनमा भर पर्नुपर्ने अवस्था छ ।
सिङ्दी गाउँमा करिब २२० देखि २२५ घरधुरी छन् । यहाँ सञ्चालनमा रहेको लघुजलविद्युत् आयोजनाबाट विगतमा ४० किलोवाट विद्युत् उत्पादन हुने गरेकामा अहिले अधिकतम २५ किलोवाट मात्रै उत्पादन भइरहेको छ । उत्पादन घटेसँगै दैनिक चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।
क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले गाउँपालिकाभित्रका विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न पटकपटक पहल गरे पनि सुनुवाइ नभएको गुनासो गरे। उनले राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा स्थानीय बासिन्दाले नियमित विद्युत् उपभोग गर्न नपाएको बताए।














प्रतिक्रिया