तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीन पटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ ।
सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीलाई लक्षित गरी रासायनिक वा रेडियोधर्मी पदार्थ मिसाइएको बम प्रयोग गर्ने योजना बनाएको समाचार सार्वजनिक गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्भावित खतरालाई गम्भीरतापूर्वक लिएको बताएका छन् । उनले यस्तो खतरा वास्तविक भए इरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने उक्त समाचारलाई ‘मनगढन्ते’ भन्दै खण्डन गरे । उनले इरानमाथि आक्रमण गर्नेहरूले सञ्चारमाध्यममार्फत आधारहीन आरोप फैलाएर आफ्नो योजनाको वातावरण बनाइरहेको बताए ।
मंगलबार बहराइनको राजधानीमा विस्फोटका आवाज सुनिएका थिए । सुरक्षा निकायले मोबाइल फोनमार्फत नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
बहराइनको सेनाले इरानबाट आएका कैयौँ हवाई आक्रमणलाई प्रतिकार गरी नष्ट गरेको जनाएको छ । यता इरानको रिभोलुसनरी गाड्र्सले अमेरिकी सेनाले सञ्चालन गरिरहेको शेख इसा एयर बेसको राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच, कतारले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । अमेरिकी नौसेनाले थप विमानवाहक युद्धपोत क्षेत्रतर्फ पठाएपछि सैन्य तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।














प्रतिक्रिया