बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन « Khabarhub

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । 

शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चितवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताइन्।

‘पोखरा जानुपरेको भए एक लाखभन्दा बढी खर्च हुने रहेछ’, उनले भनिन्, ‘बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि १० हजारले नै पुग्यो ।’

सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रूपमा विपन्न, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरूलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ । 

रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोगसम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गरिन्। 

‘भर्ना भएको भोलिपल्टै शल्यक्रिया भयो’, उनले भनिन् ‘शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।’

विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङ्सिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए। प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग र सर्जन चिकित्सकको व्यवस्था मिलाएपछि पुस महिनायता सेवा नियमित छ । 

प्रदेश अस्पताल बेनीका प्रमुख डा हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिए ।

‘जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रियामार्फत प्रसूति गराएका छौँ’, उनले भने, ‘सिमित स्रोत, साधन र जनशक्तिका बाबजुत यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौँ ।’ 
 
बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् । बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताइन्। 

बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् । 

वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो । 
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : ५१ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा