पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा « Khabarhub

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले पञ्जाब किंग्स (पीबीकेएस) माथि २३ रनको रोमाञ्चक जित दर्ता गरेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको यस प्रतिस्पर्धामा आरसीबीले प्रस्तुत गरेको २२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा समेटियो। यो शानदार जितसँगै बेंगलोर जारी सिजनको प्लेअफमा सुरक्षित रूपमा प्रवेश गरेको छ।

१३ खेलमध्ये ९ मा जित निकाल्दै १८ अङ्कका साथ आरसीबीले आफ्नो बलियो उपस्थिति र प्रदर्शनको निरन्तरतालाई कायम राखेको छ। अर्कोतर्फ, समान १३ खेलमा मात्र ६ जित निकाल्दै १३ अङ्क जोडेको पञ्जाब किंग्स लगातार छैटौँ पराजय भोग्न बाध्य भयो, जसका कारण उसको प्लेअफ यात्रा अब लगभग समाप्त भएको छ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब किंग्सको सुरुवात निकै निराशाजनक रह्यो । टोलीले मात्र १९ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याटर प्रियांश आर्य शून्य र प्रभसिमरन सिंह मात्र २ रनमा भुवनेश्वर कुमारको शिकार बने भने कप्तान श्रेयस अय्यर पनि १ रनमै रसिक सलाम डारको बलमा पभेलियन फर्किए। त्यसपछि कूपर कोनोली र सूर्यांश शेडगेले चौथो विकेटका लागि ४३ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तीन छक्का र तीन चौका प्रहार गर्दै २२ बलमा ३७ रन बनाएका कोनोलीलाई रोमारियो शेफर्डले आउट गर्दै यो साझेदारी तोडे। त्यसै गरी २२ बलमा ३५ रन बनाएका शेडगे पनि स्पिनर सुयश शर्माको फिरकीमा फसे।

मध्यक्रममा मार्कस स्टोइनिस र शशांक सिंहले छैटौँ विकेटका लागि ६७ रनको साझेदारी गर्दै पञ्जाबको जितको आशा जीवित राखेका थिए। स्टोइनिस ३७ रनमा जोश हेजलवुडको शिकार बने। शशांक सिंहले २७ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ५६ रनको आक्रामक अर्धशतकीय पारी खेले पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। आरसीबीका लागि रसिक सलाम डारले सर्वाधिक तीन विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर्स बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको पहाड खडा गरेको थियो। सुरुवाती ब्याटर ज्याकब बेथेल ११ रनमै हरप्रीत बराडको बलमा आउट भए पनि त्यसपछि बेंगलोरले उत्कृष्ट पूनरागमन गर्‍यो। विराट कोहली र देवदत्त पडिक्कलले दोस्रो विकेटका लागि ७६ रनको बलियो साझेदारी गरे। पडिक्कल २५ बलमा ४५ रन बनाएर बराडकै बलमा आउट हुँदा टोलीको स्कोर ९७ रन थियो।

मैदानमा लय समातेका विराट कोहलीले सानदार ब्याटिङ गर्दै आफ्नो आईपीएल करियरको ६७औँ अर्धशतक पूरा गरे। कोहलीले ३७ बलमा ५८ रनको योगदान दिए, जसमा ४ चौका र ३ छक्का सामेल थिए। उनलाई स्पिनर युजवेन्द्र चहलले आउट गरे। कोहलीको बर्हिगमनपछि वेंकटेश अय्यर र टिम डेविडले चौथो विकेटका लागि ६५ रन जोड्दै टोलीलाई विशाल योगफलतर्फ डोर्‍याए। कोहलीको आक्रामक फर्म जारी रहँदा रेकर्ड बुक समेत हल्लिएको देखियो। वेंकटेश अय्यरले ४० बलमा ८ चौका र ४ छक्काको मद्दतले अविजित ७३ रनको विष्फोटक पारी खेले भने टिम डेविडले १२ बलमा २८ रन जोडेर इनिङ्सको अन्तिम बलमा आउट भए। पञ्जाबका लागि हरप्रीत बराडले दुई तथा अर्शदीप सिंह र युजवेन्द्र चहलले एक–एक विकेट लिए।

आईपीएलको इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म ३८ पटक भिडन्त भइसकेको छ। जसमा पञ्जाब किंग्सले १८ खेल जितेको छ भने रोयल च्यालेन्जर्स बेंगलोर २० खेलमा विजयी भएको छ। गत सिजनमा फाइनलसहित यी दुईबीच भएका चार भेटमा बेंगलोरले तीन खेलमा बाजी मारेको थियो।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : ०४ बजे

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार