काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसी कटानमा भिड लागेको छ ।
हिजो पूजा गरिएको माटाको मूर्ति आज विभिन्न जलाशय तथा नदीमा बगाउने गरिन्छ । सुनसरीको इटहरी, इनरुवा, दुहवी, गढी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंहलगायत क्षेत्रका भक्तजनहरू कोसी कटान तथा सप्तकोसी नदीमा मूर्ति विसर्जन गर्न आउने गर्दछन् ।
यस वर्ष सप्तकोसी नदीमा बहावसँगै जोखिम बढेकाले मूर्ति विसर्जन गर्न कडाइ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसीमा पानी बढेको समयमा जोखिमसमेत बढ्ने भएकाले भक्तजनहरूलाई ब्यारेज क्षेत्रमा ‘टाइट’ गरी कोसी कटान तिरै मूर्ति विसर्जन गर्न पठाइएको हो ।
सप्तकोसी ब्यारेज पारि सप्तरी क्षेत्रमा पनि मूर्ति विसर्जन गर्न कडाइ गर्दा कोसी कटानमा विसर्जन गर्न आउने भक्तजनको भिड बढेको स्थानीय बताउँछन् । आज बिहानैदेखि मूर्ति विसर्जन गर्न आउनेहरूको ताँती भएकाले दिनभरिमा एक हजार हाराहारी मूर्ति कटान क्षेत्रमा विसर्जन भएको स्थानीयको दाबी छ ।
तस्बिरहरू- नवीन गड्तौला, सुनसरी/नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया