चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म « Khabarhub

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब पुराना दिनको कथाजस्तै बन्दै गएको छ। प्रविधिको विकास, मोबाइल फोनप्रतिको आशक्ति र सहरीकरणका कारण काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरमा चङ्गा उडाउने संस्कृति खुम्चिँदै गएको छ। तर, यही चङ्गालाई एउटा सामान्य खेल वा मनोरञ्जन मात्र नभई विश्व मञ्चमा नेपालको पहिचान र खेल पर्यटनको बलियो माध्यम बनाइरहेका छन्, अन्तर्राष्ट्रिय काइट खेलाडी प्रमेश केसी। वर्ल्ड काइट फेडेरेसन (विश्व चङ्गा महासंघ) मा नेपालको प्रतिनिधित्व गर्दै आएका केसी चङ्गाको उपयोग यसको धार्मिक र सांस्कृतिक महत्वको चर्चा गरेका छन् :

नेपालमा विशेष गरी दसैँ र तिहारको अवसरमा चङ्गा उडाउने चलन पुरानो संस्कृतिसँग जोडिएको छ। धार्मिक दृष्टिले यसलाई रामले रावणमाथि विजय प्राप्त गरेपछि उत्सवका रूपमा मनाइएको र विजयको प्रतीकका रूपमा लिइएको विभिन्न ग्रन्थमा पाइन्छ।

सांस्कृतिक हिसाबले पनि यो समय मनसुन सकिने र समुद्रबाट अनुकूल हावाको दिशा बहने भएकाले चङ्गा उडाउनका लागि उत्तम मौसम मानिन्छ। परम्परागत रूपमा नागपञ्चमीदेखि सुरु हुने चङ्गा उडाउने चलन तिहारको भाइटीकाको दिन धूप बालेर समापन गर्ने गरिन्थ्यो। सानोमा सूचना आदानप्रदान गर्ने भरपर्दो माध्यम नभएको बेला धान पाकेको संकेत दिनसमेत चङ्गा उडाउने गरिन्थ्यो।

प्रविधिको प्रभाव र संकटमा परेको संस्कृति
अहिलेका बालबालिकामा मोबाइल फोनको प्रयोग अत्यधिक बढेको र सहरी क्षेत्रमा खुला चौर वा सुरक्षित छतको अभावले गर्दा यो संस्कृति ओझेलमा परेको छ। काठमाडौँजस्ता सहरमा चङ्गा उडाउने ठाउँ नहुनु र राज्य तहबाट यसको प्रवर्द्धन नहुनुले यो परम्परा खुम्चिँदै गएको छ।

छिमेकी मुलुक भारत, पाकिस्तान, चीन र अन्य पश्चिमी देशमा भने चङ्गा उडान ठूलो उद्योग र व्यवसायका रूपमा विकसित भइसकेको छ। चीनको वाइफाङ सहरलाई त ‘काइट क्यापिटल’ नै भनिन्छ, जहाँबाट विश्वभर लाखौँ डलरका चङ्गाहरू निर्यात हुन्छन्।

चङ्गाको इतिहास करिब २५ सय वर्षअघि चीनबाट सुरु भएको मानिन्छ। सुरुमा युद्धका बेला सन्देश आदानप्रदान वा शान्तिको प्रतीकका रूपमा सेतो चङ्गा उडाउने गरिएको इतिहास छ। समयसँगै यो विकसित हुँदै गएर अहिले विभिन्न विधामा पुगेको छ।

चङ्गाका मुख्यतया सांस्कृतिक काइट, स्टन्ट काइट (स्पोर्ट्स), टु-लाइन वा फोर-लाइन काइट, रेभोलुसनरी काइट, टेक्निकल काइट र ठूला बेलुन काइटजस्ता थुप्रै प्रकार हुन्छन्। अन्तर्राष्ट्रिय बजारमा साधारण कागजको चङ्गादेखि लिएर एक किलोमिटरसम्म लामा ट्रेन काइट र घरजत्रा ठूला बेलुन काइट पाइन्छन्, जसको मूल्य हजारौँ डलरसम्म पर्छ। केसी आफैँले पनि नेपाली लोक्ता कागज र बाँस प्रयोग गरेर नेपालको झण्डा तथा चराको आकृतिसहितका विभिन्न आकर्षक चङ्गाहरू आफैँ तयार पारेर अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सफलता
केसीले विभिन्न देशमा आयोजित अन्तर्राष्ट्रिय काइट फेस्टिभलमा सहभागिता जनाइसकेका छन्। चीनमा आयोजित प्रतियोगितामा काइट फाइटिङ विधामा फाइनलमा पुगेर उनले रजत पदक जितेका थिए। नेपाली चङ्गाको चलायमान स्वरूप र उत्कृष्ट प्रदर्शनका कारण उनले त्यहाँ ‘उत्कृष्ट प्रदर्शन पुरस्कार’ समेत प्राप्त गरे।

विदेशी खेलाडीहरूसँगको अनुभवबारे कुरा गर्दै केसी भन्छन्, “विदेशीहरूको चङ्गा प्रायः स्थिर हुन्छ, तर नेपाली तथा भारतीय शैलीको फाइटिङ काइट निकै द्रुत र चलायमान हुन्छ। उनीहरू हाम्रो चङ्गाको नियन्त्रण र गति देखकर छक्क पर्छन्।”

हाल विश्वका ३७ देश मात्र आबद्ध रहेको ‘वर्ल्ड काइट फेडेरेसन’ मा नेपालको तर्फबाट केसी एक्लैले प्रतिनिधित्व गर्दै आएका छन्। यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको सांस्कृतिक पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

चङ्गा उडाउने क्रममा हुने गरेका दुर्घटनाप्रति सचेत हुनुपर्ने केसीको जोड छ। सहरी क्षेत्रमा प्लास्टिक वा नाइलनको कडा धागो प्रयोग गर्दा मानिसको घाँटी काटिने जस्ता गम्भीर दुर्घटना हुने गरेका छन्। भारतलगायत केही देशमा यस्तो धागो प्रयोग गर्नेलाई कडा कानुन र जेल सजायको व्यवस्था गरिएको छ। त्यसैले सुरक्षित स्थानमा मात्र र वातावरणमैत्री तरिकाले चङ्गा उडाउनु पर्ने उनको सुझाव छ।

नेपालमा खेल पर्यटनको प्रचुर सम्भावना
भारतको गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीले सन् १९८९ देखि सुरु गरेको ‘इन्टरनेसनल काइट फेस्टिभल’ लाई राज्यले नै प्रायोजन गरी पर्यटन प्रवर्द्धनको ठूलो माध्यम बनाएका छन्। त्यहाँ लाखौँ पर्यटक र विश्वभरका खेलाडीहरू सहभागी हुन्छन्।

नेपालमा पनि हिमाल, पहाड र यहाँको अनुकुल हावापानीलाई मध्यनजर गर्दै खेल पर्यटन विकास गर्न सकिने अपार सम्भावना छ। नेपाल पर्यटन बोर्डले यसलाई वार्षिक क्यालेन्डरमा समेटेर ‘चङ्गा महोत्सव’ आयोजना गर्ने हो भने यसले पर्यटन विकासमा टेवा पुर्‍याउने उनको विश्वास छ । सरकारले राष्ट्रिय चङ्गा महोत्सव गर्ने, नेपाल पर्यटन बोर्डको सहकार्यमा हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको चङ्गा महोत्सव आयोजना गर्ने, विद्यालयको पाठ्यक्रममा हातको सीप, सिर्जनशीलता र विज्ञान (गतिशीलता) सिकाउन चङ्गा बनाउने कला जोड्ने र नेपाली लोक्ता कागज र बाँसको प्रयोग गरी उच्च गुणस्तरीय चङ्गा उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके रोजगारी र डलर आर्जन गर्न सकिने उनको भनाइ छ ।

चङ्गा केवल मनोरञ्जनको साधन मात्र होइन, यो सिर्जना, संस्कृति र मित्रताको प्रतीक पनि हो। नियन्त्रण र डरको सट्टा यसलाई सहकार्य र सिर्जनशीलताको रूपमा विकास गर्न सके नेपालको कला र पर्यटन क्षेत्रले नयाँ उचाइ हासिल गर्न सक्नेछ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ९ : २८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या