हेभिवेट पराजय शृङ्खला : प्रचारमा हिरो, ब्यालेटमा जिरो ! « Khabarhub

हेभिवेट पराजय शृङ्खला : प्रचारमा हिरो, ब्यालेटमा जिरो !

पुष्पलाल, टंकप्रसाद, किसुनजी, केआईसिंहको हार



मतपेटिकामा मत खसाल्ने मतदाताको पर्खाइ अब १५ दिनको मात्रै छ । १ करोड ८९ लाख तीन हजार ६ सय ८९ जना मतदाता फागुन २१ मा मत खसाल्न आतुर छन् । यता मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पनि मतपत्र छपाई सकेको छ । विभिन्न दल र स्वतन्त्र गरी मनोनयन दर्ता गराएका जम्मा २ हजार ६ सय ५५ जना उम्मेदवार फागुन ४ देखि जनताको घरदैलोमा छन् । 

निर्वाचन आयोगको तीव्र तयारी, उम्मेदवार, दल र जनताको उत्साह देख्दा निर्वाचन हुने अब लगभग पक्का देखिन्छ । आयोगले आइतबार ६४ बुँदे निर्देशन जारी गर्दै दललाई १८ गतेसम्म मात्रै घरदैलो र आमसभा गर्ने तिथि तोकेको छ । आन्तरिक भेटघाट गरिरहेका उम्मेदवार अहिले निर्धक्क आ–आफ्नै क्षेत्रमा भोट माग्न लागिपरेका छन् । 

कांग्रेस, रास्वपा, एमाले त प्रधानमन्त्री नै तोकेर प्रतिस्पर्धामा होमिएका छन् । यस निर्वाचनमा रास्वपाले सुरु गरेको यो अभ्यास कांग्रेसले भने दोहोर्‍याएको हो । कांग्रेसले २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्राईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर ११० सीटसहित बहुमत ल्याएको थियो । तत्कालीन निर्वाचनमा प्रतिपक्षी बनेको एमालेका लागि भने प्रधानमन्त्री तोकेर मैदानमा गएको यो पहिलो अभ्यास हो । 

जसकारण रास्वपाका प्रधानमन्त्री उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), एमाले अध्यक्ष तथा प्रधानमन्त्री उम्मेदवार केपी शर्मा ओलीको चुनावी मैदान झापा–५ चर्चामा छ । यस्तै, दोस्रो महाधिवेशनमार्फत सभापति बनेका गगनकुमार थापा पनि कांग्रेसका प्रधानमन्त्री उम्मेदवार हुन् । 

मधेसमा कांग्रेसको विरासत फर्काउने उद्देश्यसाथ उनी चुनावी क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ बाट सर्लाही–४ झरेका कारण पनि अझ चर्चामा छन् । उनले सर्लाहीमा लामो समयदेखि कांग्रेस नेताका रुपमा प्रभुत्व जमाएका समकालीन सारथि अमरेशकुमार सिंहसंग प्रतिस्पर्धा गर्दैछन् । गत निर्वाचनमा कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र निर्वाचित बनेका उनी अहिले भने रास्वपाका उम्मेदवार हुन् । 

प्रधानमन्त्रीका उम्मेदवार मात्रै होइनन्, झापा–२ मा एमालेका पूर्व सभामुख देवराज घिमिरे र रास्वपा उम्मेदवार उपसभामुख इन्दिरा रानामगरबीच पनि गहकिलो प्रतिस्पर्धा हुने देखिन्छ । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित घिमिरे र क्षेत्र परिवर्तन गरेकी रानालाई राप्रपाका स्वागत नेपाल, नेकपाका हरि रानाले चुनौती दिएका छन् । 

यस्तै, चितवन–३ दाहाल पुत्री नेकपाकी उम्मेदवार रेनु, रास्वपा नेतृ तथा पूर्व सांसद सोविता गौतमबीच प्रतिस्पर्धा हुँदैछ । ९ वर्ष भरतपुर महानगरपालिका प्रमुखको रुपमा स्थानीय स्तरमा प्रभाव जमाएकी उनको प्रतिस्पर्धामा काठमाडौं–२ बाट चितवन झरेकी गौतम छिन् । एक कार्यकाल सांसद हुँदा मात्रै पनि सकारात्मक राजनीतिक छवि बनाएकी युवा नेतृ गौतम र लामोसमयदेखि दलीय प्रकृया र भूगोलमा भिजेकी दाहालबीच हिसाब हुँदैछ । 

रुकुम पूर्वमा ३ पटकसम्म प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसकी कुसुम थापाले दिएको चुनौतीले पनि चर्चा बटुलेको छ । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेसँग मैदानमा उत्रिएकी मीना खरेल पनि केन्द्रमा देखिएकी छिन् । 

विवेकशील साझामा हुँदा राजनीतिक गुरुको रुपमा रहेका तत्कालीन अध्यक्ष रविन्द्र मिश्रको विपक्षमा उनीबाटै राजनीतिक चेत निखारेकी रञ्जु दर्शना छिन् । मिश्र राप्रपाबाट तेस्रो पटक काठमाडौं–१ मा उम्मेदवार बनेका हुन् । 

शारीरिक अवस्थाका कारण रास्वपाको समानुपातिक सूचीमा सिफारिस भएकी रञ्जु विरोधपछि प्रत्यक्ष मैदानमा होमिएकी हुन् । मिश्र भने गत निर्वाचनमा कांग्रेसका नेता प्रकाशमान सिंहबाट झिनो (१२५) मतान्तरसहित पराजित बनेका थिए । २०७४ मा पनि सिंहसंगै पराजित मिश्र भने राप्रपाका उम्मेदवार थिए । 

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीबाट महावीर पुन लगायत १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये पुन निकै चर्चित उम्मेदवार हुन् । उनी शिक्षा क्षेत्रका कानुन पारित नगराएको झोँकमा सरकारसँग असन्तुष्ट बनेर मन्त्री पदबाट राजीनामा दिँदै सांसद बन्ने दौडाहामा छन् ।  

स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका निवर्तमान शिक्षा मन्त्री पुन स्वयंको शैलीका कारण यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल पात्र हुन् । राष्ट्रिय अनुसन्धान केन्द्रलाई पुनः जागृत बनाएको श्रेयबाटै स्थापित भएका उनी जनतामाझ चर्चित पात्र हुन् ।

 नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा, स्वतन्त्र उम्मेदवार महावीर पुनसहितका उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो संविधान सभा निर्वाचनयता दुई पटक एमाले र एक पटक कांग्रेसले जितेको म्याग्दीमा पूर्वमन्त्री पुनसमेत आएपछि यसपटक त्यहाँको चुनावी माहौल थप रोचक बन्ने देखिन्छ । 

यी लगायत अन्य क्षेत्र पनि चर्चाको केन्द्रमा छन् तर चर्चाले मात्रै निर्वाचन नतिजा उनीहरूको पोल्टोमा पर्छ भन्ने हुँदैन । त्यसका लागि उम्मेदवारले जनताको मन जित्ने योजना अघि नसारी भने हुँदैन । 

लोकप्रिय हुँदाहुँदै हार व्यहोरेका किसुनजी ! 

नेपालमा प्रजातन्त्र प्रारम्भसँगै २००७ साल फागुन ७ गते २ वर्ष भित्र आमनिर्वाचन गराउने बारे भएको शाही घोषणानुरुप २०१५ मा बल्ल देशकै पहिलो चुनाव भयो । जसमा १०९ संसदीय क्षेत्रका लागि निर्वाचन गरिएको थियो । 

कांग्रेसले १०९ सिटमै उम्मेदवार खडा गर्दा कम्युनिस्टका ४८ उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये कांग्रेसले ७४ सीटसहित बहुमत पायो भने एमालेले ४७ सीटमा मात्रै उम्मेदवार खडा गरेकोमा ४ क्षेत्रमा जित निकालेको थियो । 

जित निकाल्न नसक्ने मध्ये एक थिए, तत्कालीन समयमा निकै चर्चित र लोकप्रिय कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई । प्रजातन्त्र स्थापनासँगै कांग्रेसको मियो समेत रहेका उनी गोरखा–१०४ नम्बर क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार थिए । 

भट्टराई नेपाल राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवार विश्वनाथ सुवेदीसँग हार व्यहोरेका थिए । तर पनि कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सभामुख नियुक्त गरियो । 

सो समयमा बीपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरबाहेक सबैजसो ठूला नेता चुनावमा पराजित भए । बीपीले मोरङ र गणेशमान सिंहले क्षेत्र नम्बर १ काठमाडौंबाट चुनाव जिते । नेकपाका पोलिटब्युरो सदस्य पुष्पलाल श्रेष्ठ गणेशमानसँग चुनाव हारे । यी दुवै उम्मेदवार सो समयमा चर्चाको केन्द्रमा रहेका पात्र थिए । 

क्षेत्र नम्बर ७१ मा पूर्वप्रधानमन्त्री समेत रहेका डा. केआई सिंहलाई नेपाली कांग्रेसका उम्मेदवार शिवराज पन्तले हराए । अर्का पूर्वप्रधानमन्त्री  प्रजापरिषद्का उम्मेदवार टंकप्रसाद आचार्यले पनि काठमाडौं क्षेत्र नं. ५ मा संयुक्त प्रजातन्त्र पार्टीका लोचनशमशेर थापासँग हार बेहोरे । पश्चिम पाल्पाको क्षेत्र नं. ९३ बाट नेकपाको महासचिव पदका केशरजंग रायमाझीलाई पनि कांग्रेसका नेता अच्युतराज रेग्मीले हराएका थिए ।

२०१५ सालको ऐतिहासिक निर्वाचन हेर्दा पनि चर्चित र लोकप्रिय हुँदैमा बहुमत आउनेमा शंका गर्ने तथ्य देखिन्छ । 

भट्टराईलाई हराएपछि उदाएका भण्डारी  

२०१५ मा निर्वाचित संसद र सरकारमाथि २०१७ साल पुस १ गते ‘कु’ गरेर तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सूत्रपात गरे । उनले आफूलाई संविधानभन्दा माथि राख्दै जननिर्वाचित दल र नेतामाथि प्रतिबन्ध लगाए । अनि, आफ्ना विश्वासपात्रलाई सरकार प्रमुख बनाउँदै निर्दलीय पञ्चायती व्यवस्थामा देशलाई लगे । नागरिकको अभिव्यक्ति स्वतन्त्रता लगायतका अन्य न्यूनतम अधिकार पनि खोस्न पनि पछि परेनन् ।  

१९ वर्षसम्म पञ्चायती व्यवस्था भोगेका नेपाली जनतालाई आशा जगाउँदै २०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रह गरे । पञ्चायतको विरोध र प्रजातन्त्र स्थापनाको पक्षमा बहुमत आयो । तर कार्यान्वयन भएन । जसकारण २०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा कम्युनिष्टसहितले जनआन्दोलन गरे । उक्त ऐतिहासिक जनआन्दोलनको जगमा नेपालमा राजतन्त्र ‘संवैधानिक’ रहनेगरी ‘बहुदलीय प्रजातन्त्र’ को पुनःस्थापना भएको थियो । 

आन्दोलनको आडमा गठन भएको अन्तरिम मन्त्रिपरिषद्ले दलका प्रतिनिधि र कानुनविद्हरू रहेको संविधान सुझाव आयोग गठन ग¥यो । सोही आयोगले तयार पारेको मस्यौदाका आधारमा तत्कालीन राजाले २०४७ साल कार्तिक २३ गते ‘नेपाल अधिराज्यको संविधान–२०४७’ जारी गरेका थिए । 

सोही संविधान अनुसार कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले आम निर्वाचनको घोषणा गर्‍यो । मुलुकमा दोस्रो पटक संसदीय (प्रतिनिधिसभा) निर्वाचन हुने भयो । 

संविधानमा प्रत्क्षय निर्वाचित हुने व्यवस्थासहित २०५ सीटको प्रतिनिधिसभा (तल्लो सदन) र ६० सीटको राष्ट्रियसभा (माथिल्लो सदन) गरी दुई सदनात्मक संसद्को व्यवस्था गरिएको थियो । 

सो व्यवस्था अनुरुप २०४८ वैशाख २९ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । जहाँ ४४ दल निर्वाचनका लागि दर्ता भएकामध्ये २० दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए । 

यस निर्वाचनमा पनि सभामुख पछि पार्टी सभापतिसमेत रहेका भट्टराईले काठमाडौं–१ का लागि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै सांसद बन्न मैदानमा उत्रिए । तर भट्राईले जित निकाल्न सकेनन् । प्रजातन्त्र स्थापित गर्न खर्चिएको लामो उमेर उनका लागि जित निकाल्ने कडी बन्न सकेन । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो । 

उक्त निर्वाचनमार्फत उनलाई पराजित गर्दै कुशल वक्ताको छवि बनाएका एमाले महासचिव मदन भण्डारीको उदय भयो । भण्डारीले कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए । 

माधव नेपाललाई झक्कुको धक्का

पाँच दशकको राजनीतिक जीवन बिताइसकेका माधव कुमार नेपाल पहिलो संविधानसभा निर्वाचन २०६४ मा काठमाडौं–२ का उम्मेदवार थिए । देशकै एक मुख्य दल एमालेको डेढ दशक महासचिव समेत रहेका उनलाई त्यो छविले जिताउन सकेन । उनी खासै चर्चामा नरहेका माओवादीका उम्मेदवार झक्कुप्रसाद सुवेदीद्वारा १ हजार ५ सय ३३ मतान्तरसहित पराजित बने । 

चुनाव जित्नुअघि सुवेदीको चर्चा पनि थिएन । तर चुनावमा अप्रत्यासित परिणाम निकालेपछि सुवेदी राष्ट्रिसभासम्म पुग्न सफल भए ।
 काठमाडौं–२ मात्रै होइन्, रौतहट–१ बाट पनि सो बेला नेपाल पराजित बनेका थिए । जसकारण उनले महासचिव पद समेत त्याग्नुपर्‍र्यो । 

विघटित प्रतिनिधिसभा पुनः स्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि करिब १८ महिना देशको प्रधानमन्त्री बने । २०७० को निर्वाचनमा भने नेपालले दुवै क्षेत्रमा चुनाव जितेका थिए । 

२०७९ को प्रतिनिधि सभा निर्वाचन 

२०७९ को प्रतिनिधि सभा निर्वाचन ललितपुर–३ मा निकै रोचक प्रतिस्पर्धा भयो । जहाँ डाक्टर पेशालाई थाती राख्दै पहिलोपटक निर्वाचनमा होमिएकी तोसिमा कार्की र उर्जामन्त्री भइसकेकी माओवादीकी उपमहासचिव पम्फा भुसालबीच प्रतिस्पर्धा भयो ।

राजनीतिक वर्णमाला समेत नजानेकी कार्कीले करिब चार दशक राजनीतिक जीवन बिताइसकेकी ५९ वर्षीय भुसाललाई करिब तेब्बर मतसहित हराएकी थिइन् । कार्कीले ३१ हजार १३६ मत पाउँदा तेस्रो बनेकी भुसाल ८ हजार ७६९ मतमा खुम्चिएकी थिइन् । जबकि २०७४ को निर्वाचनमा भुसाल २४ हजार ३६ मतसहित यही क्षेत्रबाट जितेर सांसद बनेकी थिइन् । 

त्यस्तै, नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती मगरलाई पनि रास्वपा नेतृ सोविता गौतमले काठमाडौं–२ मा झण्डै दोब्बर मतले हराएकी थिइन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी घर्तीले ९ हजार ४४९ मत पाउँदा गौतमले १५ हजार दुई सय २९ मतसहित जित निकालेकी थिइन् । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : १९ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको