काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीले बहुमत ल्याएसँगै जिम्मेवार र परिपक्क देखिएका छन् ।
यसअघि आक्रमक, उत्तेजक र निषेधात्मक शैलीको भाषण दिने उनी बुधबार होटल रोयल टुलिपमा संयमित सुनिए । अन्य राजनीति दलप्रति आक्रमक देखिने उनी सत्तामा पुग्ने निश्चित भएसँगै संयमित सुनिएका हुन् ।
रवि पहिलो पटक संयमित, परिपक्क, जिम्मेवार देखिए । सम्बोधनमै फेरिएको सुनिएका उनले आदेशात्मक शैलीमा १८० जना सांसदलाई अनुशासनको पाठ सिकाए ।
कुर्ता-सुराल र स्टकोटमा सजिएका उनी रोयल टुलिपको मञ्चमा उक्लेर सम्बोधन गर्ने क्रममा ऊर्जाले भरिपूर्ण त थिए नै जिम्मेवारीबोध पनि देखिन्थ्यो ।
पुराना दलप्रति जनताको वितृष्णाबीच भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थितिबाट फागुन २१ को चुनावमा रास्वपाले दुईतिहाइनजिकको सिट ल्याएको छ । अर्थात्, उसले १८२ सिटसहित इतिहास रचेको छ।1
एकल बहुमतको शक्तिशाली सरकार बन्न लागेपछि रविले पनि आफूलाई परिवर्तन गरेका छन्। विगतमा सञ्चारमाध्यम, पत्रकार, अन्य दल, र उद्योगीलाई एकसाथ आक्रमण गरेका रविले यसपटक कसैलाई चित्त दुखाउने गरी बोलेनन् ।
संयमित प्रस्तुति दिँदा उनले आफूमाथि विश्वासको वातावरण बढाए । आफ्ना परम्परागत भाषणमा व्यापक सुधारसहित आत्मसमीक्षाको सन्देश दिएका उनले रास्वपाका सांसदहरूलाई विगतमा जे-जे भए पनि अब सुध्रिन आग्रह गरे।
हरेक कुरामा सांसदहरूलाई निर्देशनात्मक र जनतामुखी हुँदै बोलेका उनले पपुलिज्म (लोकप्रियतावाद) मा नरमाउन आग्रह गरे। आफैं रास्वपा सभापति भएको अवस्थामा पुस १३ गते सात बुँदे सहमति गरेर वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेका उनले नवनिर्वाचित सांसदहरूलाई परिपक्व र जिम्मेवार भएर अघि बढ्न निर्देशन दिए ।
रविले यति मात्रै भनेनन्, सांसदहरूले अब हरेक कुरामा ख्याल गर्नुपर्ने बताए । लापरबाही गर्ने सांसदहरूलाई बिदा भएर जानसमेत चेतावनी दिए । करिब ३५ मिनेटको सम्बोधनमा उनले खाँदा, हिँड्दा, बोल्दा, बस्दा विचार गर्न पनि सुझाए ।
उनी यस पटक अरू दलहरूप्रति खनिएनन् । बरू विशेष परिस्थितिमा सरका बन्न लागेकाले असफल हुने छुट नभएकोतर्फ सचेत गराए । पाँच वर्षमा काम गरेर देखाउनुपर्ने चुनौती रहेको उनले बताए ।
अरू दलहरुलाई जनताले ३५-३६ वर्ष पर्खिएको बताउँदै उनले आफ्नो दललाई ३६ महिनासम्म पनि पर्खिन नसक्नेतर्फ पनि उनले सचेत गराए । त्यसैले परिणाममुखी काम गरेर देखाइदिन पनि उनले आग्रह गरे।
उनले यसो भनिरहँदा रास्वपाबाट प्रधानमन्त्री हुन लागेका बालेन्द्र साह अभिमुखीकरण हलमा थिएनन् । उनले व्यस्तताको बहानामा सांसदहरूमाझ आफूलाई उभ्याउन चाहेनन् ।

जनता केन्द्रबिन्दु
रविले आफ्ना हरेक भनाइमा जनतालाई केन्द्रबिन्दुमा राखेर बोले । यस पटक जनताले आफूहरूलाई जोखेको बताउँदै उनले बाचा पूरा गर्न नसके अर्को पटक तिनै जनताले देखाइदिने चेतावनी दिए ।
लामिछानेले सांसदहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारमा देखिनुभन्दा गाउँ-टोल, बस्ती र चिया चौतारामा भेटिनसमेत आग्रह गरेका छन्।
१८२ सिटको रास्वपा सभापति उनले साँच्चिकै सत्तारुढ पार्टीको नेता छनक दिए । कसैप्रति छेडछाड नगरेका उनले मिठो बोलेरै सम्बोधन सके । तर उनले आफूसँग जोडिएको सहकारी प्रकरणबारे पनि केही बोलेनन्।
सरकारबारे मौन
रविले बालेन प्रधानमन्त्री हुने कुरा सम्बोधनमा राखेनन् । बालेन दुई दिने प्रशिक्षणमा नआएकोबारे मौन बसे । अबको कति दिनमा सरकार गठन हुन्छ ? भन्ने पनि केही खुलाएनन्। बरु उनले आजकाा दिनसम्म मन्त्रिपरिषद्को टुङ्गो नलागेको जानकारी दिए ।
‘यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को टुङ्गो लागेको छैन। तपाईंहरू सबैलाई चिनेका छौं’, रविले अगाडि भने, ‘बलियो मन्त्रिपरिषद् बनाउँछौं । शक्ति केन्द्र धाउने कोसिस नगर्नुहोला।’
रविले अहिलेसम्म मन्त्रिपरिषद्बारे औपचारिक छलफल नचलेको संकेत गरे । अनौपचारिक रूपमा वरिष्ठ नेता बालेन्द्र र रवि बसे पनि मन्त्रिपरिषद्का सदस्य टुङ्ग्याएको देखिँदैन ।
रविले बैठकमा अब केन्द्रीय कमिटी बैठक बसेर बालेन्द्रलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गर्ने संकेत गरे । उनले त्यसपछि संसदीय दलमार्फत् प्रधानमन्त्रीको उम्मेदवार बनाउने कुरा खुलेर बोलेनन्। रविले यसबारे प्रष्ट कुरा नगरेपछि धेरैले आगामी सरकारबारे शङ्का गरेको देखिन्छ।
तर बालेन प्रधानमन्त्री बन्ने विषयमा शङ्का नगर्न र चैत १० गते पछाडि सरकार गठन प्रक्रिया अगाडि बढ्ने रास्वपा प्रवक्ता मनिष झा बताउँछन् ।
रवि-बालेन सम्बन्ध बिग्रिएको अभिव्यक्ति आइरहँदा नेताहरू होइन भन्छन्। यसबारे प्रश्न गर्दा उपसभापति डीपी अर्यालले भने, ‘हामीमाथि कुनै हिसाबले शङ्का नगर्न अनुरोध गर्दछु। नेताहरू बिरामी परेकाले छलफल रोकिएको थियो । निर्वाचन आयोगले पनि काम गर्नुपर्छ । आयोगले काम पूरा गरेपछि सरकार गठनको औपचारिक प्रक्रियामा जान्छौँ ।’
बालेनको सचिवालय पनि अस्वस्थ र व्यस्तताका कारण अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताउँछ ।
‘नेताज्यू अलिक अस्वस्थ हुनुहुन्छ । व्यस्तता पनि बढेको छ। उहाँ जाँदा माहोल अर्कै हुने भएकाले उपस्थित नहुनुभएको हो’, एक सहयोगी भन्छन्, ‘सभापतिज्यू र वरिष्ठ नेताबीच संवाद भइरहेको छ । सहजीकरण गर्न दुई उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले पनि गर्नुभएको छ।’

गुट नबनाउनू
यो वा त्यो मन्त्री बनाउनुपर्ने दबाब बालेनसमक्ष पुर्याइरहेको जानकारी रविलाई पुगेको छ। सांसदहरूबीच नै तीव्र प्रतिस्पर्धा भइरहेको बेला रविले सजग गराएका छन् । रास्वपाको पुरानो टिममै स्वर्णिम वाग्लेको छुट्टै गुट देखिन्छ।
उता सभापति लामिछानेको पनि एउटा समूह छ। यस्तै विवेकशील साझा र बालेनको समूह पनि मिसिएको छ। पछिल्लो समय यी सबै समूहले आफ्नो तर्फबाट मन्त्री बनाउन अनुरोध गरेको जानकारी रविलाई पुगेको छ। उनले गुटको खेती गर्दै शक्ति केन्द्र नधाउन भनिरहेका छन् । पार्टीमा मन्त्रालयको विषयलाई लिएर भागबण्डामै समस्या देखिएको अनुमान छ ।
रविले भाषणमै मन्त्री बनाउन शक्ति केन्द्र नधाउन भनेका छन् । नेताहरू यतिखेर मन्त्रालय माग्दै शक्तिकेन्द्र धाएकै कारण रविले यस्तो भनेका हुन् ।













प्रतिक्रिया