पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ? « Khabarhub

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

रास्वपालाई जिताउन हालिएको थियो युट्युबमा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र कला क्षेत्रको ट्युनिङ खासै मिलेको पाइँदैन ।

कलाकारहरूले सामाग्रीबाट राज्य र नेताहरूको अस्वाभाविक आलोचना भएको विचार राख्छन् । कलाकारहरू सरकारमा पुग्दा जुनै दलको नेतृत्वबाट पनि स्वतन्त्र सिर्जनामा अङ्कुश लगाइएको गुनासो गरिरहन्छन् ।

दलहरू आफूहरूको सक्दो उदार भएको तर्क गर्छन् । कलाकारहरू ‘पर्याप्त खोइ त ?’ भन्छन् ।

फिल्म मेकरहरू सेन्सरको कैँचीबाट सिर्जना अपाङ्ग बनाइएको गुनासो गर्छन् । सरकारको नेतृत्व भद्र र नैतिक समाजका लागि आवश्यक कदम चालिएको भनेर पन्छिन्छ।

संगीत क्षेत्र र दलहरूको पनि ट्युनिङ उस्तै छ । कतिपय गीतहरू त राज्यकै दबाबमा गायकहरूले हटाएका छन् ।

विगतमा दलकै नेताहरूले सरकार चलाए । त्यसैले दल र कलाकारको ट्युनिङ मिलेन ।

उनीहरूको तर्क सुन्दा लाग्छ– उदार लोकतन्त्रको अभ्यासमा कला क्षेत्र र सरकारको नेतृत्वसँग ट्युनिङ मिलेको छैन ।
यो त सिर्जनाको कुरा भयो ।

फेरि, कलाकारहरू पनि राजनीतिक दलसँग आबद्ध भइरहन्छन् । अझ उनीहरू उदीयमान शक्तिसँग नजिक देखिन्छन् ।

उदाहरणका लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति कलाकारहरूको झुकाव हेर्दा हुन्छ । अहिले यस पार्टीलाई समर्थन नगरेका कलाकार भेट्नै मुस्किल छ ।

फागुन २१ को चुनावपछि रास्वपा देशकै ठूलो दल बन्यो । दुईतिहाइ नजिक अर्थात् १८२ सिटको जनमत पायो । यसमा कलाकारहरूको एउटा पंक्तिको झुकावले पनि काम गरेको छ।

कलाकारहरूले पनि सकेसम्म रास्वपामा सहयोग गरेका छन् । चुनावअघि तीन फिल्म ‘दिमाग खराब’, ‘सेन्टी भाइरस’ र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आए ।

यी फिल्महरू पनि रास्वपाको एजेन्डालाई बढावा दिनकै लागि प्रदर्शनमा ल्याएको चर्चा हुने गर्छ । किनभने पुराना दलप्रति वितृष्ण बढाउने सन्देश बोकेका यी तीनै फिल्म चुनावको संघारमा युट्युबमा आए ।

फिल्ममा के छ ?

फागुन २१ को चुनावमा पुरातन शक्हिरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, राप्रपाहरूको लज्जास्पद हार भयो ।

उनीहरूले हारको कारणमध्ये एक फिल्महरू ‘दिमाग खराब’, ‘सेन्टी भाइरस’ र ‘झरीपछिको इन्द्रेणी’लाई पनि देखाएका छन् ।

एमाले नेता सूर्य थापाले एक अन्तर्वार्तामा भनेका छन्, ‘मान्छेको ब्रेनवास गर्न यी फिल्म बनाइयो, चुनावकै मुखमा प्रदर्शन गरियो ।’

उनले यी फिल्मको लगानीमा अदृश्य शक्तिको हात रहेको तर्क पनि गरेका छन् ।

अन्य दलका नेताहरूको बुझाइ पनि ‘ब्रेन वास’का लागि यी तीन फिल्म प्रदर्शनमा ल्याएको तर्क गरेका छन् ।

यी फिल्महरूमा पनि त्यस किसिमका प्रतिक्रिया मनग्य देख्न पाइन्छ ।

दिमाग खराब : निश्चल बस्नेत निर्देशित फिल्म ०८० कात्तिकमा प्रदर्शनमा आएको थियो ।

यो फिल्ममा नायकहरू खगेन्द्र लामिछाने, दयाहाङ राई र नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् ।

यो फिल्म सत्तामा रहेर विकास, सुविधा, रोजगारी दिन नसक्ने, साथै जनतामा निराशा पैदा गर्ने नेताविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने विद्रोही युवाको कथामा बनेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएर जनताको मन जित्ने विद्रोही युवालाई पुराना दलका नेताले दिने कष्टलाई द्वन्द्वमा विकास गरेर फिल्म तयार गरिएको छ ।

यो फिल्मको कथा रास्वपाले उठान गरेका मुद्दासँग मिल्दोजुल्दो देखिन्छ ।

फिल्ममा प्रयोग भएको स्वतन्त्र उम्मेदवार चुनाव चिह्न अंकित झण्डाको रङ रास्वपासँग मिल्छ ।

यो फिल्म काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र निर्वाचित भएपछि बनेको हो ।

रास्वपा पार्टी घोषणा भएको एक सातामा फिल्मको छायाङ्कन सकिएको थियो ।

तर, निर्देशक बस्नेत अहिले रास्वपाका खास मान्छे हुन् । त्यसमा पनि उनी बालेन्द्र भित्रियामध्ये एक हुन् । बालेन्द्रसँग उनको हिमचिमले उनी भित्रिया भएको पुष्टि गर्छ। रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका रास्वपा वरिष्ठ नेता बालेन्द्रसँग उनको हिमचिम सर्वसाधारणले पनि बुझ्ने किसिमकै छ।

बालेन्द्रको गुटबाट रास्वपा केन्द्रीय सदस्य र सामानुपातिक सांसदको उम्मेदवार तय गर्न उनी सक्रिय भएर लागेका थिए ।

सेन्टी भाइरस : सेन्टी भाइरल मिसनका लागि नै बनेको फिल्म हो ।रास्वपालाई जिताउने मिसन भने होइन ।

सीताराम कट्टेल ‘धुर्मुस’ले जनताबाट पैसा उठाएर चितवनमा क्रिकेट रंगशाला बनाउने मिसनका लागि यो फिल्म बनाएका हुन् ।

यो फिल्मको सबै आम्दानी रंगशाला निर्माणमा लगानी गर्ने उनको घोषणा थियो ।

६ वर्षअघि प्रदर्शनमा आएको यस फिल्मले पनि पुराना दलहरूका अराजनीतिक चरित्र उजार गर्छ ।

कथाअनुसार श्रीमान्–श्रीमतिको फरक राजनीतिक आस्थाको विवाद सयन कक्षसम्म पुग्छ ।

नातावादभन्दा सिद्धान्त र दलका लागि खट्ने सच्चा योद्दालाई पार्टीले दिएको धोकाको कथा यो फिल्ममा केन्द्रीय रूपमा देखाइएको छ ।

यो फिल्मको सन्देश पनि पुराना दललाई रास्वपाले आलोचनामा प्रयोग गर्दै आएको तर्क ‘तिमीहरू योद्दाको कदर र पदका लागि सिद्धान्तलाई बिर्सन्छौ’ भन्ने लाइनसँग मिल्छ ।

चुनावअगाडि धुर्मुसले पुराना दललाई क्षति गराउन यो फिल्म प्रदर्शन गरेका होइनन् भन्न सकिने अवस्था छैन ।

हाल अमेरिकातिर पलायन भएका उनी पनि रास्वका सभापति रवि लामिछानेनिकट कलाकार हुन् ।

फेसबुकमा उनी बालेन्द्र र रविको समर्थनमा खुलेरै लागेका छन् । उनका भाइ कुमार कट्टेलका रास्वपाका कट्टर समर्थक हुन् ।

झरीपछिको इन्द्रेणी : गत पुसमा प्रदर्शनमा आएको फिल्म दुई महिना नबित्दै युट्युबमा आयो ।

पुसमा बनेको फिल्म माघ अन्तिममा प्रदर्शनमा आयो ।

यो फिल्मका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ हुन् । उनी बालेन्द्रका कोर टिमका सदस्य हुन् । चुनावका दौरान उनी बालेन्द्रको अंगरक्षक झै देखिएर हिँडेका थिए । बालेन्द्रले पनि आफ्नो फेसबुकमै यसको प्रचार गरेका थिए । पाँडेले ज्वागलस्थित बालेन्द्रका सहयोगी कुमार बेनको घरमै पनि यसको पोस्टर ठड्याएका थिए ।

यो फिल्मले दुई कुरा उठान गरेको छ– युवा विदेशन पलायन र भ्रष्टाचार ।

यसमा सरकारी कर्मचारीहरू कतिसम्म भ्रष्ट हुन्छन् वा उनीहरूले भ्रष्टाचारका लागि के–के गर्छन् भन्ने कुरा यो फिल्ममा देखाउने प्रयास गरिएको छ ।

फिल्मको यो प्रमुख विषय रास्वपाको चुनावी प्रतिबद्धतासँग मिल्छ । रास्वपाले आफूहरू सरकारमा गएकै भ्रष्टाचार अन्त्य गर्न भन्दै आएका छन् ।

त्यस्तै, यो फिल्मले मुलुकको अर्को प्रमुख समस्या विदेश पलायन उजागर गरेको छ । प्लस टूपछि विदेश जाने चाहने युवाहरूको हठको विषय फिल्ममा समावेश छ ।

रास्वपाले मत बढाउन विदेशमा रहेका युवाहरूलाई प्रयोग गरेको थियो । रास्वपाका नेताहरूले भाषणमै भनेका थिए, ‘विदेशमा रहेका दाजुभाइहरू फोन गरेर बुवा–आमालाई रास्वपामा भोट हाल्न लगाउनू ।’

रास्वपाको चुनावी रणनीतिसँग पनि यो फिल्मको प्रमुख मुद्दा मिल्दो देखिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : १७ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी