बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’ « Khabarhub

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो ।

चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ । 

घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो । 

सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरु आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ । 

आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत भोलि बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए। दुर्घटनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए।

‘घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ’, उनले भने, ‘यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गरे। चलिरहेको इन्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।’

एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।

एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो । 

दुर्घटनाग्रस्त हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् । 

रासस
 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : १४ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी